आफ्नो भत्ताबाट वडा अध्यक्षद्वारा विद्यालयलाई स्यानीट्री प्याड

ओखलढुङ्गा, पुस २७

मोलुङ गाउँपालिकाका अध्यक्षले आफ्नो वडाको एक विद्यालयमा स्यानीट्री प्याड वितरण गरेका छन् ।

मोलुङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष प्रदीपकुमार बानियाले आफुले पाएको भत्ता वापतको रकमवाट छात्रा विद्यार्थीलाई लक्षित गरेर स्यानीट्री प्याड वितरण गर्नुभएको हो ।

एक कार्यक्रमको आयोजना गरी मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीमा रहेको सरस्वती माद्यमिक विद्यालय कुन्तादेवीलाई उक्त स्यानीट्री प्याड हस्तान्तरण गर्नुभएको हो ।वडा अध्यक्ष बानियाले आफुले प्राप्त गरेको भत्ता बापतको रकमवाट उक्त सेनेटरी प्याड विद्यालयलाई सहयोग गरेको बताउनुभयो ।

स्थानीय स्तरमा रहेका धेरै विद्यालयका छात्राहरु अझै पनि महिनावारी भएकोवेला विद्यालयमा नआउने गर्छन् । महिनावारी भएका बेलामा छात्राहरु विद्यालय नआउने गरेकोले उनीहरुको पठन पाठनमा समस्या समेत हुनेगरेको विद्यालयका शिक्षकहरु बताउछन् ।

केही समय अगाडी गाउँमा रहेका केही सामाजिक संस्थाहरुको तर्फवाट समेत सामुदायिक विद्यालयमा स्यानीट्री प्याडको व्यबस्थापनका लागि अध्यक्ष बानियालाई बजेटको अनुरोध गरेका थिए । तर गत आर्थिक वर्षको बजेट अन्यत्र नै खर्च भै सकेको कारण तत्काललाई काम चलाउनका लागि आफ्नो बैठक भत्ता वापतको रकमवाट नै विद्यालयमा सेनेटरी प्याडको व्यबस्था गरिदिएको अध्यक्ष बानियाले बताउनुभयो ।

आधारभुत तहको कक्षाको छात्राको पढाईको तुलनामा माद्यमिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुको पढाईको प्राप्तांक प्रतिशतमा कमी आउने गरेको स्वयम् शिक्षकहरु बताउछन् । छात्राहरुमा महिनावारी हुन थालेपछि सरसफाईका लागि विद्यालयमा उचित वातावरण नहुँदा विद्यालयमा कम उपस्थिती हुने हुदा उनीहरुको प्राप्तांक प्रतिशतमा कमी आएको हो ।

विद्यालयमा प्याडको व्यबस्थापन भएसगै छात्राहरु विद्यालयमा नियमित आउने र छात्राहरुको प्राप्तांक प्रतिशत पनि बढ्ने आशा लिएको विद्यालयका प्रधानाध्यापक लिलानाथ गिरीले बताउनुभयो ।