रेडियो श्रोता समुहकोद्वारा बजेटबारे सूचना माग

Jan 7, 2019

नबिन चौधरी

पाैष २३, दाङ

वडाको बजेटलाई पारदर्शी रुपमा संचालन तथा व्यवस्थापन गर्न रेडियो श्रोता समुहहरुले चासो  देखाएका छन् । सम्बन्धित कामको लागि भनेर वडाले विभिन्न शीर्षकमा बजेट बिनियोजन गरेपनि कम पारदर्शी भएको भन्दै उनिहरूले चासो दिन थालेका हुन् ।

पारस्परिक जवाबदेहिता परियोजना अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं ४ मा गठन गरिएको हाम्राे साझा रेडियो श्रोता समूहले स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन ४ नं वडा कार्यालयमा गई बजेटको बारेमा सूचना माग गरी साेधखाेज गरेका हुन ।

स्थानीय तहको बिकासका लागि बजेट तथा योजनाको बारेमा बुझ्ने हाम्रो पनि दायित्व हो भन्ने सोचका साथ ४ नं वडा कार्यालयसँग समन्वय गरि यस बारेमा जानकारी लिएको हाम्रोसाझा रेडियो श्रोता समुहका सहजकर्ता रमला चौधरीले जानकारी दिनुभयाे ।

'स्थानीय नागरिकहरुले नै बजेट तथा योजनाका बारेमा चासो नराख्नाले भ्रस्टाचार पनि बढ्दै गएकोले हामी युवा युवाहरूले वडाकाे बजेटकाे बारेमा जानकारी माग गरेका हाैं ।' सहजकर्ता चाैधरीले भन्नुभयाे ।

त्यसैगरी स्थानीय हिमलाल चौधरीले अब वडाको हरेक क्रियाकलापहरुमा चासो राख्ने बताउनुभयाे । आफ्ना नातेदारहरूलाई मात्र वडाको काममा सहभागी गराउने आभ्यासको कारणले वडाको काम पारदर्शी तथा निष्पक्ष नभएको गुनासाे गर्दै चाैधरीले अब वडाकाे काममा निगरानी बढाउने बताउनुभयाे । 

त्यस्तै श्रोता समुहका सदस्य सागर रायमाझीले वडाले आवश्यकताका आधारमा मात्रै विभिन्न क्षेत्रमा बजेट बिनियोजन गर्नु पर्ने बताउनुभयाे । उहाँले शिक्षा, स्वास्थ्य, कृषि तथा जोखिम न्यूनीकरणको क्षेत्रमा मुख्य समस्या रहेको भन्दै यस क्षेत्रको समस्याको पहिचान गरेर मात्र आवश्यक रकम बिनियोजन गर्नुपर्नेमा जाेड दिनुभयाे ।

हाम्रोसाझा रेडियो श्रोता समुहका सदस्यहरुले पहिले देखि नै सुशासन कायम गर्नका लागि वडा कार्यालय तथा सरोकारवालाहरु संग समन्वय गर्दै आइरहेको छ । साथै सामाजिक जवाबदेहिता औजारको प्रयोगका लागि स्थानीय सरकार संग समन्वय पनि गर्दै आइरहेको छ ।