आम्दानीको स्रोत बन्दै च्याउ खेती

Jan 6, 2021

सरिता श्रेष्ठ
गजुरी (धादिङ), पुस २२
धादिङको गजुरी गाउँपालिका वडा नं ५ राईगाउँका मोहन राईले दुई वटा टनेलमा च्याउखेती गरेका छन् । तीन वर्ष अघि च्याउखेती गर्ने तरिकाको बारेमा तालिम लिएपछि घरमै टनेल बनाएर व्यावसायिक रुपमा खेती सुरु गरेको राईले बताए । सुरुमा आफूले खानका लागि मात्र लगाएको थिए, अहिले यहि च्याउ बेचेर घरपरिवार टार्ने गरेको छु, राईले भने, ‘विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा नै दोब्बर आम्दानी गर्न सकिने रहेछ ।’ च्याउ फर्म नै दर्ता गरेर अन्य ठाउँहरुमा पनि च्याउखेती गर्ने योजना बनाएका छन् ।
साढे दुई वर्ष अगाडिबाट च्याउ खेती सुरु गरेका उनले उत्पादन भएको च्याउ धादिङका विभिन्न ठाउँमा निर्यात हुने गर्दछ । प्रति किलो दुई सय रुपैया किलोमा बिक्री हुने गरेको छ । घरबाटै पनि बिक्रि हुने गरेको र माग अनुसारको उत्पादन गर्न नसकेको बताए । ‘यहाँका मानिसहरुले अहिले मासु भन्दा च्याउ बढी खोज्ने गरेका छन् त्यसैले माग पूरा गर्न सकेको छैन’ उनले भने, ‘सानो लगानीबाट व्यवसाय सुरु गरेकाले धेरै उत्पादन गर्न सकेको छैन अब विस्तारै उत्पादन बढाउदै लैजाने योजनामा छु ।’
वर्षमा एक सिजनमा मात्रै च्याउखेती गरेर एकदेखि डेढलाख सम्म आम्दानी लिने गरेको उनले बताए । उनले दुई वटा टनेलमा दुई सय ३० वटा बल राखेका छन् । च्याउखेती गर्न उनका श्रीमती र छोराछोरीहरुले पनि सघाएका छन् । च्याउ बेचेर आएको आम्दानीले घर खर्च राम्ररी टरेको उनले बताए । उनको छोरी २१ वर्षीय सन्तोषी राई जन्मजात अपांग छिन् । कम्मर भन्दा तलको भाग चल्दैन, बोल्न सक्दैन भने हातखुट्टा समेत चल्दैन । उनको हेरचाह्रका लागि हरेक दिन खटिनुपर्छ ।
च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो । च्याउमा तरकारी तथा मासुमा पाईने सबै प्रकारका प्रोटिन तत्वहरु पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाहरुका लागि अति उपयोगी छ । यसमा सबै प्रकारका एमिनो एसिड लगायत विभिन्न किसिमका प्रोटिनहरुको अतिरिक्त खनिज पदार्थ, चिल्लो पदार्थ पनि प्रशस्त मात्रामा पाइन्छ । च्याउ खाने मानिसहरू बढेसँगै यसको व्यवसाय पनि बढिरहेको छ । खेती गर्नलाई धेरै ठुलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रतिको आकर्षण बढेको हो । च्याउमा पानीको मात्रा ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्वपूर्ण मानिन्छ । च्याउ क्यान्सर, मुटुरोगजस्ता रोगहरू लाग्नबाट बचाउँछ ।
कम खर्च र कम समयमा गर्न सकिने भएपछि गजुरी गाउँपालिका वडा नं ८ का रामशरण बस्नेतले पनि च्याउ खेती सुरु गरेका छन् । पहिलो पटक लगाएको च्याउखेतीबाट आम्दानी लिन सके व्यवसायिक रुपमा खेती गर्ने उनले बताए । ‘पहिलो पटक च्याउखेती गरेको छु, यसबाट आम्दानी लिन सके अर्को वर्षमा पनि खेती गर्नेछु,’ उनले भने, ‘एउटा टनेलमा ७५ वटा पोकामा च्याउखेती गरेको छु ।’ आम्दानीको अन्य श्रोत नभएको र कृषिमै भर पर्नु पर्ने भएकाले छोरा छोरीको पढाईलाई समेत राम्रोसंग अगाडि बढाउन यसले मद्धत गर्ने उनले बताए ।
यता खनियाबास गाउँपालिका वडा नं ३ वृचेतका सानुमाया तामाङले पनि च्याउ बेचेर आएको आम्दानीले घर खर्च राम्ररी टरेको बताइन् । ‘खेती गर्न सके गाउँमा नै राम्रो आम्दानी लिन सकिने रहेछ, आम्दानी राम्रै भएपछि ब्यवसाय गर्न ढिलो गरेकोमा पछुतो लागेको छ,’ उनले भनिन्, ‘समय समयमा तालिम र प्रोत्साहनका अन्य कार्यक्रम भइदिए अझै व्यवासयिक भएर उत्पादन गर्न सक्ने थियौँ ।’ च्याउ राखेको एक महिनामा नै तयार भई उत्पादन सुरु हुने किसानहरुले बताए ।
च्याउखेती गर्नका लागि सबै सामग्री आफैंले तयार पार्ने गरेका छन् । गाउँघरमा विषेश गरी पराले च्याउ लगाउने गरेका छन् । च्याउ खेती गर्न पूर्णिमा बिहानी परियोजनाले किसानहरुलाई सहयोग गरेको छ । खेती गर्न आवश्यक टनेल, बीउ, प्लास्टिक, अन्य औजारदेखि तालिम, परामर्शहरु दिएको परियोजनाका कार्यक्रम संयोजक उमेश अधिकारीले बताए । जिल्लाभर गजुरी गाउँपालिकाका दुई जना, गंगाजमुना गाउँपालिकाका पाँच जना र खनियाबास गाउँपालिकाका १६ जना गरी २३ जना किसानहरुलाई सहयोग गरेको बताए ।
नेपालमा कतिपय च्याउहरू जंगलमा आफै उर्मने गर्छन् भने केही च्याउहरूको खेती हुने गरेको छ । नेपालमा गोब्रे च्याउ, कन्य च्याउ, सिताके च्याउ, रातो च्याउ र पराले च्याउ मूख्य रूपमा खेती गरिन्छ । च्याउ खेती गर्न धेरै श्रम नचाहिने हुदाँ किसानहरू आफ्नो बचेको समयमा यसको खेती गर्न सक्छन् ।