नागरिक समाज संस्थाहरु आन्तरिक सुशासनका लागि प्रतिवद्ध

Nov 26, 2018

दोलखा, मंसिर १०

दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।

दोलखा सदरमुकाम चरिकोटमा आईतबार मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले सञ्चालन गर्दै आएको नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजनाले आयोजना गरेको नागरिक समाजका संस्थाहरुका आन्तरिक सुशासन प्रवद्र्धन तथा क्षमता विकास विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी नागरिक समाजका अगुवाहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।


कार्यक्रममा नागरिक समाजका संस्थाहरुको आन्तरिक सुशासन तथा क्षमता विष्लेषणका लागि प्रयोग गरिने औजारहरुको बारेमा पारस्परिक जवाफदेहिता परियोजनाका क्षमता विकास विज्ञ कर्णबहादुर नेपालीले सहभागीहरुलाई जानकारी गराउँनु भएको थियो ।

सो अवसरमा वहाँले संस्थागत क्षमता विष्लेषण औजारको प्रयोग मार्फत नागरिक समाजका संस्थाहरुको क्षमता र आन्तरिक सुशासनको अवस्था पत्ता लगाउन सकिने बताउँनु भयो । सो अवसरमा वहाँले हुराडेक नेपाल दोलखाले उक्त औजार मार्फत दुई पटक क्षमता विष्लेषण गरेको जानकारी दिनु हुँदै जिल्लाका अन्य नागरिक समाजका संस्थाहरु पनि आन्तरिक क्षमता विष्लेषणका लागि ईच्छुक भएमा प्राविधिक सहयोग उपलब्ध हुने जानकारी दिनु भयो ।

उक्त अन्तरसंवाद कार्यक्रममा बोल्दै ग्रामीण विकास टुकी संघ दोलखाका कार्यकारी निर्देशक पुषार्थ श्रेष्ठले नागरिक समाजका संस्थाहरुको आन्तरिक सुशासन बलियो भएमा मात्र समाजमा विश्वसनियता बढ्ने र जसले संस्थालाई फाईदा पुग्ने बताउँनु हुदै टुकी संघ आन्तरिक क्षमता विष्लेषण कार्यका लागि ईच्छुक रहेको बताउँनु भयो ।

कार्यक्रममा नेपाल ग्रामीण पुर्ननिर्माण संस्था आरआरएनका जिल्ला कार्यक्रम संयोजक टंक उप्रेतीले नागरिक समाजका संस्थाहरुको आन्तरिक सुशासन बलियो भएमा मात्र साझेदार निकायहरुको विश्वसनियता बढ्ने बताउँनु भयो ।


अन्तरसंवाद कार्यक्रममा सेवक नेपालका जिल्ला कार्यक्रम प्रबन्धक प्रल्लाद तिमल्सिनाले नागरिक समाजका संस्थाको लागि आन्तरिक क्षमता विष्लेषण जरुरी रहेको बताउँनुभयो । कार्यक्रममा हुराडेक नेपाल दोलखाका कार्यकारी निर्देशक सुन्दर लामिछानेले आन्तरिक क्षमता विष्लेषण पश्चात हुराडेकको आन्तरिक सुशसानको अवस्था बृद्धि भएको बताउँनु भयो ।

क्षमता विष्लेषण गर्दा देखिएका कमीकमजोरीलाई सुधारका लागि कार्ययोजना निर्माण गरी सुधारका कार्य गरे पश्चात संस्थाको आन्तरिक सुशासन सुदृढ भएको लामिछानेले बताउँनुभयो ।

अन्तरसंवाद कार्यक्रममा एनसेट बलियो घर कार्यक्रममा लिला भुजेल, सिपार्ड दोलखाका रामचन्द्र दुलाल, नेपाल रेडक्रस सोसाईटी दोलखाका अध्यक्ष गोकर्णप्रसाद पोखरेल, आरआरएनका प्रेम कार्की, रईस दोलखाकी कार्यकारी निर्देशक तारा शिवाकोटी लगायतले नागरिक समाजका ंसंस्थाहरुको आन्तरिक सुशासन बलियो हुनुपर्नेमा जोड दिनु भएको थियो ।


यसैबीच विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा क्रियासिल दोलखा जिल्लाका नागरिक समाजका संस्थाहरुबीच गठन भएको विपद् जोखिम व्यवस्थापन सञ्जाल दोलखाको बैठक आईतबार दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।


सञ्जालको संयोजक टंक उप्रेतीको अध्यक्षतामा सम्पन्न बैठकले विपद् जोखिम व्यस्थापन र पुर्ननिर्माणको क्षेत्रका सवालका साथै कृषि, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत अन्य सवालका बारेमा समेत छलफल गर्ने निर्णय गरेको छ । बैठकले १५ दिन भित्र दोलखा जिल्लामा क्रियासिल नागरिक समाजका संस्थाको विस्तृत विवरण संकलन गर्ने र मासिक रुपमा बैठक बस्ने समेत निर्णय गरेको छ ।