आर्थिक वर्षको अन्त्यमा योजना किताब

Jun 6, 2019

सुजल श्रेष्ठ
जेठ २३, प्यूठान

प्यूठान नगरपालिकाले चालु आर्थिक वर्ष सकिन लाग्दा योजना किताब प्रकाशित गरेको छ । बजेट तथा योजना छनौट भइसकेपछि सर्वसाधारणको जानकारीका लागि प्रकाशित गर्नुपर्ने योजना किताब नगरपालिकाले योजना सम्पन्न हुने बेलामा प्रकाशित गरेको छ ।

स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ अनुसार सभाले स्विकृत गरेको बजेट तथा कार्यक्रम श्रावण १५ भित्र सर्वसाधारणको जानकारीका लागि प्रकाशित गर्नुपर्ने छ । साथै सम्वन्धित स्थानीय तहले आफ्नो वेभसाईटमा राख्नुपर्ने दिग्दर्शनमा उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्षको योजना छनौटको काम भइरहेका बेला नगरपालिकाले चालु आर्थिक वर्षको योजना किताव प्रकाशित गरेको छ । प्रकाशित भएको योजना किताब सर्वसाधारणको पहुँचमा पुग्न सकेको छैन । नगरपालिका अन्तरगतका वडा कार्यालयमा सम्म योजना किताब नपुगेको पाइएको छ ।

'योजना किताव अहिलेसम्म वडामा आएको छैन', एक वडा सचिवले भन्नुभयो, 'योजना सकिन लागेको बेला किताव प्रकाशित भएछ ?' सचिवका अनुसार आर्थिक वर्षको अन्तिममा योजना किताब छाप्दा त्यसले बजेटमात्र सक्ने काम हुन्छ । सर्वसाधारणलाई आफ्ना गतिविधि पारदर्शी र जवाफदेहि रुपमा सञ्चालन गर्न आर्थिक वर्षको शुरुमै योजना किताब छाप्ने गरिन्छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गैरेले हालै मात्र योजना पुस्तक प्रकाशित गरेको बताउनुभयो । कार्यालयमा आउने व्यक्ति, समुहलाई र वडा कार्यालयमा पुस्तक पठाउन थालिएको उहाँले बताउनुभयो ।