आत्मरक्षा तालिम गाउँगाउँमा आवश्यकः नगर प्रमुख कुँवर

Feb 11, 2019


माघ २८, अछाम
          साँफेबगरमा महिलाहरुका लागि अयोजित तीन दिने आत्मरक्षा तालिम सोमबार सम्पन्न भएको छ । तालिमको समापन गर्दै साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले महिला, वालवालिका तथा किशोरी माथी हुने हिंसा विरुद्ध तालिम फलदायी भएको बताउनुभएको छ । उहाँले महिला स्वयंले बल, बुद्धि र विवेक लगाएर हिंसाबाट जोगिनको लागि तालिमले मद्धत पुगेको बताउनुभयो । आत्मरक्षा तालिमलाई अव गाउँघरदेखि विद्यालय, सामाजिक संघ संस्थामा लैजानको लागि आग्रह गर्नुभयो । नगर प्रमुख कुँवरले नगरमा आत्मरक्षा तालिमको आवश्यकता परे पुनः पनि सञ्चालन गर्ने धारणा व्यक्त गर्नुभयो । यस्तै ईश्वरी विश्वविद्यालय मंगलसेन प्रमुख व्रहमकुमारी कविता दिदीले हिंसा उन्मूलनका लागि आत्मरक्षा तालिमले सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो । वढ्दै गएको हिंसा न्युनिकरणको लागि आत्मरक्षा तालिम जिल्लाका अन्य स्थानीय तहमा पनि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
             राष्ट्रिय गोजुरियो कराते दो संघ अछामका अध्यक्ष प्रकाश शाहले तालिममा सिकेका कुरालाई आफूमा मात्रै सिमित नराखेर गाउँघरका दिदीवहिनीलाई सिकाउन सहभागिलाई आग्रह गर्नुभयो । जिल्लाका अन्य स्थानीय तहले सहयोग गरेमा राष्ट्रिय गोजुरियो कराते दो संघ अछामका सम्पूर्ण तहमा आत्मसुरक्षा तालिम गर्न तयार रहेको पनि जानकारी दिनुभयो ।
समापन कार्यक्रममा नेकपा नेता भरत कुँवर, नेपाली काँग्रेसका क्षेत्रीय कार्वाहक अध्यक्ष कृष्ण वुढा, निमित्त प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटा, नगरपालिकाका प्रवक्ता वालगिरी कुँवर, वडा नं.९ का अध्यक्ष धु्रर्व थापा, कार्यपालिका सदस्य जीत बहादुर निशानी, सम विकास नेपालका अध्यक्ष पवन गिरी, नगरस्तरीय दलित सञ्जालका अध्यक्ष सुरत भूल लगायतले वोल्नुभएको थियो ।

          शनिबारबाट सुरु भएको तालिममा नगरका १४ वटा माध्यामिक विद्यालयका किशोरी, १४ वटै वडाका महिला सदस्य, नगरकार्यपालिका सदस्य, पत्रकार महिला, युवा सञ्जाल, दलित सञ्जाल, महिला सञ्जालमा आवद्ध भएका महिलाको तालिममा सहभागिता रहेको छ । राष्ट्रिय गोजुरियो कराते दो संघका केन्द्रिय सदस्य विएस ओडले प्रशिक्षण दिनुभएको थियो । राष्ट्रिय गोजुरियो कराते दो संघ अछामका उपाध्यक्ष झंकर कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शंकर भूलले गर्नुभएको थियो ।