सार्वजनिक तथा निजि समुहको बैठकमा सामुदायिक शिक्षाको गुणस्तरमा जोड ।।

May 9, 2018

बर्दिया २६ बैशाख,

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, नेपालगन्ज र एफएचआई ३६० को सहकार्यमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बर्दियामा मंगलबार सार्वजनिक तथा निजि समूहको बैठक सम्पन्न भएको छ  । बैठकका सहभागीहरुले सामुुदायिक शिक्षाको गुणस्तरमा जोड दिनुु पर्ने बताएका छन् । बढैयाताल गाउँपालिका वडा नं.३ मा गठन भएको स्थानीय सभाका सचिव गंगाधर पराजुलीले सामुदायिक विद्यालयको गुणस्तर बढाउन विद्यालयहरुमा अनुगमनलाई निरन्तरता दिनुपर्ने बताए । 

त्यसै गरि नेपाल कानुन व्यवसायी दिलिप कुमार सिहंले शिक्षा प्रभावकारी बनाउन अभिभावक नै सचेत हुनुपर्ने बताए । गैर सरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयको गुणस्तर बढाउन स्थानीय तहमा नागरिक निगरानी समुह स्थापन गरि अनुगमन गर्नु पर्ने बताए । उनले शिक्षा, स्वास्थ्य र कृषि सेवामा गुणस्तर ल्याउन नागरिक समाजको भुमिका महत्व रहेको बताए । त्यस्तै कमैया महिला जागरण समाज नेपालका कार्यक्रम निर्देशक मान बहादुर डाँगीले अझै पनि विभिन्न बहानामा सामुदायिक विद्यालयले शुल्क उठाउने गरेको बताए ।

बर्दिया जिल्लामा दानको नाममा पनि शुल्क उठाएको आफुसँग प्रमाण समेत भएको उहाको भनाई थियो । जिल्ला समन्वय समितिका सूचना अधिकारी पार्वती पण्डितले स्थानीय तहमा नै अब सम्पूर्ण अधिकार गएकोले स्थानीय तहलाई उत्तरदायी र जवापदेही बनाउनु पर्ने बताईन । शिक्षा विकास तथा समन्वय ईकाइ बर्दिया प्राविधिक सहायक शेर बहादुर रोकाले बर्दियामा शिक्षकको दरबन्दीको कमीको कारण शिक्षामा गुणस्तर आउन नसकेको बताए ।

साथै उनले अभिभावकहरु सचेत भई आफनो विद्यालय र विद्यार्थीको उज्वल भविष्यको लागि नागरिक समाज नै चनाखो भई उत्तरदायी बन्नु पर्नेमा जोड दिए । बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल चौधरी, बर्दिया नागरिक समाज सञ्जालका अध्यक्ष बालकृष्ण वली, थर्ड एलाइन्सका काशिराम चौधरी, गुुलरिया नगरपालिका कार्यपालिका सदस्य विनिता देवकोटा, हरप्लेसका जिल्ला संयोजक कुलराज चौधरी गुलरिया नगरपालिका वडा नं.३ का वडा सदस्य रविन्द्रनाथ यादव लगायतको सहभागिता रहेको थियो ।

बैठ्कले बढैयाताल गाउँपालिका वडा न ं३ मा रहेका भवानी मावि र नेरा निमाविमा शिक्षाको गुणस्तर बढाउन बृहत छलफल कार्यक्रम गर्ने योजना समेत बनाएको छ । सार्वजनिक तथा नीजि समूहको बैठकको उद्धेश्य, प्रक्रिया र महत्वको बारेमा  आईएचआसीका बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोम बहादुुर गुरुङले प्रष्ट पारेका थिए । बैठकको सहजीकरण आईएचआरसीका कार्यक्रम व्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले गरेका थिए ।