असिनापीडित किसानलाई गहुँको बीउ बितरण

Nov 5, 2018

प्रविर ददेल
कार्तिक १९, रुकुम 

असिनापीडित किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । मुसीकोट नगरपालिका १० चौखावाङले असिना पानीले मकैमा क्षती पुर्याएका किसानलाई गहुँको बीउ वितरण गरेको हो ।

आर्थिक बर्ष २०७५/०७६ को वडा कार्यालयबाट स्वीकृत कार्यक्रम अन्तर्गत असिनाबाट गत वर्षको हिउद र वर्षातको बालीमा क्षति पुगेका २ सय ६५ घरपरिवारलाई उन्नत जातको गहुँको बीउ वितरण गरिएको वडा सदस्य धनबहादुर खड्का ‘बसन्त’ले जानकारी दिनुभयाे । ‘क्षतीको विवरण र किसानको आवश्यकताको आधारमा बीउ बीतरण गरिएको छ ।’ वडा सदस्य खड्काले भन्नुभयाे । 

असिना पीडित किसानहरुलाई वडा नं. १० को कार्यक्रम अन्र्तगत २५ क्विन्टल र मुसीकोट नगरपालिकाको सहयोगमा ६ क्विन्टल बीउ निशुल्क वितरण गरिएको छ भने ५ क्विन्टल गहुँको बीउ किसानको २५ प्रतिशत र मुसीकोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमा वितरण गरिएको छ ।

गहुँको बीउ पाएपछि स्थानीय किसानहरु पनि खुसी भएका छन् । मुसीकोट १० का किसान हरिमाया ओलीले भन्नुभयाे ‘गत वर्षको हिउदे र यसपालिको बर्षे वाली असीना पानिले क्षती गरेका कारण बीउ समेत रहेको थियो, अनुदानमा बीउ पाएपछि केही राहत भएको छ ।