वातावरणीय प्रभाव मुल्यांकन नगर्दा पहिरोको त्रास

Aug 8, 2018

बिरा गडाल

श्रावण २३, बैतडी 

बर्खा वा हिउँद जहिल्यै पहिरो खसेकै हुन्छ । बाह्रमासे पहिरोले प्रत्येक वर्ष घरखेत बगाउन थालेपछि गोकुलेश्वरका स्थानीय कुनै समयका हुने खाने परिवार अहिले सुकुम्बासी बनेका छन् । हुने खाने गाउँ छोडेर तराई झरेका छन् भने विपन्न परिवार पहिरो छल्न अन्यत्र सरेका छन् ।

डिलासैनी गाउँपालिका–६, गोकुलेश्वरका सबै टोलमा बाह्रै महिना पहिरो जान थालेपछि स्थानीय हैरान छन् । बागाबगर, सौनगाउ, देबगाउँ, खोलिगाउँका करिब दुई सयभन्दा बढी परिवारको खेत र घर पहिरोले बगाएको छ । केही वर्षदेखि बागाबगरमा खस्ने पहिरोले ३८ परिवारको घरखेत पुरेको थियो । दिउँसो पहिरो गएकाले मानवीय क्षति भएन ।

यस्तै डिलासैनी गाउँपालिका–३, सिमारको खोलामा आएको बाढी गाउँ पस्दा गत हप्ता २२ परिवार जोखिममा छन् भने सयौं रोपनी खेत पुरिएको छ । अविरल वर्षाले खहरेखोलामा आएको बाढी गाउँ पसेपछि स्थानीय त्रसित बनेका छन् । कलदे खोलासिमार र तल्लो छेपट्टामा गाउँमा बाढी पसेपछि स्थानीय विस्थापित हुने अवस्थामा पुगेका हुन् ।

पहिरो जान थालेको पाँच दशकभन्दा बढी भइसक्यो तर नियन्त्रण नहुँदा वर्षपिच्छे गाउँ सार्नुपरेको छ । हुने खाने परिवारले अन्यत्र बस्ती सारे पनि कमजोर आर्थिक स्थिति भएका समस्यामा छन् ।

‘घरआँगन खुट्याउन नसकिने गरी सबै बगायो,’ गोकुलेश्वरका नरेन्द्र साउँदले भन्नुभयाे, ‘भएको खेत पनि पहिरोले पुर्यो, अहिले समस्यामा छौं ।’ बुढापाकाका अनुसार ०१७ सालबाट जान थालेको पहिरो अझै नियन्त्रण भएको छैन । ०४५ सालदेखि पहिरोले भयानक रूप लिएको हो । पहिरोले गाउँ बगाउँदै लगेपछि स्थानीयले देवगाउँको विद्यालय र केदार मन्दिरसमेत सार्नुपरेको सेटीगाउँ उमाविका प्राचार्य परमानन्द जोशीले बताउनुभयाे ।


स्थानीय बासिन्दाका अनुसार केही परिवार सुरक्षित ठाउँको खोजीमा आफन्तका घरमा आश्रय लिएर बसेका छन् । आर्थिक अवस्था ठीक भएका परिवार तराईतिर झरे । तर कमजोर परिवार पहिरोको जोखिम मोलेर बस्न बाध्य छन् । खेतीपाती गर्ने जग्गा सकिएकाले स्थानीय बजारमा मजदुरी गरेर परिवार पालिरहेको बागाबगरका मनवीर सार्कीले बताउनुभयाे । आ

फु ९ वर्षको हुँदादेखि पहिरो खसेको देख्नुभएका ५४ वर्षीय गणेश जोशी जोखिम भए पनि पुख्र्याैली थलो भएकाले अन्त बसाइँ सर्न नसकेको बताउँनुहुन्छ । पहिरोले गर्दा सुकुम्बासी भइसकेका परिवार कुन बेला के हुने हो भन्ने त्रासमा छन् । ’घाम लागोस् अथवा पानी परोस् पहिरो गएकै हुन्छ,’ स्थानीय नरेन्द्र नाथले भन्नुभयाे, ’नियन्त्रण र पुर्नस्थापनाका लागि कसैले सोचेको छैन ।’

जिल्लाका अन्य ठाउँमा पनि पहिरोको जोखिम छ, मल्लादेही, बिशालपुर, सित्तड, मल्लादेही, कटौजपानीलगायतका क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको छ । पहिरोकै छेउबाट सडक लगेपछि झन जोखिम बढेको स्थानीय बताउँछन् । मेसिन लगाएर काटेका जिल्लाका अधिकांश सडकले विपद् निम्ताएको स्थानीय बताउँछन् । वातावरणीय प्रभाव मुल्यांकन नगरी स्थानीयतहले धमाधम सडक खनेपछि पहिरोको जोखिम बढ्दै गएको हो ।