कर्मचारी समायाेजनका मारमा बैतडीकाे जिल्ला समन्वय समिति कर्मचारी अभावले काममा समस्या

Oct 26, 2019

भगीरथ अवस्थी -बैतडी ९ कात्तिक -

जिल्ला समन्वय समिति बैतडीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा कामकाजमा समस्या भएको छ । साविकको जिल्ला विकास समिति हुँदा निकै चहलपहल हुने जिल्ला समन्वय समिति अचेल सुनसान जस्तै भएको छ ।

जिल्ला समन्वय समितिले गर्ने कामहरु कर्मचारीको अभावमा अगाडि बढाउन सकिएको छैन् । जिल्ला समन्वय समितिमा एकजना उपसचिव समन्वय अधिकारी, एकजना शाखा अधिकृत,एक जना नायव सुब्वा, एकजना इन्जिनियर, एक जना सह इन्जिनियर, एकजना खरीदार, ३ जना कार्यालय सहयोगी र ३ जना हल्का सवारी चालक गरी १३ जनाको दरबन्दी रहेको छ । तर ती मध्ये एकजना नायव सुव्वा र  एकजना खरीदार मात्रै अहिले कार्यरत रहेका छन् ।

प्राविधिक कर्मचारीको अभावमा समन्वय समितिले गर्ने अनुगमनको काम समेत प्रभावकारी हुन नसकेको जिल्ला समन्वय समितिका सदस्य रमेश बोहराले बताउनुभयो । यस्तै विभिन्न स्थानीय तहहरुले खानी उत्खननका लागि प्रारम्भिक वातावरणीय परीक्षण पनि जिल्ला समन्वय समिति मार्फत नै गराउनुपर्ने हुन्छ । तर कर्मचारीको अभावमा ती कामहरु अघि बढाउन नसकिएको निमित्त समन्वय अधिकारी दीपकराज पन्तले बताउनुभयो । जिल्ला समन्वय समितिमा कर्मचारीहरु समेत आउन नचाहेकाे कुरा उहाँले बताउनुभयो । पहिलाको जस्तो चहलपहल नभएकाले कर्मचारीहरु आउन खासै नरुचाएको जिल्ला समन्वय समितिका सदस्य बोहराले बताउनुभयो ।