असिना पानीका कारण हिउँदे बालीमा क्षति

Feb 8, 2019

अछाम, माघ २५

अछाममा असिना पानीका कारण बालीनालीमा क्षति पुगेको छ । दुई दिनसम्म परेको असिना पानीले हिउँदे बालीमा ठुलो क्षति गरेको छ ।

असिनापानीका कारण हिउँदे बाली गहुँ, जौ, मसुरो, तोरी, तरकारी बाली र फलफूलका विरुवामा नराम्ररी क्षति पुगेको किसानले बताएका छन् । वर्षासँगै असिनापनीका कारण साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोटका स्थानीय कृषकका तरकारी बालीमा क्षति पुगेको छ ।

विहीबार राती वर्षासँग आएका पानीको कारण तरकारी लगाएका नगदे वालीमा क्षति पुगेको साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोटका वडा अध्यक्ष धु्र्व थापाले जानकारी दिनुभयो ।

तरकारी व्यवसायी सुरेश कुँवरले तरकारी वालीमा दुईदेखि तीन फिट असिना जमेको बताउनुभयो । उहाँले असिनापानीका कारण पुरै तरकारी वालिमा क्षेती पुगेको जानकारी दिनुभयो । वर्षासँगै आएको असिनापानीका कारण वडा नं.१४ पातलकोटमा पनि तरकारी वालिमा क्षति पुगेको स्थानीय बम साउदले जानकारी दिनुभयो ।

पानी पर्दा बालीनाली सप्रिने भन्दै खुसी लागेको भएपनि अचानकको असिनाले हिउँदे बाली तरकारी खेती सबैमा क्षति गरेको मंगलसैन ६ का किसान नन्दाराम भण्डारीले बताउनुभयो । आफ्नो तरकारी बारीका प्याज, काउली, लसुन, धनियाँ, पालुंगो, आलु बालीमा ठुलो क्षति पुगेको उहाँको भनाई छ ।

बर्षे बाली जंगली जनावरले क्षति गर्ने र हिउँदे बालीसमेत असिनाले नष्ट गरेपछि किसान भोकमरीको चिन्तामा परेका मंगलसैन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले बताउनुभयाे । मेल्लेख गाउपालिका वडा नम्बर ६ शोडषामा पनि हावाहुरीले ७ घरमा क्षति पुर्याएको छ । असिनाका कारण खेतबारी सेताम्मे देखिएको छ । मंगलसैन नगरपालिका वडा नम्बर ६ को वडा समिति बैठकले असिना पीडितलाई राहतका लागि सम्बन्धित सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

वडा अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा भएको बैठकले असीनाका कारण हिउँदे बालीमा ठुलो क्षति गरेकाले असिना पीडित किसानलाई राहतका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको हो । राहतका लागि मंगलसैन नगरपालिका, प्रदेश सरकार र संघीय सरकारलाई समेत अनुरोध गरी पीडित किसानलाई राहतका लागि अनुरोध गर्ने निर्णय गरिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।