अख्तियार सुर्खेतमा चार सय ३० उजुरी मध्ये बढी स्थानीय तहका

सुर्खेत,१५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतमा पछिल्लो ६ महिनाको अवधिमा कर्णालीका चार सय ३० वटा उजुरी दर्ता भएका छन् । साउन यता ६ महिनाको अवधिमा चार सय ३० वटा उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।

चार सय ६७ वटा जिम्मेवारी सरेर आएका उजुरी सहित कार्यालयमा जम्मा आठ सय ९७ वटा उजुरी दर्ता भएको कार्यालय प्रमुख नारायणप्रसाद रिसालले जानकारी दिए ।

जसमध्ये एक सय ९६ वटा उजुरी फछ्यौट भएका छन् भने सात सय एक वटा उजुरी फछ्यौट हुन बाँकी रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले बिहीवार वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख रिसालले अधिकांस उजुरीहरु स्थानीय तहका रहेको बताए ।

कर्णालीका १० जिल्ला मध्ये सबैभन्दा बढी सुर्खेतका उजुरी रहेका छन् । कार्यालयको तथ्यांक अनुसार सुर्खेतका एक सय ८३, दैलेखका एक सय ६० र कालिकोटका एक सय ७ वटा उजुरी दर्ता भएका छन् ।
तथ्यांकअनुसार जाजरकोटका ९३, हुम्लाका ७४, मुगुका ६६,जुम्लाका ६५, सल्यानका ५८,रुकुमपश्चिमका ४६ र डोल्पाका ४५ वटा उजुरी दर्ता भएका छन् । त्यसैगरी कर्णालीका ७९ वटा स्थानीय तह मध्ये सबै भन्दा बढी सुर्खेतको भेरीगंगा नगरपालिकाका उजुरीहरु दर्ता भएका छन् ।

कार्यालय प्रमुख रिसालले पछिल्लो समय भ्रष्टाचारका नयाँ नयाँ स्वरुप हरु देखिएको हुँदा अनुसन्धानमा समस्या भएको बताए । ‘पछिल्लो समय भ्रष्टाचारका नयाँ रुप बदलेर आउने गरिएको पाइएको छ उनले भने, यस्त खालका उजुरीहरु अनुसन्धान गर्न पनि समस्या हुने गरेको छ । धेरैजसो गुणस्तरहिन काम भएको तथा सामान खरिदमा अनियमिता हुनुको साथै सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको जस्ता उजुरी आउने गरेको उनको भनाई छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले धेरैजसो पहुँचवाला वर्गबाट अनियमितता हुने गरेको बताए । ‘पहुँचवाला वर्गबाट ठूला खालका भ्रष्टाचारका घटना हुने गरेका छन्’ उनले भने, ‘यस्ता खालका घटनामा उनीहरुले अनुसन्धानमा हस्तक्षेत्रप हुने गरेका छन् ।