कृषि कार्यमा असर नपरोस् भन्नका लागी काम गरिरहेका छौँः कोन्ज्योसोम गाउँपालिका अध्यक्ष सिंतान (अन्तर्वार्ता)

Aug 4, 2020

भुपेन्द्र रावत, ललितपुर २० साउन ।


कोरोना भाइरसको महामारीका कारण सबै क्षेत्र जस्तै कृषि क्षेत्रमा पनि असर परेको छ । कृषि क्षेत्रमा मुख्य गरी कृषि उपजलाई बजारको व्यवस्था छैन, भने रासायनिक मलको आपूर्ति लगायतका क्षेत्रमा पनि असर परेको छ । यस्तै पशु, कुखुरा लगायतका लागि दाना पनि पाएका छैनन् ।

कोरोना भाइरसको महामारीका कारण कृषि क्षेत्रमा असर परिरहेको बेला कृषि कार्यमा असर नपरोस् भन्नका लागी ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले त्यसका लागी विभिन्न काम गरिरहेको जनाएको छ । रेडियो कार्यक्रम साझा बोलीका लागी कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतान सँग गरिएको कुराकानीको सम्पादित अंश ।

कोरोना भाइरस महामारीका कारण कोन्ज्योसोम गाउँपालिकामा कृषि क्षेत्रमा के कस्तो असर परेको छ ?
यो समस्या हाम्रो देशको मात्र समस्या होइन, यो समस्या विश्वले नै भोगी रहेको छ । हाम्रो स्थानीय तहको कुरा गर्ने हो भने, उत्पादनका हिसाबमा जमिनको खनजोत उपभोग गर्ने कुरामा पहिले भन्दा बढी चासो बढ्यो ।

उत्पादनलाई बजारीकरण गर्ने कुरा, रासायनिक मलमा समस्या भएकै छ । कृषकले जति अपेक्षा गर्नु भएको छ त्यो अनुसार हुन सकेको छैन । होटेल व्यवसाय सबै बन्द हुँदा समस्या भएको हो ।

कृषि क्षेत्रमा परेको समस्या समाधानको लागि गाउँपालिकाले के कसरी काम गरिरहेको छ ?
हामीले समस्या समाधानको लागि प्रथमतः जनचेतनाको लागी छलफल चलायौँ, सचेत बनायौँ जनतलाई । विषम परिस्थितिमा पनि जमिन खालि हुनुहुँदैन भन्ने हाम्रो भनाई हो ।

भोलिका दिनमा जमिनको सदुपयोग भएन, व्यवस्थापन भएन भने भोकमरीको समस्या नआउला भन्न सकिन्न भनेर हामीले अभियान नै चलायौँ ।

अर्को कुरा, उत्पादन भएका कृषि उपजलाई बजार मात्र नहेरौँ, एउटा वडामा उत्पादन भएका कुरा अर्को वडामा त्यस्तै छिमेकी नगरपालिका र गाउँपालिका पनि लगेर भौतिक दुरी कायम गरेर बेच्न सकिन्छ कि भनेर हामीले छलफल गरिरहेका छौँ ।

कृषकहरूले सावधानी, सतर्कता अपनाएर काम गरुन् भन्नका लागि स्थानीय तहले निर्देशिका बनाउने, कार्य योजना बनाउने, कृषकहरूलाई सचेत गराउने जस्ता केही काम गरेको छ ?
तपाईँले भनेकै जस्तो हामीले सोचेका छौँ । यो महामारीको बिचमा पनि यसलाई व्यवस्थापन गर्ने यसको सामना गरेर अगाडी बढ्नै पर्छ ।

अर्थतन्त्र लाई कसरी टेवा पुर्‍याउने, सामाजिक दुरी र भौतिक दुरीलाई पनि कायम राखेर काम गर्ने विधि त्यसलाई छलफल, बहसका माध्यम बाट चलाई रहेका छौँ ।

हाम्रो अलिकति राम्रो पक्ष के छ भने, हाम्रो भौगोलिक बनोटले पनि कृषकले आफ्नो बारीमा उत्पादन गरेका कृषि उपज सङ्कलनका क्रममा भिडभाड नहुने भएकाले त्यस्तो समस्या छैन ।

तैपनि हामीले बेला बेला गोष्ठीको आयोजना गरी यो विषयमा कृषकलाई जानकारी दिई रहेका छौँ । र त्यस्तै खालको नीति पनि बनाउने विषयमा हामी छलफल गरिरहेका छौँ ।

रासयनिकमल, बिउ बिजन, यन्त्र जस्ता कृषिजन्य सामाग्रीको सहज उपलब्धताका लागि स्थानीय तहको भूमिका के हुन्छ ? यसमा स्थानीय तहले के कसरी काम गरिरहेको छ ?
पहिलो प्रथमतः रासायनिक मल भन्दा पनि कोन्ज्योसोम गाउँपालिका एउटा अर्ग्यानिक रूपमा गुरुयोजना बनाएर जाने भन्नेमा छ ।यसमा हामीले वार्षिक रूपमा कम्पोस्ट मल उत्पादन गरेर कृषकलाई बाँड्ने गर्छौ ।

रासायनिक मललाई हामीले त्यती धेरै प्राथमिकता दिएका छैनौँ ।

झोल मल बनाउने, कम्पोस्ट मल बनाउने, कम्पोस्ट मलको तालिम दिने गरिरहेका छौँ । ठुलो स्केलमा व्यावसायिक खेती गर्नेहरूको लागी चाही रासायनिक मलको लागी एउटा निकाय सम्म समन्वय गर्ने, सहकार्य गर्ने अनुदान दिने गरिरहेका छौँ ।

कोरोना भाइरसको बेला कृषि कार्य सुरक्षित भएर गर्न कृषक, स्थानीय तह लगायतलार्ई सचेत र जानकार बनाउन नागरिक समाज र आमसञ्चार माध्यमसँग कसरी सहकार्य गर्नु भएको छ ?

सबै क्षेत्रबाट राम्रो सहयोग सहकार्य भइरहेको छ । सञ्चार माध्यम बाट विभिन्न जनचेतना मूलक सन्देशहरू प्रसारण भईरहेका छन् । नागरिक समाज सँग आवश्यक सल्लाह सुझाव लिइरहेका छौँ । सबै क्षेत्रबाट राम्रो साथ पाएका छौँ । कोन्ज्योसोम गाउँपालिका सबै सँग मिलेर अघि बढ्न चाहन्छ ।