आहा.. महिनावारी हुदा यस्तो पो !

Dec 29, 2019

दिपक खत्री,पौष १३, सिन्धुपाल्चोक

चौतारा सांगाचोकगढि नगरपालिका दक्षिणकाली माविका प्रधानाध्यापक मोहन झाका अनुसार हाल विद्यालयले सरसफाइ र स्वच्छता हेर्ने विद्यालय शिक्षक नियुक्त गरेको छ । अब शिक्षिकालाई पनि महिनावारी स्वच्छता व्यवस्थापन सँगसँगै सरसफाइ र स्वच्छता सम्बन्धी काम गर्नको लागी जिम्मेवारी दिईने छ । हाल विद्यालयमा स्यानिटरी प्याड व्यवस्थापन गर्ने स्थानको व्यवस्था भएकोले विद्यार्थीहरुलाई महिनावारीको समयमा विद्यालय छाड्नु पर्ने अवस्था नरहेको जानकारी दिनुभयो ।


कालिकादेवी माविका प्रधानाध्यापक धर्मदत्त सापकोटाका अनुसार अहिले घरेलु स्तरमा नै प्याड बनाउन सिकाएकाले विद्यार्थीहरुलाई महिनावारी स्वच्छता व्यवस्थापनमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ ।विद्यालयकी छात्रा बबिता वि.क. ले आगामी दिनमा प्याड बनाउने तालिम आफ्नो आमा र अन्य आफन्तहरुलाई पनि सिकाउने बताउनुभयो । अर्की छात्रा सिर्जना घिमिरेले जन्मदिनको अवसरमा आफ्नो साथीहरुलाई घरेलु स्तरमा निर्मित प्याड उपहारको रुपमा दिनुपर्ने बताउनुभयो ।


सिम्पाल काभ्रेकी महिला स्वास्थ्य स्वयंसेविका अष्टमाया तामाङले पहिले महिनावारीको समयमा प्याडको रुपमा प्रयोग गरेको कपडालाई धोएर खुला ठाउँमा सुकाउन अप्ठेरो हुने गरेकोले कुनै अर्को कपडाले छोपेर सुकाउने गरेको स्मरण गर्नुभयो । अहिले भने यसरी प्रयोग गरेको कपडालाई सूर्यको सिधा प्रकाश पर्ने ठाउँमा सुकाउनुपर्ने र यसो गर्दा किटाणुहरु नष्ट भई कपडा सफा हुने जानकारी हासिल गरेको बताउनुभयो । सिम्पाल र दक्षीणकालिका किशोरी तथा महिलाहरु महिनावारी हुदा अहिले सरसफाईमा ध्यान त दिन्छन् नै , साथै प्रयोग गर्ने प्याड आफै बनाउने गर्छन् । जसले गर्दा एक त बजार सम्म प्याड किन्न जाने समय बचत भएको छ भने अर्कोतर्फ प्याड किन्ने पैसा जोगिन थालेको छ । घरमानै तयार हुने प्याड बनाउन निकै सजिलो र प्रयोग गर्न पनि उपयोगि मानिन्छ । घरमानै बनाएको प्याड धोएर घाममा सुकाएर पुन प्रयोग गर्न सकिन्छ । सिम्पालकि स्वास्थ्य स्वयमंसेविका अष्टमाया तामाङले अहिले महिनावारी हुदा प्रयोग गर्ने प्याड घरमानै बनाउन थाल्नुभएको छ । किशोरीहरमा महिनावारीको समयमा गर्नुपर्ने सरसफाईबारे थाहा पाएपछि अहिले परीवर्तन आएको छ । उनिहरु महिनावारीको विषयमा साथिसंगि र घरपरीवारका जहान संग खुलेर कुरा गर्न सक्छन् ।

सिम्पालकि सोनि तामाङले तालिममा सिकेका कुरा आफुलेत लागु गर्नु भयोनै साथै घरमा आमालाई पनि सिकाउनुभयो । अहिले आमा छोरी मिलेर प्याड बनाउने,बेच्ने गर्न थाल्नुभएको छ । साथै महिनावारी भएको बेला सरसफाईमा ध्यान दिदा यौनाँगं चिलाउने ,खटिरा आउने ,गनाउने समस्या हटेको छ ।


महिनावारी स्वच्छता व्यवस्थापनको विषयमा अझै पनि हाम्रो समाजमा विभिन्न किसिमका भ्रमहरु विद्यमान रहेको छ । महिनावारीको समयमा महिलाहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिदै आएको पाइन्छ ।महिनावारीको विषयमा रहेको भ्रम निवारणको लागि यस किसिमका कार्यक्रमहरुलाई बढावा दिनुपर्ने देखिन्छ । यसले एकातर्फ महिनावारीको समयमा रहेको भ्रम निवारण गर्न सहयोग र्पुयाउँछ भने अर्को तर्फ महिलाहरुको आत्मसम्मानलाई बृद्धि गर्न सहयोग प्रदान गर्दछ ।
महिनावारीलाई मर्या्दित र व्यवस्थित बनाउन सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १, २ र ३, स्याउले, बतासे र इन्द्रावती गाउँपालिका वडा नं. १, सिम्पाल काभ्रेमा समुदाय र विद्यालय स्तरीय महिनावारी स्वच्छता व्यवस्थापन तालिम सञ्चालन गरीएको हो । महिनावारीको समयमा प्याडको रुपमा प्रयोग गरिने कपडाको कारण पनि महिलाहरु विभिन्न किसिमका रोगहरुको संक्रमणमा पर्ने गरेको र महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरुको जानकारीको अभावमा महिनावारी स्वच्छता व्यवस्थापन उचित र मर्या्दित बन्न नसकेको विषयलाई ध्यानमा राखी तालिमको आयोजना गरिएको थियो । तालिममा स्थानीय टेलरिङ सेन्टरका प्रतिनिधिहरुलाई सहभागी गराईएकाले प्याड निर्माणलाई व्यवसायीकरण गर्ने विश्वास व्यक्त गरीएको छ ।