विदेशबाट फर्केर व्यवसायिक तरकारी खेतीमा

Nov 21, 2019

भगीरथ अवस्थी,बैतडी–५ मंसीर
बैतडीको पाटन नगरपालिका ९ मा कोरियाबाट फर्केका दुई यूवाको नेतृत्वमा ५ जनाले व्यवसायिक तरकारी खेती शुरु गरेका छन् । करीब ५० रोपनी जमीन भाडामा लिएर व्यवसायिक तरकारी खेती शुरु गरेको व्यवसायी मोहन बिजलेले बताउनुभयो । कोरिया बस्दा आफूले कृषि क्षेत्रमै काम गरेको र त्यो सीपलाई आफ्नै गाउँमा प्रयोग गर्नका लागि व्यवसायिक तरकारी खेती शुरुवात गरेको उहाँले बताउनुभयो ।

समूहमा मोहन बिजले, सुरेन्द्र भण्डारी, पाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष लोकबहादुर भण्डारी, लोकेन्द्र भण्डारी र गणेशसिंह भण्डारी रहेका छन् । उनीहरुले १० बर्षका लागि साढे तीनलाखमा जमीन भाडामा लिएर व्यवसायिक तरकारी खेती शुरुवात गरेका हुन् ।

जमीनमा पहिलो चरणमा १० क्विन्टल लसुन, १० क्विन्टल आलु र १ लाख बोट प्याज रोप्ने तयारी गरिएको बिजलले जानकारी दिनुभयो । स्वदेशमै कृषि मार्फत जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले आफूहरु व्यवसायिक खेतीमा लागेको व्यवसायी सुरेन्द्र भण्डारीले बताउनुभयो । विदेशको सीप स्वदेशमा प्रयोग गर्न पाउँदा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । नेताहरुले पनि काम गर्छन् भन्ने सन्देश दिनका लागि आफू पनि यूवा व्यवसायी किसानहरुको समूहमा आवद्ध भएको पाटन नगरपालिका वडा नं ९ का अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।अहिले तीनजना कामदार समेत राखेर तरकारी खेतीलाई अघि बढाइएको उहाँले बताउनुभयो । नमूना कृषि फर्मको रुपमा विकास गरेर अन्य यूवाहरुलाई पनि कृषिमा आकर्षण गर्ने आफूहरुको योजना रहेको व्यवसायी बिजलेको भनाई छ ।