विजयनगरको प्रार्थमिकता कृषि स्वास्थ्य शिक्षा, तर यसवर्ष बजेट घट्यो

Jul 6, 2021


बिकास थापा, कपिलवस्तु

विजय नगर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सँगै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाले नवौँ गाउँ सभामार्फत आगामी आर्थिक वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले नवौँ गाउँ सभामा आगामी आर्थिक वर्षका लागि २०७८ /७९ का लागि ५५ करोड ७१ लाख ७४ हजार बजेट प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षको तुलनामा यस वर्ष कम बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक २०७७ /७८ मा ६० करोड ५३ लाख २१ हजार बजेट ल्याइएको थियो ।

सभामा बजेटको समीक्षा गर्दै उपाध्यक्ष चौधरीले ज्येष्ठ मसान्तसम्म ४८ प्रतिशत मात्र रकम खर्च भएको जनाउनुभएको छ । आगामी वर्षका लागि प्रस्तुत ५५ अर्ब ७१ लाख ७४ हजार बजेट मध्ये चालु खर्चका लागि ३१ करोड २० लाख छुट्टाइएको छ, भने पुँजीगत तर्फ २४ करोड ५१ लाख ४९ हजार विनियोजन गरिएको छ । यस्तै गाउँपालिकाका अध्यक्ष गोपाल थापाले छोरी पडाऊ अभियान, हिलाम्मे र धुलाम्मे सडक मुक्त अभियान ,चक्रपथ निर्माणको निरन्तरता, २८३ घरपरिवारलाई सुरक्षित आवास निर्माण गरिदिने, रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम , कृषिमा उत्पादकत्व वृद्धि गर्ने, एक वडा एक बिउ बैङ्क सञ्चालन गर्ने ,एक गाउँ एक पकेट क्षेत्र ,निःशुल्क रूपमा स्वास्थ्य सेवा दिने खालका कार्यक्रम सञ्चालन गर्ने ,उपाध्यक्ष मातृ शिशु कार्यक्रम, वडाहरूलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने खालका कार्यक्रमहरू ल्याइएको बताउनुभएको छ ।

समुदाय स्तरमा बाट आएका काम र आवश्यकतालाई सम्बोधन गर्ने गरी यस वर्ष कार्यान्वयनको चरणमा जाने बताउनुभयो । सबै वर्गका समस्यालाई सम्बोधन गर्ने खालका कार्यक्रम र बजेट विनियोजन गरेको उहाँको भनाई रहेको छ । यस्तै आर्थिक विकास, सामाजिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार विकास, खेलकुद, वन वातावरण तथा विपद् व्यवस्थापन, स्वास्थ्य विकास, सेवा प्रवाह र सुशासनलाई निरन्तरता दिँदै अगाडी बढ्दै जानुपर्ने जोड दिएको अध्यक्ष थापाले बताउनुभयो । विजय नगर गाउँपालिकाको सङ्गठन, संरचना तथा व्यवस्थापन सर्वेक्षणको मस्यौदा अन्तर्गत वार्षिक नीति तथा कार्यक्रम, न्यायिक समिति प्रतिवेदन सर्वसम्मतबाट पारित भएको र अन्य विषय बैठकमा छलफल गरिने प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले गर्नुभएको थियो । #MeroReport