'आज आफ्नै नामले चिनिएको छु - रिता बोगटी'

Jan 9, 2018

सिन्धुलीको सोल्पाठानामा जन्मिनुभएकी रिता बोगटी केहि समय पहिलासम्म आफ्नो नामले भन्दा पनि जित बहादुरकी छोरी भन्ने नामले चिनिनुहुन्थ्यो । रिताको बाल्यकाल सोल्पाठानामा नै बित्यो । सोल्पाठानामा रिताले ७ कक्षासम्म मात्र पढ्न पाउनुभयो । त्यतिबेला त्यो ठाउँमा त्यो भन्दा माथिल्लो कक्षामा पढ्ने स्कुल पनि त थिएन । छोरीले घर छोडेर बाहिर पढ्न जानु हुन्न भन्ने पुरानो सोचका कारण उहाँका बुवाले रितालाई बाहिरतिर पढ्न पठाउनुभएन । त्यतिबेला रिताले पढ्ने चाहना राख्नु भनेको आफ्नो परम्परालाई लातहान्नु सरह थियो । त्यसैले पनि परम्पराको अगाडी रिताको केहि सिप लागेन ।

विक्रम संवत २०५१ सालमा रिताको विवाह जरायोटारको बागथला निवासी राजु बोगटीसंग भयो । त्यतिबेलाको चलन अनुसार पुरुषहरु बाहिर कमाउन जानुपर्छ र महिलाले घरको काम हेर्नुपर्छ भन्ने नै थियो सोही अनुसार हरेक परिवारका पुरुषहरु कमाउन बाहिर जान्थे, रिताको परिवार पनि त्यो भन्दा भिन्न हुनसक्ने कुरै भएन । २५ जनाको ठुलो परिवार, त्यसमाथि कान्छी बुहारीको दर्जा रिताले पाउनुभएको थियो । श्रीमान बाहिर कमाउन जानुहुन्थ्यो । खेत बारीको काम, बस्तुभाउ, रिताका दिनहरु यसरी नै बित्थे ।

एक दिन रितालाई कसैले तेरो श्रीमानले दोस्रो बिवाह ग¥यो भन्ने खबर सुनाए । उहाँका श्रीमानले कान्छी श्रीमतिलाई घरमा नल्याएर बाहिर कोठा लिएर राखेकोसम्म खबर गाँउलेले सुनाउँदा रिता छाङ्गोबाट खसेझैँ हुनुभयो । केहि दिन त उहाँलाई हैन झैँ लाग्यो । तर बिस्तारै श्रीमान घर आउन छाड्दै गएपछि होकि भन्ने संका लाग्न थाल्यो । नभन्दै एक दिन त्यो संका सत्य सावित भएर नै छाड्यो । त्यति हुँदासम्म पनि रिताले श्रीमानको घर छाड्नु भएन, किनकी उहाँको अन्त जाने ठाँउ पनि थिएन । सामाजिक चलन अनुसार त रिताका बुबाले उनै पुरुषलाई अब तिम्रो घर त्यहि नै हो भनेर जिम्मा लगाईदिनुभएको थियो । त्यसैले पनि रिता माईत नफर्केर त्यहिँ नै दुःख कटाएरै भएपनि बस्ने सोचमा हुनुभयो ।

श्रीमानले अर्की श्रीमती ल्याएको २ बर्षसम्म रिता श्रीमानकै घरमा बस्नुभयो तर सम्बन्ध झनझन जटिल हुँदैगयो । त्यसपछि रितालाई जिन्दगी देखि आशा भन्दा निराशा लाग्न थाल्यो । आफ्ना दिनहरु सकिए झैँ लाग्नथाल्यो । केही दिन त उहाँ मर्न भनेर भौँतारिएर पनि हिँड्नुभयो । सोही क्रममा उहाँलाई कसैले गाउँमा शिप सिकेर केही आम्दानी गर्न सके कसैको आशामा बाँच्नुपर्दैन भनेर सुनायो र खोज्दै जाँदा गाउँमा एउटा सिलाईकटाईसंग सम्बन्धीत शिपमुलक तालिम आएको छ भन्ने कुरा उहाँले थाहा पाउनुभयो । त्यसपछि रिता उक्त रेयुकाई भन्ने संस्थामा पुगेर यो कुरा बुझ्दा हो नै रहेछ र उहाँले कतैबाट ५० रुपैँया जोरजाम गरेर फारम भर्नुभयो । 

तालिम ३ महिनाको थियो । रिताले घरमा देउरानी जेठानीहरुलाई दिनभरी तपाईहरु घरको काम गर्नु म बिहान बेलुकी काम गर्छु भनेर समय निकालेर सिलाईकटाई सिक्न थाल्नुभयो । उहाँको उत्साह देखेर जेठानी दिदीहरुले पनि हुन्छ भने । यसपछि रिता उत्साही भएर सिलाईकटाईको काममा निरन्तर लाग्नुभयो ।

दिनभर तालिम र साँझबिहान घरको काम, जातो पिन्ने, भाडाँ धुने कहिलेकाहीँ बिहान सबेरै घाँसदाउरा काट्न जाने, निराशाको जिन्दगीबाट आशाको जिन्दगीको गोरेटो खोज्ने क्रममा रिताले निकै मेहनत गर्नुपर्‍यो । कहिलेकाहीँ आफुसंग एक रुपैँया पनि हुन्थेन, होस पनि कसरी? आफ्नो कमाई केही छैन, श्रीमानबाट सहयोग हुँदैनथ्यो । दुःखका दिनमा ससुरा र देउरानीजेठानीहरुबाट रिताले निकै सहयोग पाउनुभयो । ससुरा र घरपरिवारका बाँकी सदस्यहरुले रितालाई सँधै सहयोग गरे । यसले पनि रितालाई निरन्तर संघर्ष गर्ने हौसला र प्रेरणा मिल्यो । श्रीमानको सहयोग नपाए पनि घरमा अरुले गरेको सहयोगले रितालाई बाँच्न सघायो ।

बिस्तारै रितालाई अब आफुले यहि सिलाईकटाईको शिपबाट बाँच्न सक्छु भन्ने आत्मविश्वास पलायो । सिलाई सिक्नेहरुमा रिताजस्तै अरु पनि महिला दिदीबहिनीहरु तर रिताले हरेक दिन अरुले भन्दा अब्बल र फरक तरिकाले सिकाईलाई तिखार्र्दै जानुभयो । सम्भवतः आफुलाई परेको चोटले उहाँलाई लक्ष्य छुने तिर्खा बलियो बनायो ।

२०६१ सालमा २ हजार रुपैँया उधारोमा रिताले एउटा सिलाई मेसिन लिनुभयो । त्यो एउटा उधारोमा किनेको लुगा सिलाउने मेसिन बोकेर, घर छोडेर एक्लै चकमक्के बजार आउनुभएकी रितालाई त्यतिबेला यसले के गर्ली र भनेर कसैले पनि पत्याएनन् । बिस्तारै रिताले त्यहाँ आफ्नो शिप र कलाले ब्यापार बढाउँदै जानुभयो, मेहेनत गरेर सिकेको शिपले उहाँलाई चिनाउँदै गयो । बिस्तारै रिताको अरु संघसंस्थाहरु संग पनि चिनजान बढ्न थाल्यो । एकडेढ बर्षमै रितालाई सिलाई ब्यवसाय राम्रैसंग फाप्यो ।  

२०६३ सालमा रिता लघुउद्यम विकासले बनाएको समुहमा समेत आवद्ध हुनुभयो । त्यो समुहमा आवद्ध भएर उहाँले सिलाईकटाईको अर्को क्षमता अभिवृद्धि सम्बन्धी तालिममा सहभागी हुने मौका पनि पाउनुभयो । यो तालिमले उहाँको शिपमा अँझ निखार आयो । यसपछि त चकमके बजारमा रिता सिलाई ब्यवसायमा राम्रो शिप भएको महिलाको रुपमा चिनिन थाल्नुभयो र केही सिलाई मेसिनका साथै सहकर्मीहरु समेत थपेर उहाँले आफ्नो ब्यवसायको आकार फैलाउनुभयो बिस्तारै रिताको सिलाई ब्यवसायले गति लिन थाल्यो ।

आफ्नो ब्यवसायसंगै रिताले महिला दिदी बहिनीहरुलाई समुहमा आवद्ध गरेर उनीहरुको कुरा सुन्ने, शिपमुलक काममा लाग्न प्रेरणा दिने, आफुले जानेको कुरा सिकाउँदै सकेको सहयोग गर्ने जस्ता काम पनि गर्नुभयो । यहि स्वभावले गर्दा रितालाई जिल्लाका यस्तै महिला समुहहरुको संजालमा सहसचिवको अवसर पनि मिल्यो । विस्तारै उहाँ ब्यवसायी संगसंगै महिला दिदीबहिनीहरुको नेता समेत हुनुभयो जसले आफुजस्तै दिदी बहिनीहरुको कुरा सुन्ने, सुखदुःखमा सहयोग गर्ने, बाटो देखाउने काम गर्छ ।

बिस्तारै रितालाई आफ्नो गाउँ बाहेक अन्यत्रका मानिसहरुले समेत चिन्न थाले, सक्रिय महिला रिता भनेर । महिला दिदी बहिनीको लागि सिप तथा क्षमता विकासका तालिम तथा योजनाहरु गाँउमा ल्याउन उहाँले धेरै संघसंस्था र सरकारी निकायहरुसंग समन्वय पनि गर्नुभयो र नतिजामुखी काम पनि गर्नुभयो । 

आज रिता बोगटी गाँउमा सबैको सहयोगी बन्नुभएको छ । आज रिता धेरै दिदीबहिनीहरुको प्रेरणाको श्रोत बन्नुभएको छ । हिजोको एकजना दुःखी महिला, जो झण्डैझण्डै आत्महत्या गर्ने स्थितिमा पुगेको थियो उ आज जिल्लाका धेरै महिलाहरुको उदाहरणको पात्र बनेको छ । रिता आजभोली अरुलाई खुसी बन्न मद्दत र प्रेरणा दुबै दिनुहुन्छ ।

गाँउमा १० बर्षसम्म समुहको अध्यक्ष भएर काम गरेकी रिता विस्तारै समुहको संजालको जिल्ला सहसचिव हुँदै लघुउद्यमी महिलाहरुको जिल्ला संजालको अध्यक्षका साथै हाल केद्रिय सदस्य समेत बनि सक्नुभएको छ ।

आफ्नो विगतलाई फर्किएर हेर्दा र आजको दिनलाई हेर्दा रितालाई कहिलेकाहीँ त म त्यहि रिता हुँ त झैँ पनि लाग्छ । उहाँ भन्नुहुन्छ–‘म त्यहि रिता हुँ, जो हिजो केहि गर्न सक्दिन भनेर मर्न हिँडेको थिँए र आज तपाँईसंग गर्वका साथ कुराकानी गर्दैछु ।’

रिता प्रायः ब्यस्त रहन मनपराउनुहुन्छ । जतिबेला पनि काम गर्नुहुन्छ, मेहनत गर्नुहुन्छ किनकी अरुको प्रेरणा बन्नुभएकी रितालाई अरुले पनि आफुलाई देख्नेले केही सिको गरुन् र आफु जस्तै आत्मनिर्भर बनुन् भन्ने लाग्छ । तिनपाटन गाँउपालिकाको चकमके बजार, जहाँ रिताको सिलाई पसल छ त्यहाँ कार्यरत ४ जना कर्मचारी, उनीहरु पनि निरन्तर काममै खटिएको देख्दा समेत रिताले शिपसंगै मेहनत गर्न समेत सिकाएको प्रष्ट देखिन्छ ।

श्रीमानले अर्की श्रीमति ल्याएका बेला रितालाई एकमनले आफु पनि अर्कोसंग जाउँ की भन्ने पनि लागेको थियो रे तर फेरी अर्को मनले यो त उत्तम विकल्प हैन भन्ने लागेर अर्को विवाहको सोचलाई त्याग्नुभयो । ‘श्रीमान नै सबथोक हो भनेर उसंग आश्रित भएकी एकजना महिला उस्ले छाड्दा या अर्की श्रीमति ल्याउँदा आफुलाई एक्लो ठानेर मर्न खोज्छन्, मैले पनि झण्डैझण्डै आफुलाई त्यस्तै पाएकी थिएँ तर सम्हालिएँ, संघर्ष गर्नुपर्छ भनेर अठोट गरेँ र श्रीमानसंग अलग्गिएर पनि आफ्नो पहिचान बनाउन सकिन्छ भनेर लागेँ’ रिता अगाडि भन्नुहुन्छ-‘ मैले त उहाँलाई छोडेको थिईन, उहाँले मलाई छोड्नुभएको हो तर मैले संघर्ष गर्ने जुन निधो गरेँ, त्यही संघर्षले नै आज मलाई यी सबथोक दिएको छ । आज मलाई जिन्दगी उपहार लाग्छ ।’

कुराकानी टुंग्याउने क्रममा रिता भन्नुहुन्छ-‘सानोमा फलानोको छोरी भनेर बुवाको नामले चिनिएँ, त्यसपछि श्रीमानको नामसंग मेरो पहिचान जोडियो, बिचमै उहाँले पनि मलाई छोड्नुभयो,मैले मेरो पहिचान त सकियो अब भनेर बसेको भए सायद यति कुरा गर्न सक्थिन होला । निरन्तरता, मेहनत र संघर्षले नै आज मलाई मेरो पहिचान दिएको छ र त म रिता बोगटी भनेर आज आफ्नै नामले चिनिएको छु ।’  

सामुदायिक संचारकर्मी कमलसरला सुनुवारबाट

Member Comment
Sharda KC
धेरै राम्रो कुरा रिता जी जस्तै सबै बन्न सिक्नु पर्दछ
3 months ago