आफ्ना समस्या पहिचान गर्दै स्थानीय बासिन्दा

Jun 8, 2018

कञ्चनपुर, जेठ १५ । स्थानीय बासिन्दाले गाँउमा भेला भएर छलफल गर्दै आफ्ना समस्या पहिचान गर्न थालेका छन् । कृष्णपुर १ श्रीपुरका स्थानीय बासिन्दा आफै आफ्ना समस्या पहिचान गर्न जुटेका हुन् । वडामा पारस्परिक जवाफदेहिता परियोजना संचालन भएपछि उनीहरु आफ्ना समस्याका बारेमा समूहमा छलफल गरेर समस्याको वर्गिकरण गर्न थालेका छन् ।
पारस्परिक जवाफदेहिता परियोजनाका संजिवनी नेपालका जिल्ला कार्यक्रम संयोजक नितु भट्टले श्रीपुरमा स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात लगायतका धेरै समस्या रहेको बताउनुभयो । उहाँले समूदायमा धेरै खाले समस्या भएकाले अहिले समूदाय आफै बसेर छलफल गरि समस्याको पहिचान गर्ने गरेको बताउनुभयो ।
‘यो क्षेत्र कञ्चनपुरकै दुर्गम क्षेत्रका रुपमा छ’, भट्टले भन्नुभयो ‘हाम्रो परियोजना लागु भएपछि यहाँका स्थानीय बासिन्दाले आफ्नो समस्याको पहिचान गरेर समाधानका लागि आफै पहल गर्न थालेका छन् ।’
उहाँका अनुसार गाँउमा छलफलबाट पहिचान भएका समस्याको स्थानीयबाटै समाधान पनि खोज्ने गरिन्छ । त्यसरी समाधान हुन नसकेको समस्यालाई भने सम्बन्धीत निकायको सहयोगमा समाधानको प्रयास गरिन्छ ।
चुरेको फेदीमा रहेको कृष्णपुरको वडा नम्बर १ अन्र्तगत पर्ने श्रीपुरमा अधिकांश गरिब, दलित र विपन्न परिवारको बसोबास छ । यातायातको सुविधा समेत नभएको त्यस
क्षेत्रमा खानेपानीको पनि अभाव छ ।
आफूहरुलाई खानेपानीको सबैभन्दा ठूलो समस्या रहेको कृष्णपुरको वडा नम्बर १ अन्र्तगत पर्ने श्रीपुरका स्थानीय कन्सादेवी भुलले बताउनुभयो । उहाँले यातायात, स्वास्थ्य लगायतका अन्य समस्या भएपनि घण्टौ हिडेर पानीका बोक्नु पर्ने भएकाले पाीनको ठूलो समस्या रहेको बताउनुभयो ।
‘समस्या त कति छन् कति भनेर साध्य छैन्’, भुलले भन्नुभयो ‘अहिलेलाई सबैभन्दा ठूला समस्या पिउने पानीको छ ।’
भूलका अनुसार सरकारले लक्षित वर्गका लागि भन्दै दिएको खानेपानीको ट्यांकी समेत सो क्षेत्रमा बन्न नसक्दा स्थानीय मारमा परेका छन् ।
‘हाम्रा लागि भन्दै दुई पटकसम्म खानेपानीको ट्यांकी बनाउन बजेट आयो’, भूलले भन्नुभयो ‘यहाँ बनाउन मिल्दैन । तल बनाएर पाइपबाट भएपनि पानी उपलब्ध गराउछौ भन्दै बोरिङ्ग भएकै ठाँउमा लगेर बनाए । हाम्रा समस्या उस्तै छन् । न पानी आयो न हाम्रा दुःख गए ।’
वर्षायाममा खोला नाला बढ्दा सो क्षेत्रको अन्य गाँउसँग आवातजावत नै बन्द हुने गर्दछ ।
‘बर्खामा खोलानाला बढे पनि अर्को गाँउमा जाने विकल्प छैन’, श्रीपुकै अर्का स्थानीय कल्पना भूलले भन्नुभयो ‘गाँउमा स्वास्थ्य संस्था छैन । बिरामी हुदा घरमै थन्किएर बस्नुपर्ने बाध्यता छ ।’
स्वास्थ्य संस्थासम्म पहँुच नहुँदा हालसम्म श्रीपुमा ३ जनाको ज्यान समेत गइसकेको छ ।