मकवानपुरमा सार्वजानिक निजी समुहको बैठक सम्पन्न: चेपाङ समुदायको बस्ती स्थानान्तरणको प्रकृया अघि बढेको जानकारी

मकवानपुर जिल्लाका नागरिक समाज, नागरिक संघसंस्था विभिन्न सरोकारवालाहरुले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य एवं विपद् जोखिम न्यूनिकरणका सवालमा बृहद् छलफल गरेका छन् । जस अनुसार विद्यालयमा छात्रवृत्तिको व्यवस्था र यसको उपलब्धता, स्थानीय तहमा प्राथमिक उपचारको अभाव, स्वास्थ्य संस्थाहरुमा निशुल्क औषधीहरु नपाइनु, स्वास्थ्य विमा कार्यक्रम र यसमा सबैको पहुँच, कृषि अन्तर्गत पाइने बीउविजन तथा मलको अभाव, चेपाङ समुदायमा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउनमा चेतनाको कमी तथा बाढि पिडित चेपाङ समुदायको बस्ती स्थानान्तर जस्ता सवालहरुमा छलफल भएको छ । 

जिल्लामा संचालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत संचालित 'सार्वजनिक निजी समुह' नामक संजालको बैठकमा विभिन्न क्षेत्रका सरोकारवालाहरुले समस्याका साथै समाधानका उपायहरु समेत सुझाएका छन् । पारस्परिक जवाफदेहिता परियोजनाको स्थानीय साझेदार संस्था डेभलपमेन्ट एक्सचेन्ज (डेक) नेपालले सहजीकरण गरेको उक्त कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरमा सम्पन्न भएको हो । 

सो अवसरमा डेक नेपाल, मकवानपुरकी संयोजक ज्योति बम्जनले स्थानीय तहमा रहेका श्रोता समुह, स्थानीय सभा जस्ता स‌ंजालहरुबाट स्थानीय नागरिक समाजले सुझाएका सवाल एवं समस्याहरु जिल्ला तहको संजालका रुपमा उक्त सार्वजनिक निजी समुहको छलफलमा प्रस्तुत गर्नुभएको थियो । 

छलफलमा विद्यालयमा प्राथमिक उपचारको व्यवस्था हुनुपर्ने, छात्राकाहरुको लागि सेनिटरी प्याडको व्यवस्था हुनुपर्ने, जसका लागि विद्यालयले सानो बजेटमात्र छुट्याएपनि हुने सुझाव हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले दिनुभएको थियो । साथै उहाँले कृषिमा प्राविधिक सहयोग गर्ने, स्वास्थ्य संस्थाहरुमा बर्थिङ् सेन्टर संचालन गर्ने, औषधी खरिदमा टेन्डर विधि घटाएर प्रक्रियामा जाँदा औषधिको गुणस्तर सम्बन्धी समस्याहरु समाधान गर्न सकिने सुझाव दिनुभयो । यस्तै स्वास्थ्य विमाको अन्यौलता र सेवा प्रवाहमा भएको समस्या बारे जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालले सेवाको गुणस्तरियता र प्रभावकारितामा सुधार गर्दै गाउँघरसम्म यसको महत्वका बारेमा बुझाउन जरुरी रहेको बताउनुभयो । उहाँले चेपाङ समुदायको बस्ती स्थानान्तरणका लागि केन्द्रमा शिफारिस गरेर पठाईसकिएको र अँझै पनि केही समस्या भएको भए जिल्ला विपद् व्यवस्थापन समितिमा शिफारिस गर्न सकिने बताउनुभयो । 

पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत डेक नेपालले मनहरी गाउँपालिकामा कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । सो अवसरमा स्थानीय तहमा परियोजनाले शिक्षा, स्वास्थ्य, कृषि र विपद जोखिम न्यूनिकरणका सवालमा नागरिक समाज र सरकारी निकायसंग मिलेर गरिरहेको कामको जिल्ला समन्वय समितिका स‌ंयोजक खुलालले प्रशंसा समेत गर्नुभयो । 

सार्वजानिक निजी समुहको बैठकमा जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयकी सरिता अधिकारी, गैह्रसरकारी संस्था महासंघ मकवानपुरका सचिव बोल बहादुर कार्की, पत्रकार तथा अन्य सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । छलफल जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।