बैतडीमा जनस्वास्थ्य प्रवर्दन  केन्द्र स्थापना हुने

Jan 12, 2021


जयराज अवस्थी/बैतडी/पुष, २८
बैतडीमा जनस्वास्थ्य प्रवर्दन  केन्द्र स्थापना हुने भएको छ । प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालयले सो केन्द्र स्थापनाको तयारी अघि बढाएको हो । चालु आर्थिक बर्षदेखि नियमित रुपमा सञ्चालन गर्ने गरी केन्द्र स्थापनाको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय मातहत रहने गरी सो केन्द्र सञ्चालनको तयारी भएको हो । स्वास्थ बानी व्यवहारको प्रवर्दन  गर्ने, योगाभ्यास सिकाउने, खेलकुदका गतिविधि सञ्चालन गर्ने,संयुक्त बजार अनुगमन गर्ने लगायतका उद्देश्य राखेर केन्द्र स्थापना हुन लागेको हो । स्वस्थ जीवनशैलीका लागि स्वस्थकर बानी व्यवहार अपनाउन आवश्यक भएकाले त्यस्ता बानी व्यवहारको बारेमा केन्द्र मार्फत जानकारी प्रदान गरिने छ ।

यस्तै विभिन्न ठाउँमा योग शिविरको समेत आयोजना गर्ने बताइएको छ । संयुक्त बजार अनुगमन समितिले गर्दै आएको बजार अनुगमन कार्यमा पनि केन्द्रबाटै प्रतिनिधि खटाइने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘उपचारात्मक सेवा मात्रै नभएर प्रवर्दनात्मक सेवालाई पनि नागरिक सम्म पुर्याउन यो केन्द्र स्थापनाको तयारी गरेका हौं ।’

जनस्वास्थ्य प्रवर्दन  केन्द्रमा एक जना हेल्थ असिष्टेन्ट, एकजना अनमी र एकजना प्रयोगशालाकर्मी खटाइने बताइएको छ । यसका लागि आवश्यक जनशक्ति माग गरिसकिएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिनुभयो ।