अपाङ्गता परिचय पत्र लिनबाट बञ्चित

Dec 4, 2018

प्यूठान, मंसिर १८ गते

अपाङ्गता परिचयपत्र बनाउन गाउँबाट जिल्ला सदरमुकाममा मानिस आएपनि रित्तो हात फर्किने गरेका छन् । चालु आर्थिक वर्षको साउन यता अपाङ्गता परिचय पत्र बनाउने आउने व्यक्ति र उनका अभिभावक खाली हात फर्किनु परेको हो ।

महिला तथा बालबालिका कार्यालय खारेजी भएसँगै परिचय पत्र वितरणको काम रोकिएको छ । अपाङ्गता परिचय पत्र वितरण निर्देशिका– २०६३ अनुसार परिचत्र पत्र वितरण भएकोमा अपाङ्गता अधिकार ऐन–२०७४ आएपनि नियमावली निर्देशिका नबन्दा परिचय पत्र पाउनबाट अपाङ्ता भएका व्यक्ति बञ्चित भएका छन् ।

दश वर्षीय छोरा सनमलाई लिएर सदरमुकाम आउनुभएका प्यूठान नगरपालिका–७ गेग्राका प्रकाश विकले काम नबनेको बताउनुभयो । हिड्डुल गर्न नसक्ने छोरालाई परिचय पत्र बनाउनका लागि सदरमुकाम पुगेपनि काम नभएपछि फर्किनु परेको गुनासो गर्नुभयो । अपाङ्ग सेवा संघको कार्यालयमा आईयो, उहाँले भन्नुभयो,परिचत्र पत्र बनाउने काम रोकिएको रहेछ, बल्ल थाहा भयो ।

नौबहिनी गाउँपालिका–४ खवाङका मोहन कुमार पुन पनि सदरमुकाम आएर परिचत्र पत्र नबनाई घर फर्किनुभएको छ । परिचय पत्रकै लागी सदरमुकाम पुगेपनि काम बनेन्, उहाँले भन्नुभयो, नयाँ नियम आएको छ रे ।

राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानका अनुसार जिल्लामा ६ हजार अपाङ्ता भएका व्यक्ति रहेका छन् । जसमध्ये आधाले मात्र परिचय पत्र प्राप्त गरेका छन् । परिचय पत्रका लागि अहिलेसम्म ५०/६० जना मानिस सदरमुकाम आएर फर्किएका छन्, संघका अध्यक्ष जुमानसिंह केसीले भन्नुभयो, दुःख पाइरहेका छन् । नयाँ परिचय पत्र रोकिदा उनीहरुले पाउने सेवा सुविधाबाट बञ्चित हुनुपरेको केसीले बताउनुभयो ।

पूर्ण अशक्तलाई क वर्गको रातो, अति अशक्तलाई ख वर्गको निलो, मध्यम अपाङगतालाई ग वर्गको पहलो र सामान्य अपाङ्गतलाई घ वर्गको सेतो परिचय पत्र वितरण गर्ने गरिएको छ । क वर्गका अपाङ्गता भएका व्यक्तिले दुई हजार र ख वर्गका अपाङ्गता भएका व्यक्तिले छ सय रुपिँया मासिक भत्ता पाउँदै आएका छन् ।

अपाङ्गता अधिकार ऐन–२०७४ अनुसार स्थानीय तहबाट परिचय पत्र वितरण गर्ने भनिएको छ । प्रक्रिया कस्तो हुने भन्ने अझै टुंगो नलागेको संघका अध्यक्ष केसीको भनाई छ । भुगोलको आधारमा परिचय पत्र वितरणलाई पुर्नविचार गर्नुपर्ने उहाँको सुझाव छ ।

अपाङ्गता बालबालिकालाई सहयोग
सदरमुकाम खलंगामा सञ्चालित शारिरीक अपाङ्गता आवास गृहका बालबालिकालाई मल्लरानी गाउँपालिकाले सहयोग सामाग्री प्रदान गरेको छ । २७ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सोमवार बालबालिकालाई सहयोग सामाग्री प्रदान गरिएको हो ।

राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानले आयोजना गरेको कार्यक्रममा ३० हजार रुपिँया बरावरको न्यानो कपडा, स्टेशनरी र खाद्यान्न सामाग्री प्रदान गरिएको संघका उपाध्यक्ष हुनाराम खड्काले बताउनुभयो । आवास गृहमा रहेका आठ जना बालबालिकालाई उक्त सामाग्री प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । आवास गृहमा रहेका बालबालिकाको शैक्षिक विकास र आवास गृह सञ्चालन सहजताका लागि सामाग्री वितरण गरिएको खड्काको भनाई छ ।

मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सोभाराम रिजालले आवासगृहको दिगो व्यवस्थापनका लागि सवै पक्षले साझा सवालको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले आवासगृहलाई थप व्यवस्थित बनाउन योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले अपाङ्गता बालबालिकाको शैक्षिक विकासका लागि आवास गृहको दिगो व्यवस्थापन हुनुपर्ने बताउनुभयो । अपाङ्गता भएका बालबालिका शिक्षाबाट बञ्चित हुन नदिनका लागि आवास गृहलाई सवैको सहयोग आवश्यक पर्ने उहाँको भनाई छ ।