थानसिङ स्वास्थ्य चौकीको निर्माणाधीन भवन चार वर्षदेखि अलपत्र

Jun 8, 2018

जेठ २५ गते, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–८ आरुचौरमा रहेको थानसिङ स्वास्थ्य चौकीको निर्माणाधीन भवन चार वर्ष देखि अलपत्र हुँदा स्वास्थ्य चौकी सेवा प्रभावित भएको छ । चार वर्षअघि निर्माण आरम्भ भए पनि ठेकेदारले बीचमा काम छाडेपछि भवन अलपत्र बनेको हा । भूकम्पको कारण पुरानो भवन बस्न अयोग्य भएपछि भाडाको घरबाट स्वास्थ्य चौकी सञ्चालन गर्दै आएकोमा अत्याधुनिक भवनबाट सेवा प्रवाह गर्ने स्वास्थ्यचौकीको योजना पनि अलपत्र परेको छ । स्वास्थ्य चौकीका इन्चार्ज सुरेश गैरेले भन्नुभयो “भवन निर्माण सम्पन्न हुन अझै दुई वर्ष जति लाग्ने बताए । ठेकेदारले निर्माण थालेर बीचमै काम स्थगित गरेपछि निर्माणको काम अलपत्र परेको हो । एक वर्षपछि ठेकेदारले वैशाख लागेपछि काम थाले पनि वर्षात्को कारण ढुवानीको समस्या, जिल्लामा गिटी बालुवाको अभाव देखाउँदै फेरि काम नगरेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा ककनी गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष शेषमान लामाले बताए ।