चौरी किसानद्वारा बिमाको माग

Aug 12, 2019

सरिता श्रेष्ठ

श्रावण २७, धादिङ

उत्तरी धादिङको तिप्लिङ र सोमदाङका किसान चौंरीपालनबाटै आत्मनिर्भर छन् । आम्दानी राम्रै गर्छन् । बेलाबखत चौंरी नै मरिदिँदा भने उनीहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको छ ।

घाटाबाट जोगिन किसानले चौंरीको बिमा गर्ने उपाय नसुझेका होइनन । तर बिमा कम्पनीहरू चौंरी मरेको प्रमाणित गर्न खर्क उक्लिन नमान्दा उनीहरू मर्कामा छन । फागुनमा मात्र हिउँले पुरिएर तिप्लिङ र सोमदाङमा २३ वटा चौंरी मरे ।

हिमपातका बेला घाँस नभएपछि चौंरीपालक किसानलाई गाउँबस्तीबाट पिठो बोक्नकै हैरानी भयो । दुवैतर्फका किसानलाई आफू जोगिन र चौंरी जोगाउनै हम्मे पर्यो । किनेको पिठो खुवाएर घरगोठका चौंरी जोगाउन सफल भए पनि चर्न जंगल गएका याक र नाक भने हिउँमै पुरिए । गोठालाले जेठमा तिनको सिनो मात्रै फेला पारे ।

गोठमा बिमा कार्यक्रम नपुगेकै कारण किसानलाई लाखौंको क्षति भयो । चौंरीको मृत्यु प्रमाणित गर्न कठिनाइ भएको भन्दै बिमा कम्पनी आउन नमानेको चौंरीपालक किसान संघका अध्यक्ष दिनेश घलेले बताए । ‘हरेक वर्ष विभिन्न प्रकोपले चौंरी मर्छन् लाखौंको क्षति बेहोर्नभन्दा पशुबिमाको परिधिमा ल्याउन तयार छौं,’ उनले भने ।