पहिरोको जोखिममा नमुना बस्ती

Aug 10, 2018

हिक्मत नेपाली

श्रावण २५, दैलेख

वि.सं. २०७२ साउन ३० गते राती अविरल बर्षातसँगै आएको पहिरोमा पुरिएर नमुना बस्तीका तिन जनाको ज्यान गयो । पहिरोमा पुरिएर एकै घरका दुई बालबालिका सहित तिन जनाले ज्यान गुमाएका थिए । पहिरोमा पुरिएर २१ बर्षिया रुपा बादी, अढाई वर्षकी सपना बादी र डेढ महिना मात्रै पुगेका जितबहादुर बादीले ज्यान गुमाउनुभयाे भने दिपक बादी घाइते हुनुभएकाे थियाे ।

एकै परिवारका तिन जनाको मृत्युपछि राहत रकम लिएर बस्तीमा पुगेका सरोकारवाला निकायका प्रमुखहरुले बस्तीलाई सुरक्षित स्थानमा सार्ने आश्वासन दिएर फर्किए । त्यसयता बस्ती सुरक्षित स्थानमा सार्नका लागि बेला बेला खुबै चर्चाको विषय पनि बन्यो । तत्कालिन अवस्थामा बस्ती स्थानान्तरणको लागि थुप्रै योजनाहरु पनि बने । सुरक्षित बस्तीका लागि धेरै नक्साहरु कोरिए, तर कागजमा । त्यसयता तिन वटा निर्वाचनहरु भए, स्थानीय तह, प्रदेसभा र प्रतिनीधि सभा । निर्वाचनमा होमिएका दलहरु नमूना बस्तीमा प्रत्येक घरदैलोमा पुगेर भोट मागे । “सुरक्षित ठाउँमा बसोबास र लालपुर्जा” उनिहरुको चुनावी नारा नै बनेका थिए ।

निर्वाचनका बेला उम्मेदवारले स्थायी बास र जीविकोपार्जनको आश्वासन देखाए पनि अहिले फर्केर नहेरेको स्थानीयले आरोप लगाउँदै आएका छन् । बस्तीमा पहिरोको त्रास बढ्दै गएपनि स्थानीय सरकार भने आँखा बन्द गरेर बसेको बस्तीका स्थानीयबासीले बताएका छन् ।

तत्कालिन शशस्त्र द्वन्द्वका समयमा विस्थापित भएर दैलेख सदरमुकामको गणेशचोक नजिकै बसोबास गर्दै आएका नमूना बस्तीका बादी समुदाय हरेक बर्षातमा पहिरोको जोखिम झेल्दै आएका छन् । एकै घरका तिन जनाको ज्यान गएपछि त्रसित बनेका नमुना बस्तीका बादी समुदायले पटक–पटक नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पहिरोबाट बस्ती जोगाउन माग गरे पनि बेवास्ता हुँदै आएको गुनासो गरेका छन् । भिरालो स्थानमा बस्ती भएकाले बर्सेनि बादी समुदायलाई पहिरोको त्रास हुने गरेको छ । यस वर्ष पनि बस्तीको माथिल्लो भागबाट पहिरो जान सुरु भएपछि स्थानीय त्रसित बनेका छन् ।

अस्थायी वासस्थान भएकाले सुरक्षित स्थानमा आफूहरूलाई स्थानान्तरण गर्नुपर्ने समुदायको माग छ । ‘पानी नपरेका दिन मात्र सुत्ने गरेका छौं,’ समुदायकी अगुवा पवा बादीले भन्नुभयाे, ‘आकाशमा पानी पर्न लागे रातभर जाग्राम बस्छौ ।’ उहाँले आर्थिक अवस्था कमजोर भएकाले पक्की घर बनाउन नसकिएको बताउनुभयाे । 'वर्षौंदेखि लालपुर्जा नपाएकाले अन्यत्र स्थानान्तरण गर्न सरकारसँग माग गर्छाैं ।' बादीले भन्नुभयाे ।  

स्थानीय कमला बादीले द्वन्द्वको समयमा नमुना बस्तीमा आएर बसेको बताउनुभयाे । ‘वर्षौं बित्यो सरकारले न लालपुर्जा दियो, न सुरक्षित स्थानमा बस्न दियो,’ उहाँले भन्नुभयाे, ‘अहिले पहिरोको जोखिम बढ्दै गएको छ । सबै निकायलाई यसबारे जानकारी गरायौं तर कसैले वास्ता गरेनन ।’

नारायण नगरपालिका–६ का वडाध्यक्ष प्रकाश न्यौपानेले तत्काल पहिरो रोकथाम गर्न पहल गरिने बताउनुभयाे । ‘तत्कालका लागि पहिरो रोक्न ग्याबिन तारजाली राखिनेछ,’ उहाँले भन्नुभयाे, ‘आगामी वर्ष उनीहरूका लागि स्थायी वासस्थानको व्यवस्था गरिनेछ ।’ उहाँले अधिकांश घरधुरी विपन्न भएकाले वैकल्पिक व्यवस्था गर्न नसकेको बताउनुभयाे । वर्षा भर्खर सुरु भएकाले समयमै रोकथाम गर्न सके बस्ती सुरक्षित हुने उहाँको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बादी समुदायलाई पहिरोको त्रासबाट जोगाउन आवश्यक पहल गरिने जानकारी दिनुभयाे । ‘तत्काल पहिरोको त्रासबाट उनीहरूलाई मुक्त बनाइनेछ,’ उहाँले भन्नुभयाे, ‘वर्षायाम सकिएपछि विभिन्न निकायको सहयोगमा उनीहरूलाई सुरक्षित बसोबासको व्यवस्था मिलाइनेछ ।’ नारायण नगारपालिकाका प्रमुख रत्नबहादुर खड्काले नमुना बस्तीको समस्या समाधानका लागि छलफल भइरहेको बताउनुभयाे । बर्षेनी पहिरोको जोखिममा पर्दै आएका उक्त बादी समुदाय लामो समयदेखि लालपुर्जाविहीन जग्गामा बस्दै आएका छन् ।