सुदूरपश्चिममा १२ जना डेंगुबाट संक्रमित

Sep 7, 2019

आशिष मल्ल
डडेल्धुरा भदौ २१ –

पहिलोपटक नेपालको चितवन जिल्लामा भेटिएको डेंगु रोग अहिले सुदूरपश्चिमका चार जिल्लामा समेत देखापरेको छ । यहाँका चार जिल्लामा १२ जनामा डेंगु रोगको संक्रमण देखा परेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

सबैभन्दा बढी दार्चुलामा पाँच जना डेंगु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक त्यस्तै कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको संक्रमण देखिएको निर्देशनालयको तथ्याङक रहेको छ ।

डोटीमा डेंगुका कारण एक जनाको मृत्यु भइसकेको छ। जिल्लामै पहिलोपटक देखीएको उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीकोे मृत्यु भएको थियो ।

उनको कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको भदौ ५ गते मृत्यु भएको थियो । धमाधम डेंगु रोगका बिरामी फेला पर्न थालेपछि अहिले सुदूपश्चिमवासीमा त्रास फैलिएको छ । डेंगु रोग नियन्त्रणका लागि डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरस्तरीय अभियान नै सञ्चालन गरेको छ । सबैले सावधानी अपनाइ सचेत रहनुपर्ने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले सुझाएको छ ।