आगलागी नियन्त्रणका लागि विशेष प्राथमिकता

Apr 8, 2019

ज्योति श्रेष्ठ/काभ्रे

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनाहरु बढ्ने गर्दछन् । ग्रामीण भेगमा भने डढेलोका घटनाहरु बढि हुने गरेको पाईएको छ । आगलागी र डढेलोका घटनाहरु भई हालेमा तत्कालै उद्धार गर्नको लागि अहिले काभ्रेका स्थानीय तहसँग प्रयाप्त साधन उपलब्ध छैन । तर प्रदेश–३ सरकारले भने प्रदेशका सबै नगर र गाउँपालिकालाई एम्बुलेन्स र दमकल प्रदान गर्ने निर्णय गरि सकेको छ । यससँगै स्थानीय तहहरुले पनि आगलागि नियन्त्रणका लागि योजनाहरु बनाउँदै छन् ।


जिल्लाको वन जङगलमा लाग्ने डढेलोमा कमी आएको जिल्ला वन कार्यालय काभ्रेको तथ्याङकले देखाएको छ । काभ्रेको कुल क्षेत्रफल १ लाख ४० हजार ४ सय ८६ हेक्टरमध्ये ३९ हजार ५ सय ६५ हेक्टर क्षेत्रफल वन जंगलले आगटेको छ । वन जंगलमा लाग्ने डढेलोलाई तुलानात्मक रुपमा हेर्दा आर्थिक वर्ष २०७२/०७३मा १२ सय २८ क्षेत्रफलमा डढेलो लागेको थियो । त्यस्तै आ.व २०७३/०७४मा १ सय १२ क्षेत्रफलमा डढेलो लागेको थियो भने आ.व २०७४/०७५मा क्षेत्रफल सङ्ख्या घटेर ८० क्षेत्रफलमा मात्र डढेलो लागेको तथ्याङक काभ्रे जिल्ला वन कार्यालयको तथ्याङक छ । वन कार्यालयले तथ्याङकले डढेलोमा कमी आएको देखाई रहदाँ रेडक्रसको जिल्ला शाखा काभ्रे र जिल्ला प्रहरी कार्यालयको छुट्टा छुट्टै तथ्याङकले जिल्लामा आगालागीका घटनामा कमी नआएको देखाएको छ ।


जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार आर्थिक वर्ष २०७२/०७३मा आगलागीबाट १६ वटा पशु चौपायको मृत्यु र ४ वटा घाइते भएका थिए भने ४ वटा पक्की घर, ४३ वटा कच्ची घर, ३ वटा अस्थायी टहराहरुको क्षति भएको थियो । आगलागीबाट ३०८ जना परिवार सङ्ख्या पिडीत भएका थिए ।

आर्थिक वर्ष २०७३/०७४मा आगलागीबाट २ जना मानिस घाईते, ३७ वटा पशु चौपायको मृत्यु र ३ वटा घाईते भएका थिए । त्यस्तै १ वटा पक्की घर, २ वटा कच्ची घर, २ वटा अस्थायी टहरा, ५ वटा गोठ आगलागीबाट क्षति भएका थिए । १६७ जना परिवार सङख्या आगलागीबाट पिडीत भएका थिए । त्यस्तै गरि आर्थिक वर्ष २०७४/०७५मा आगलागीमा परेर १ जनाको मृत्यु भएको थियो भने २ जना घाईते भएका थिए र १ जनाको उद्धार कार्यमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङकमा छ ।

त्यस्तै आगलागीमा ४ वटा पशु चौपाय घाईते भएका थिए । ४१ वटा कच्ची घर, ३ वटा अस्थायी टहरा र ३ वटा गोठमा आगजनी भएको थियो । जसबाट ३ सय ११ जना परिवार सङख्या पिडीत भएका थिए । २०७५ श्रावणदेखि हालसम्मको तथ्याङकमा आगलागीबाट ९ वटा पशु चौपायको मृत्यु, कच्ची घर २० वटा, अस्थायी टहरा १ वटा, ३ वटा गोठमा क्षति गराएको थियो । आगजनीबाट १ सय ९१ जना परिवार सङ्ख्या पिडीत भएका थिए ।

तुलानात्मक रुपमा हेर्दा आर्थिक वर्ष २०७२/०७३ र २०७४/०७५ मा आगलागी घटना धेरै भएको माथिको तथ्याङकले देखाएको छ । त्यस्तै रेडक्रसको जिल्ला शाखा काभ्र्रेले पनि आगलागीको घटना बढेको देखाउँछ । आर्थिक वर्ष २०७३/०७४मा २८, आ.व २०७४/०७५ मा ३७ र आ.व २०७५ देखि हालसम्म १७ वटा आगलागीका घटना भएको रेडक्रसको जिल्ला शाखा काभ्रेको तथ्याङकमा उल्लेख गरिएको छ । तुलनात्मक रुपमा हेर्दा आ.व २०७४/०७५मा आगलागीको घटना बढि भएको माथिको तथ्याङकले देखाउँछ ।

दिर्घकालिन विपद व्यवस्थापनको लागि पाँचखाल नगरपालिकाले विपद व्यवस्थापन समिति गठन गरेको र नगरका केही वडाहरुले विपद व्यवस्थापनको लागि जनचेतनामूलक कार्यक्रम गरि रहेको पाँचखाल नगरपालिकाको जनाएको छ । काभ्रको पाँचखाल नगरपालिकामा प्राकृतिक प्रकोपका घटनाहरमध्ये आगलागि र बाढी सम्बन्धि विपदका निवदेनमा आउने गरेको नगरपालिकाको जानकारी छ ।

नगरको अनुसार विपदका जोखिमलाई न्यूनिकरण गर्न नगरपालिकाले लगभग ३३ लाख विपद व्यवस्थापन कोषको लागि सहयोग गरेको छ । यसका साथै नगर स्तरीय विपद व्यवस्थापन समिति गठन गरिसकेको र केही वडामा भने वडा स्तरीय पनि विपद व्यवस्थापन समिति गठन भईसकेको र केहीको लागि भने प्रक्रिया भईरहेको जानकारी छ ।

आगलागि र डढेलोका घटनालाई न्यूनिकरणको लागि जनचेतनामूलक कार्यक्रम अभियानको रुपमा भईरहेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले बताए । उनले भने, ‘आगलागि नियन्त्रणको लागि दमकल नै सबैभन्दा उपयुक्त हुन्छ । त्यसकारण अहिले नगरले दमकल किन्नको लागि प्रक्रिया अगाडी बढाईसकेको छ । यसमा नगरका जनप्रतिनिधिले मोटरसाईकल किन्ने पैसा दमकल किन्न सहयोग गर्ने भएका छन् ।’

विपद व्यवस्थापनको लागि पनौती, धुलिखेल र नमोबुद्ध नगरपालिकाले वडा स्तरीय विपद व्यवस्थापन समिति गठन गरि सकेको छ । पनौती नगरपालिकाका प्रमुख भिम प्रसाद न्यौपानेका अनुसार नगरपालिकाले विपदलाई न्यनूनिकरण र त्यसको व्यवस्थापन गर्न छुट्टै कोषको व्यवस्था गरिएको छ ।

आगलागि नियन्त्रणका लागि नगरसँग दमकलको व्यवस्था भएपनि यसको नियन्त्रण र न्यूनिकरणको लागि पनि पनौती नगरपालिकाले योजना बनाई रहेको छ । त्यस्तै धुलिखेल नगरपालिकाको जानकारी अनुसार विपद व्यवस्थापनको लागि नगरपालिकाले बजेट बिनियोजन गरेको छ । सुरक्षा निकाय, जिल्ला समन्वय समिति, अरु स्थानीय तहहरुको सहकार्यले गर्दा नगरका सबै वडामा विपद व्यवस्थापन समिति गर्न सकिएकोे र विपदका जोखिमलाई न्यूनिकरणमा सहज भएको धुलिखेल नगरपालिकाका उप–प्रमुख बिमला शर्माले बताईन् ।

यता धुलिखेल नगरपालिकाका उप–प्रमुद बिमला शर्माले सबैको साथले विपद व्यवस्थापनमा सहज भएको बताई रहदाँ नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पी शर्मा तिमिल्सना नगरमा डढेलो नियन्त्रण गर्नु चुनौतीको विषय भएको बताउँछन् । उनका अनुसार नगरमा डढेलो र आगलागी सम्बन्धि विपदका निवेदन महिनामा १/२ वटा आउने गरेको छ । उनले भने, ‘विपद व्यवस्थापनका लागि नमोबुद्ध नगरपालिकाले वडा स्तरीय कार्यविधि बनाई सकेको छ । विपदलाई न्यूनिकरण र त्यसको व्यवस्थापन गर्न नगरपालिकाको नियम अनुसार निश्चित बजेट छुट्याईएको छ ।’


खानीखोला र रोशी गाउँपालिकाबाट प्राप्त जानकारी अनुसार ती दुई स्थानीय तहमा आगलागी र डढेलोका घटनाहरु बढि हुने गरेको स्थानीय तहको जानकारी छ । दुवै स्थानीय तहले विपद व्यवस्थापनको लागि गाउँपालिका स्तरीय समिति गठन गरिसकेको छ । वडा स्तरीय समिति गठनको लागि तयारी भई रहेको गाउँपालिकाको जानकारी छ ।

विपदबाट प्रभावितहरुको लागि रोशी गाउँपालिकाले प्रति व्यक्ति १० हजार राहत दिने व्यवस्था गर्नुको साथै विपद व्यवस्थापनको लागि गाउँपालिकाले २४ लाख बजेट बिनियोजन गरेको रोशी गाउँपालिकाकाको जानकारी छ । अहिले गाउँपालिकामा विभिन्न स्थानमा बाटो निमार्ण कार्य भईरहेको छ ।

यसले वनमा डढेलोका घटनामा न्यूनिकरणमा मद्दत गर्ने रोशी गाउँपालिकाका अध्यक्ष डि.बी तामाङले बताए । आगलागी र डढेलोका घटना हुनै नदिनु नै यसको न्यूनिकरण हुने बताउँदै उनले भने, ‘आगलागी नियन्त्रण गर्न दमकल सबैभन्दा उपयुक्त माध्यम भएपनि गाउँपालिकामा दमकलको सम्भावना कम देखिन्छ । तर यसको नियन्त्रणको लागि गापउँपालिकाले सचेतनामूलक कार्यक्रम र अग्नि रेखा कोर्ने कार्य पनि भई रहेको छ ।’

अहिलेसम्म गाउँपालिकामा आगलागिका ६ वटा निवदेनहरु परेको गाउँपालिकाको जाकारी छ । वन जङ्गलमा लाग्ने डढेलोका कारण खानेपानीको पाईपहरु पनि जल्ने गर्छन् । यो समस्यालाई न्यूनिकरण गर्न गाउँपालिकालाई अलि चुनौती भएको गाउँपालिकाका अध्यक्ष तामाङ बताउँछन् ।’

त्यस्तै खानीखोला गाउँपालिकाकाको जानकारी अनुसार गाउँपालिकामा अहिलेसम्म ५ वटा आगलागीका निवेदन गाउँपालिकामा आएको छ । विपदलाई कसरी न्यूनिकरण गर्न सकिन्छ र त्यसको व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा समय समयमा छलफल हुने गरेको गाउँपालिकाको जानकारी छ । गाउँपालिकाले विपद व्यवस्थापनको लागि ८ लाख बेट छुट्याएको छ । वन जङगलमा डढेलोका घटनाहरुलाई न्यूनिकरण गर्न सामुदायिक वन उपभोक्ता समितिहरुमार्फत सचेतनात्मक कार्यक्रमहरु भईरहेको खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले बताए ।

काभ्रेको २ वटा स्थानीय तह महाभारत, र चौरीदेउराली गाउँपालिकामा विपद व्यवस्थापन गर्न निकै जटिल हुने गाउँपालिकाबाट जानकारी छ । आगलागी भएको अवस्थामा दमकलको व्यस्वथा नहुनुको साथै, बाटो राम्रोे नभएकाले यातायात आउन पनि नसक्ने अवस्था हुदाँ आगलागीलाई नियन्त्रण गर्न निकै समस्या हुने चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले बताए ।

उनले भने, ‘आगलागी भएको अवस्थामा पानी बढि मात्राममा चान्छि ,पानी पोखरी भएमा निकै सहज हुन्छ । तर गाउँपालिकामा पानी पोखरी पनि नभएको अवस्था छ ।’ गाउँपालिकाममा आगलागि, पहिरो र चट्याङ सम्बन्धि प्रकोपको निवेदनहरु आउने गरेको र त्यसको व्यवस्थापनको लागि गाउँपालिकाले कार्यविधि बनाई समिति पनि गठन गरेको जानकारी छ । विपद व्यवस्थापनको लागि चौरी देउराली गाउँपालिकाले लगभग ५ लाख बजेट छुट्याएको गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले बताए ।

त्यस्तै विपद व्यवस्थापनको लागि भुम्लु गाउँपालिकाले पनि विपद व्यवस्थापन समिति गठन गरेको छ । अब गाउँपालिकाको केही वडामा वडा स्तरीय समिति गठन भई सकेको र बाँकीको तयारी भईरहेको गाउँपालिकाको जानकारी छ । विपदका जोखिमलाई न्यूनिकरण गर्न गाउँपालिकाले १० लाख बजेट पनि छुट्याएको छ । आगलागि र पहिरो सम्बन्धि निवदेन बेथानचोक गाउँपालिकामा पनि आउने गरेकोे गाउँपालिकाको जानकारी छ ।

बेथानचोक गाउँपालिकामा वर्ष मात्र ५ वटा आगलागीका निवेदनहरु परेको थियो । आगलगीको घटना र त्यसको प्रकृति हेरेर गाउँपालिकाले पूर्ण रुपमा क्षति भएको अवस्थामा २५ हजार र सामान्य क्षति भएको अवस्थामा १० हजार रुपैँया राहत रकम प्रदान गर्ने गाउँपालिकाको जानकारी छ ।

आगलागी र विपदलाई नियन्त्रण गर्नको लागि गाउँपालिकाले तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमिल्सनाले बताए । उनले भने, ‘आगलागी नियन्त्रणको लागि दमकल नै अति आवश्यक साधन भएकाले गाउँपालिकाले पनौती नगरपालिकाको समन्वयमा पानी टयाङ्कर किन्ने योजना बनाएका छौँ । यसका साथै अग्नि नियन्त्रणको लागि अग्नि रेखा बनाउने र पानी पोखरी बनाउने तयारी भईरहेको छ ।’ गत वर्ष धेरै अन्यौल भएपनि यस वर्ष निकै होसियार भएर काम गर्न लागि परेको र यसलाई विशेष प्राथमिकता दिईएको अध्यक्ष तिमिल्सनाले बताए ।

मण्डन देउपुर नगरपालिका र तेमाल गाउँपलिकाले पनि अग्नि नियन्त्रणको लागि विपद व्यवस्थापन समिति बनाईसकेको र यसको लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको स्थानीय तहको जानकारी छ । विपद् व्यवस्थापनको लागि बनेपा नगरपालिकाले हालसम्म कार्यविधि नबनाएको नगरपालिकाको जानकारी छ ।

नगरका अनुसार कार्यविधि नबनाएपनि विपदलाई न्यूनिकरण गर्न नगरापलिकाले समय समयमा जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेका अनुसार बनेपा नगरपालिकाले विपद् व्यवस्थापनको लागि नेपाल सरकारको पुरानै कार्यविधि अनुसार कार्यक्रमहरु गर्दै आएको छ । विपद् व्यवस्थापन समिति गठन गर्न र कार्यविधिको लागि छलफल भएको छ ।

काभ्रेमा अहिले धुलिखेल, बनेपा, पनौती र नमोबुद्ध नगरपालिका गरि ४ वटा स्थानीय तहहरुमा मात्रै दमकल रहेको छ । बाँकी अरु स्थानीय तहहरुमा केही दमकल किन्ने तरखरमा छन् भने बाटो र यातायातका समस्या भएका स्थाानीय तहले भने वैकल्पिक उपाय खोज्दै छन् । आगलागीका घटनालाई न्यूनिकरण गर्न काभ्रेका स्थानीयहरुले अहिले पालिकास्तरीय र वडा स्तरीय विपद व्यवस्थापन समिति गठन गरिसकेका छन् ।