नियमित रुपमा सुचना प्रवाह गर्न आग्रह गर्दै समन्वय प्रमुखलाई ध्यानाकर्षण पत्र

Nov 10, 2020

सृजना सेन
प्यूठान, २५ कार्तिक । जिल्लामा रहेको सार्वजनिक तथा सरोकारवाला निकायहरुमा भएका क्रियाकलापहरु नियमित रुपमा नागरिकलाई प्रवाह गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

जिल्लामा क्रियाशिल रहेको नागरिक समाजले जिल्ला समन्वय समितिको प्रमुख केशवराज आचार्यलाई उक्त पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र ग्रहण गर्दै आचार्यले सुचना प्रवाह सक्रिय रुपमा गराउन स्थानिय तह तथा अन्य कार्यालयलाई आग्रह गर्ने बताउनु भएको छ ।
गैरसरकारी महासंघ प्यूठानको अध्यक्ष नेत्रमणि आचार्यको नेतृत्वमा उक्त ध्यानाकर्षण प्रदान गरिएको हो । उक्त पत्रमा लेखिएको छ ‘विधिको शासन, नागरिक सहभागिता पारदर्शिता, जवाफदेहिता, निष्पक्ष प्रशासन मार्फत सुशासन कायम गर्नु लोकतान्त्रिक शासन व्यवस्थाको आधारभुत शर्त हो ।’

साथै हरेक तीन महिनामा सुचना प्रवाह गर्नु पर्ने ऐन भएर पनि सुचना प्रवाह हुन नसकेको उक्त पत्रमा उल्लेख गरिएको छ ।

उक्त पत्रमा गै.स.स. महासंघ प्यूठानको अध्यक्ष नेत्रमणि आचार्य, सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको अध्यक्ष दामोदर शर्मा, हरप्लेस नेपाल प्यूठानको कार्यक्रम संयोजक पम्फा पन्त लगायत १२ जनाको हस्ताक्षर रहेको थियो ।