'कान्तिपुर' मा खोज पत्रकारिता अवलोकन भ्रमण

Mar 12, 2019

ललितपुर, फागुन २८ – मोफसलमा बसेर पत्रकारिता गरिहेका ११ जिल्ला पत्रकारहरूले कान्तिपुर राष्ट्रिय दैनिकको अवलोकन भ्रमण गरेका छन् ।

विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा पैरबी तथा खोज पत्रकारिता गरिरहेका पत्रकारहरू समाचार कक्षको अवलोकन गर्नका लागि मंगलबार कान्तिपुर पुगेका हुन् ।

खोजमूलक पत्रकारिताको बारेमा क्षमता अभिवृद्धि तथा अनुभव साटासाट गर्नका लागि उपत्यकामा रहेका ठुला मिडियाहरूमा अध्ययन अवलोकन भ्रमण गराउने इक्वेल एक्सेसकी सिनियर मिडिया अफिसर कमला पोखरेलले बताइन् ।

५ दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न सञ्चार गृहको समाचार कक्षको अवलोकन गराइने संस्थाले जनाएको छ ।

तालिमको पहिलो सत्रमा खोजपत्रकारिता सम्बन्धी आधारभूत ज्ञान, खोज पत्रकारितामा विषय उठान, खोज पत्रकारिताका पक्ष, लेख्ने तरिका, सम्भावना र चुनौती, प्रमाण सङ्कलन लगायतका बारेमा सैद्धान्तिक सीप दिइने छ भने दोस्रो सत्रमा कुनै एक मिडियाको समाचार कक्षमा अवलोकन गराउन लगिने छ ।

इक्वेल एक्सेसले सञ्चालन गरिरहेको पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत गत वर्ष सञ्चालित खोजमूलक पत्रकारिता तालिम र पैरवी अनुमगन तालिम लिएकाहरूलाई छनोट गरिएको थियो ।

कान्तिपुरका समाचार सम्पादक श्रीश भण्डारीले डेक्स, समाचार कक्ष, सम्पादन कक्ष, मिटिङ कक्ष जानकारी गराएका थिए । तालिममा देशका विभिन्न ११ वटा जिल्लाका ११ जना पत्रकारको रहेको छ । 

खोज पत्रकारिता अध्ययन तथा अवलोकन भ्रमण तथा सञ्चार गृहको भ्रमणको संयोजन इक्वल एक्सेसका सिनियर मिडिया म्यानेजर वेदप्रसाद ढकालले गरिरहेका छन् ।