डेंगु रोग भित्रिन नदिन बैतडीमा सतर्कता

Sep 8, 2019

विनोद सिंह विष्ट,
बैतडी,२२ भदौ -

देशभरजस्तै सुदूरपश्चिमका विभिन्न जिल्लामा डेंगु रोगको संक्रमण देखा पर्न थालेपछी बैतडीमा डेंगु सतर्कता अपनाइएको छ । बैतडीमा हालसम्म डेंगुको रोगको संक्रमण देखा नपरेको भएपनि संक्रमण हुनसक्ने भन्दै उच्च सतर्कता अपनार्ईएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
डेंगु रोगको संक्रमणवाट बच्नको लागी जिल्लाका विभिन्न सञ्चारमाध्यमवाट जनचेतनामूलक सन्देश प्रसारण तथा प्रकासन गरिएको स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक भुवन जोशीले जानकारी दिनुभयो । यसका साथै १० वटै स्थानीय तहका स्वास्थ्य संयोजक र स्वास्थ्य चौकी इञ्चार्जहरुलाई पनि डेंगुको रोगको संक्रमणसम्वन्धी सचेतनामूलक सन्देश प्रवाह गर्न पत्राचार गरिएको उहाँले बताउनुभयो ।
यहाँका अधिकांस नागरिकको बसाइ तराइमा पनि रहेकोले त्यहाँ लामखुट्टेले टोकेर डेंगु संक्रमण भएको भए ती नागरिकले डेंगु सार्न सक्छ उहाँले भन्नुभयो“डेंगु ज्वरो एक गम्भीर फ्लु जस्तो बिमारी हो, जसले जुनसुकै उमेरका व्यक्तिलाई पनि असर गर्छ। डेंगु ज्वरो एक गम्भीर फ्लु जस्तो बिमारी हो, जसले जुनसुकै उमेरका व्यक्तिलाई पनि असर गर्छ।” बिहान , दिउँसो र साँझ घाम अस्ताउने समयमा डेंगु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यतिबेला सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन् ।
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । असाध्यै टाउको दुख्ने,आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने,ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने जिल्ला अस्पताल बैतडीका डाक्टर जगदिशचन्द्र विष्टको भनाई छ । यसका साथै शरीरमा विमिरा आउने,वाकवाकी लाग्ने, पेट दुख्ने,नाक वा गिजाबाट रगत बग्ने,रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

डेंगुले एकको मृत्यु,१२ जना बिरामी
खास गरेर तराइमा मात्रै देखिने डेंगु रोग पहाडी जिल्लामा पनि फैलिदै गएको छ । सुदूरपश्चिम प्रदेशमा डेंगु रोगका १२ जना बिरामी फेला परेका छन् । सुदूर पश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा सबैभन्दा बढी पाँच जना डेंगु रोगका बिरामी भेटिएका छन् । त्यस्तै कैलालीमा चार जना, अछाममा एक जना, कञ्चनपुरमा एक जना र डोटीमा एक जनामा डेंगु रोग भेटिएको हो । डेंगु रोगबाट डोटीमा एक जनाको ज्यान समेत गइसकेको छ । डेंगुरोग अहिले सुदूरपश्चिमका चार ओटा जिल्लामा देखा परेकोले सावधानी अपनाउनु पर्ने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ ।

भाइरल ज्वरो फैलियो
बर्षातको समयसंगै जिल्ला अस्पताल बैतडीमा बिरामीको चाप बढेको छ । बिरामीमध्ये धेरै भाइरल ज्वारोका रहेका छन् । अस्पतामा हाल दैनिक १२० जना बिरामी आउने गरेका अस्पतालले जनाएको छ । अस्पतालमा आउने विरामीमध्ये दैनिक ६० जना ज्वरोका बिरामी आउने गरेका जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टले जानकारी दिनुभयो ।
बिरामीमध्ये आधा भाइरल ज्वरोका र अरु झाडापखाला, टाइफाइट लगायतका रहेका छन् । ज्वरोका बिरामी बढी देखा परेपनि हालसम्म जिल्लाका डेंगु रोगको संक्रमण देखा नपरेको जनाएको उहाँले जानकारी दिनुभयो । डेंगु रोगवाट बच्न लामखुट्टेको टोकाइवाट बच्ने साथै ज्वरो तथा झाडापखालाको लागी बर्षातको समयमा नयाँ पानीका मुहानको पानी पिउदा फिल्टर तथा उमालेर पिउन चिकित्सकको सुझाव रहेको छ ।