गोरखा नगरको अभियान ! गर्भवतीलाई पोषिलो झोला, छात्रालाई प्याड र बृद्धलाई घरमै उपचार

Jan 6, 2019

मोहसिन अलि मियाँ
गोरखा

गोरखा नगरपालिकाले स्वास्थ्य सेवा प्रवद्र्धनका लागि गर्भवती महिलालाइ पोषिलो झोला वितरण, जेष्ठ नागरिक उपचार कार्ड र विद्यार्थी छात्राका लागि सेनेटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गरेकाे छ ।  नगरप्रमुख राजनराज पन्तले असहज परिस्थितीमा रहेका ब्यक्तिहरुको सहयोगार्थ एक कार्यक्रमका बिच सामाजिक सुरक्षाका कार्यक्रमको शुभारम्भ गर्नुभएकाे हाे । 

कार्यक्रम लागु भएपछि गोरखा नगरपालिका भित्रका गर्भवती महिलाले नियमित गर्भजाँच गराउन स्वास्थ्य चौकी जाँदा आवश्यकता अनुसारको पोषिलो खानेकुरा पाउने भएका छन् । अण्डा, गेडागुडी लगायतका पोषिलो खानेकुराको साथमा अवस्था अनुसारका अन्य सरसफाईका सामाग्री समेत गर्भवती महिलाले पाउने भएका हुन् । ‘हामी उहाँहरुको अबस्था हरेर कुन बेला के खानु आवश्यक छ सोही खानेकुरा उपलब्ध गराउँँछौ’ स्वास्थ्य शाखाका प्रमुख निञ्चल अर्यालले भन्नुभयाे ‘साथमा सरसफाई र सुरक्षाका सामाग्री पनि उहाँहरुले पाउनुहुन्छ ।’ हाल नगरक्षेत्र भित्र १३ सय भन्दा बढि गर्भवती रहेको नगरपालिकाको अनुमान छ ।

त्यस्तै नगरपालिकाभित्र रहेका जेष्ठ नागरिकलाई उपचार कार्ड वितरणको काम सुरु भएको छ । ६० बर्षमाथीका जेष्ठ नागरिकलाई उपचारमा समस्या नहोस भन्दै उपचार कार्ड वितरण गरिएको नगरपालिकाले जनाएको छ । ‘याे काम निकै राम्रो लागेको छ’ गोरखा नगरपालिका ८ कि दुर्गा खत्रीले भन्नुभयो ‘म हिड्न सक्दिन, यो कार्ड भएपछि घरमै डाक्टर आएर उपचार गरिदिनुहुन्छ रे ।’ 

जेष्ठ नागरिक मध्येका अति अशक्त र अपाङ्गता भएकाहरुलाई स्वस्थ्यकर्मीहरुले घरमै गएर जाँच्ने व्यवस्था मिलाइएको छ । उनिहरुलाई नेपाल सरकार मार्फत निशुल्क पाउने औषधी पनि घरै उपलब्ध गराउने तयारी छ । ‘बिरामीको अबस्था हेरेर, महिला स्वास्थ्य स्वमसेबिका र अन्य स्वास्थ्यकर्मी साथीहरुले अब घरमै पुगेर पनि सेवा दिनुहुन्छ’ नगरप्रमुख पन्तले भन्नुभयाे ‘उहाँहरुले निशुल्क पाउनु पर्ने औषधी पनि सँगै हामी उपलब्ध गराउँछौ ।’ गोरखा नगरपालिका भित्र ७०० भन्दा बढि अशक्त जेष्ठ नागरिक रहेको नगरपालिकाले जनाएको छ ।

२२ वटा सामुदायिक विद्यालय रहेको यहाँका अधिकाशं छात्राहरु महिनावारीका बेला विद्यालय गयल हुने समस्या रहेको भन्दै नगरपालिकाले निशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउने भएको छ । जिल्ला सदरमुकामको सरस्वती माबि आहालेका छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराएर उक्त अभियान थालिएको हो । ‘धेरै नानी यो समस्याका कारण महिनावारी हुँदा विद्यालय नगएको पाइयो’ गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले भन्नभुयाे ‘बहिनीहरुको उक्त समस्यालाई संबोधन गर्न हामीले निशुल्क रुपमा यो सेनेटरी प्याड उपलब्ध गराउन लागेका हौं ।’

जसले गर्दा महिनाबारी हुँदा छात्राहरु गयल हुने समस्याको न्यूनीकरण हुने विश्वास लिइएको छ । गोरखा नगरपालिका भित्र २५ सय भन्दा बढि छात्राहरु सामुदायिक विद्यालयमा पढ्ने गरेको आकंलन छ ।

‘नागरिक समग्र बिकास नभई गोरखा नगरपालिका समृद्ध बन्न सक्दैन’ प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठले भन्नुभयाे ‘त्यसै कारण हामीले नागरिकको सुरक्षालाई प्राथमिकता दिएका हौं ।’ उक्त कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गर्नका लागि नगरपालिकाले आवश्यक वजेट समेत विनियोजन गरिसकेको छ ।

८ का वडाध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम १४ वटै वडामा लागु हुने बताइएको छ ।