कृषि आत्मनिर्भर बनाउन अनुदान

Jan 8, 2019

अछाम, पुस २४

अछामकाे साँफेबगर नगरपालिका वडा नं. ११ देविस्थानमा कृषकहरुलाई बाख्रापालनको लागि रकम वितरण गरिएको छ ।

देवीस्थानका कृषकलाई आत्मनिर्भर तथा कृषि पेशामा जागरुक गराउने उद्देश्यले वडामा सक्रिय दुई समूहका १० जना महिलालाई प्रति ब्यक्ति १६ हजारका दरले एक लाख ६० हजार रुपैयाँवितरण गरेको छ ।

सामुदायिक विकास कार्यक्रम सिडिपी सहयोगको आर्थिक सहयोगमा सञ्चालित त्रिपुरा सचेतना केन्द्र र कृषक नागरिक सचेतना केन्द्र समूहको आर्थिक अवस्था कमजोर भएका ब्यक्तिलाई वितरण गरिएको वडा अध्यक्ष गणेश बहादुर खड्काले जानकारी दिनुभयो ।

केही बर्षअघि संञ्चालनमा रहेको सामुदायिक विकास कार्यक्रम सकिए जाँदा वचत रकमको जिम्मा वडा कार्यालय दिइएको थियो ।

हाल सामुदायिक विकास कार्यक्रम सिडिपीको वचत रकम समूह मार्फत वडाले जिम्मा लिएको वडा अध्यक्ष खड्काले बताउनुभयो । उहाँले कृषकलाई आत्मनिर्भर तथा कृषि पेशामा जागरुक बनाउनका लागि यो रकम सहयोग गरेको बताउनु भएको । उहाँले स्थानीय स्तरमा उत्पादन हुने विभिन्न मौसमी तथा बेमौसमी खेती गर्नका लागि सहयोग गर्ने पनि बताउनुभयो ।