धादिङ अस्पतालमा अक्सिजन प्लान्ट संचालन

Jun 20, 2021

सरिता श्रेष्ठ
धादिङ, असार ६

अक्सिजनको अभाबलाई न्यूनिकरण गर्न धादिङमै अक्सिजन प्लान्ट स्थापना गरिएको छ । धादिङ अस्पतालले आफ्नै अक्सिजन प्लान्ट संचालनमा ल्याएको हो । प्लान्ट संचालन गरेसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पु¥याइएको छ । प्लाण्टले प्रतिमिनेट ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए ।

बिरामीहरुले पर्याप्त अक्सिजन नपाउँदा उपचारमा समस्या भएपछि बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्लान्ट संचालनमा सहयोग गरेको हो । प्लान्ट संचालनको लागि भ्याट बाहेक ४० लाख रुपैयाँ लगानी भएको अस्पतालले जनाएको छ । उत्पादित अक्सिजन पाईपलाईनबाट अस्पतालको आई.सी.यू. र अन्य वार्डमा रहेका बेडबेडमा पु¥याईएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।

जिल्लामा अक्सिजन प्लान्ट नहुँदा यस अघि नुवाकोटमा रहेको प्लान्टमा गएर अक्सिजन भर्ने गरिएको थियो । अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन आवश्यक रहेका बिरामीलाई छिमेकी जिल्ला नुवाकोट पठाउनुपर्ने बाँध्यताबाट छुटकारा मिलेको छ ।

यस अघि निलकण्ठ नगरपालिकाले धादिङ्बेसीस्थित अस्थायी कोभिड अस्पतालमा मिनि अक्सिजन प्लान्ट जडान गरि संचालनमा ल्याएको छ । धादिङ अस्पतालले संचालन गरेको अस्थायी कोभिड १९ अस्पतालमा आइतबारसम्म २२ जना संक्रमित उपचाररत छन् ।