प्राविधिक शिक्षातर्फ विद्यार्थीहरुको आकर्षण बढ्दो

May 15, 2018


१ जेठ । प्राविधिक धारको पढाई हुने रुम्जाटार माध्यमिक विद्यालय ओखलढुंगामा विद्यार्थीहरुको आकर्षण बढ्दो छ । विद्यालयमा वर्षेनी प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्दै जान थालेपछि यसको पुष्टि भएको हो । यहाँ २०६८ प्राविधिक शिक्षातर्फ बाली विज्ञान , सिभिल इन्जिनियरिङ तथा पशु विज्ञान विषयकोे पठनपाठन हुने गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त गरी रुम्जाटार माध्यमिक विद्यालयमा प्राविधिक विषयको पठानपाठन सुरु गरिएको हो । एक जिल्ला एक कार्यक्रम लागु गर्ने हिसावले रुम्जाटारमा प्राविधिक शिक्षा सञ्चालनमा ल्याईएको थियो । यसले पहाडी भेगका विद्यार्थीलाई प्राविधिक विषय अध्ययन गर्न सहज भएको छ । एक शैक्षिक शत्रमा ४० जनाको कोटामा पढाई हुने प्राविधिक शिक्षातर्फ भर्ना हुन आउने विद्यार्थीको संख्या उच्च रहेको रुम्जाटार माविका प्रधानाध्यापक गोकर्ण बानियाँले बताए । उहाँका अनुसार एक सय भन्दा बढि विद्यार्थीहरु प्रवेश परिक्षामा सहभागी हुन्छन् ।

त्यी मध्ये प्रवेश परिक्षामा उत्तिर्ण भएका विद्यार्थीलाई भर्ना गरिएको उनको भनाई छ । अन्य शिक्षाको तुलनामा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीले पढाइ सकाए लगत्तै रोजगारी पाउने सम्भावना हुने भएकाले विद्यार्थीको आकर्षण बढेको बानियाँले बताए । २०६८ साल पछि यस विद्यालयबाट ३ सय ६० भन्दा बढी विद्यार्थी प्राविधिक शिक्षा गरि उत्तिर्ण भईसकेका छन् । त्यी विद्यार्थीहरु ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुर लगायतका जिल्लाहरुमा रोजगारीका  लागि पुगेको शिक्षक बानियाँले बताए । ओखलढुंगाका प्रबुद्ध माध्यमिक विद्यालय, सुनकोशी गाउँपालीकामा पनि प्राविधिक शिक्षाको पठनपाठन हुने गरेको छ र त्यहाँ पनि विद्यार्थीको आकर्षण उच्च रहेको प्रधानाध्यापक टंकालाल गिरीले बताउनुभयो ।