बाँदर आतङ्क नियन्त्रण गर्ने अभियानमा पञ्चकन्या

Jul 14, 2020

नुवाकोटको पञ्चकन्या गाउँपालिका बाँदर आतङ्कलाई नियन्त्रण गर्ने अभियानमा जुटेको छ ।
बजेट निर्माणको क्रममा योजना छनौट गर्नलाई वडा भेला हुदा स्थानीयहरुले बाँदर आतङ् नियन्त्रण गर्नुपर्ने माग राखेका थिए । सोही मागलाई संवोधन गर्दै गाउँपालिकाले तत्काललाई १० वटा बन्दुक खरिद गरी बाँदर आतङ्कलाई नियन्त्रण गर्ने अभियानमा जुटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेस पुडासैनीले बताउनुभएको छ । उहाँको अनुसार एउटा बन्दुकलाई २ हजार ५ सय रुपैयाँमा खरिद गरेर ल्याइएको हो । राष्ट्रिय आविस्कार केन्द्रद्धारा निर्मित उक्त बन्दुक खरिद गरी बाँदर आतङ्क नियन्त्रण गर्न सोमबारदेखि परिक्षण सुरु गरिएको पुडासैनीले बताउनुभएको छ ।
विशेष गरी पञ्चकन्याको वडा नम्बर २, ३, ४ र ५ किसानहरु वादरको कारण त्रसित रहेका छन् । बाँदरकै कारण लगानी अनुसार उव्जनी भित्राउन समस्या भइरहेको गुनासो किसानहरुबाट आउने गरेको छ । त्यस्तै बाझो जग्गाको क्षेत्र बढ्नुको एक कारण बाँदर आतङ्क पनि रहेको छ । बाँदर आतङ्कबाट किसानलाई जोगाउन गाउँपालिकाले सञ्चालन गरेको अभियानले सार्थकता पाउने आशा राखेको प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले बताउनुभएको छ ।