समस्यै समस्यामा बादी समुदाय

Oct 3, 2018

प्रवीर ददेल
असोज १७, रुकुम

पश्चिम रुकुमको आठविसकोट राडि बजार नजिकमा रहेको बादी वस्ती समस्यै समस्यामा रहेको छ । आठविसकोट नगरपालिका ९ राडि बजार छेउमा रहेको वादी वस्ती खानेपानी र विद्युतको समस्या झेल्दै आएको छ । १५ घरधुरी रहेको बादी वस्तीको बीचमा ४ वटा धारा छन्, तर पानी छैन् । धारामा पानी बग्न छोडेको महिनौ भएको छ । त्यस्तै घरछेऊका अन्य वस्ती र राडिबजार झिलिमिली रहेको छ । तर एकीकृत वादी वस्ती अध्यारोमा छ ।

१५ घरधुरी रहेको एकीकृत वादी वस्तीमा खानेपानीको अभाव हुँदा उनीहरु खोला र ठुली भेरी नदिको दुषित पानी पिउन बाध्य रहेका छन् । स्थानीय विजय बादीले भन्नुभयाे, ‘वादी वस्तीमा खानेपानीको संकट हुँदा भेरी नदिको पानी पिउन बाध्य रहेका छौं ।' उहाँका अनुसार दुषित पानीका कारण झाडापखाला, आऊ, टाईफाईड जस्ता पानीजन्य रोगले समेत बादी समुदायलाई सताउने गरेको छ ।

बादी वस्तीमा जडान गरेको खानेपानीको पाईप राडि बजारका स्थानीयले काटेको तारादेवी वादीले बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘बजारमा पुग्ने पानी वादी बस्तीमा पुग्न सकेको छैनन् ।’ पटकपटक खानेपानी जडानको लागि माग गरेपनि पुरा नभएको तारादेवीको भनाई रहेको छ ।

चुनावको बेला विभिन्न आश्वासन दिने नेताहरु बादी समुदायको समस्याप्रति बेखबर रहेको उनीहरुको आरोप छ ।

यस वस्तीमा खानेपानी र विद्युतका साथै वादी समुदायका बालवालिकाहरु शिक्षा, स्वास्थ्य र रोजगारीबाट समेत बञ्चित रहेका छन् । वादी समुदायका २ जनाले सिएमए, १ जनाले कृषि जेटीए र २ जना उच्च शिक्षा हासिल गरेपनि कुनै रोजगारी नपाएको उनीहरुको गुनासो रहेको छ ।

घरबारी विहीन वादी समुदायलाई संसद विकास कोषको रु १० लाख रुपैयाँको लगानीमा जग्गा घडेरी र रोल्पा भवन डिभिजन कार्यालयको सहयोगमा घरमा निर्माण भएका हुन् भने एकीकृत बादी वस्तीमा करेसाबारी, धारा निर्माण, मादल उद्योग, सिलाईकटाई, लगायतमा युएमएन रुकुम कलष्टरको सहयोग र नेपाल जनजागरण मञ्चको सहजीकरणमा कार्यक्रम भैरहेको जनाएको छ ।