अण्डा भन्दा दानाको मूल्य दोब्बर हुदाँ अर्घाखाँचीका किसान विस्थापित हुँदै

May 11, 2019

रुद्रमणि भुसाल
बैशाख २८ अर्घाखाँची

सन्धिखर्क अण्डाको मूल्यमा निरन्तर गिरावट आएपछि कुखुरापालक किसान विस्थापित हुन थालेका छन्। दानाको मूल्य झण्डै ५० प्रतिशतले बढेको छ भने कुखुराको अण्डाको मूल्य आधा घटेको छ। अण्डा बिक्री गरेर दाना खरिद गर्ने अवस्था नभएपछि किसान विस्थापित भएका हुन् । यसले अण्डा र मासुमा आत्मनिर्भरताको अवस्थामा ह्रास ल्याउने देखिएको छ।

राज्यको कृषकमुखी नीति नहुँदा विदेशबाट फर्किएका युवाले सुरु गरेको कुखुरापालन व्यवसाय बन्द हुने अवस्थामा पुगेको छ। दानाकाे मुल्य बढ्दा कुखुरापालक कृषकलाई भन्दा बिचौलिया व्यपारीलाई फाइदा पुगेकाे छ भने कुखुरापालक कृषकहरू पेसा नै छाड्ने अवस्थामा पुगेका छन् ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर ७, अडगुरीका युवाले एक करोडको लगानीमा सुरु गरेको अण्डा उत्पादन व्यवसाय बन्द हुने अवस्थामा पुगेको हो । विदेशबाट फर्किएका चारजना युवासहित १० जनाले २०७१ सालबाट शिवालय पोल्टी फर्म दर्ता गरी सन्धिखर्क ४ को तीन थुप्रेमा सुरु गरेको अण्डा उत्पादन व्यवसाय चार वर्षपछि बन्द हुन लागेको फर्म सञ्चालक तारा दीपक न्यौपानेले बताउनुभयाे । कृषकले उत्पादन गरेको अण्डाको मूल्य घट्दै जानु र कुखुराको दानाको मूल्य बढ्नुले व्यवसाय घाटामा गएको हो ।

सालझण्डी, सन्धिखर्क, ढोरपाटन सडकनजिकै रहेको यस फर्ममा अहिले साना ठूला गरी ११ हजार लेयर्स कुखुरा छन् । ती फर्महरूबाट दैनिक ७ हजार अण्डा उत्पादन भइरहेको छ। तर, आम्दानी र खर्च हिसाब गर्दा मासिक सवा लाख घाटा हुने फर्मका व्यवस्थापक पदमबहादुर श्रेष्ठले जानकारी दिनुभयाे । भारतमा झण्डै १५ वर्ष बिताएका श्रेष्ठले गाउँमै उद्यम गर्ने सोच बनाए पनि सधैं घाटा जाँदा फेरि बिदेसिने सोच बनाएकाे बताउनुभयाे । श्रेष्ठ मात्र हैनन् कुखुरा पालेका १० जनानै अब पेसा परिवर्तन गर्ने अवस्थामा छन्।

'२०७१ सालमा कुखुरा राख्दा प्रतिबोरा दानाको मूल्य २१ सय थियो। अहिले ५ वर्षमा दानाको मूल्य बढेर ३२ सय पुगेको छ। अण्डा २०७१ सालमा सुरुमा हामीले २२ सय प्रतिकार्टुन बेचेका थियौं। अहिले घटेर १४ सयदेखि १७ सयमा झरेको छ। नाफाजति दानाले खाएपछि कसरी व्यवसाय गर्ने?' फर्मका सञ्चालन तारा दिपक न्यौपानेले भन्नुभयाे । 

सरकारले कृषिमा क्रान्ति गर्ने भनेर विभिन्न कार्यक्रम ल्याए पनि शिवालय पोल्टी फर्मले अहिलेसम्म केहि नपाएको फर्म सञ्चालक पुनाराम भुसालले गुनासाे गर्नुहुन्छ । पाणिनि ७, अडगुरीका वडा अध्यक्ष गुणखर अधिकारी, प्राविधिक उमानाथ पौडेल, ४ जना विदेशबाट फर्किएका युवा गरी १० जनाले सुरु गरेको पोल्टी व्यवसाय बन्द हुने अवस्थामा पुगेको हो।

खेती गर्ने कृषकलाई व्यपारीले दिने मूल्य र व्यपारीले उपभोक्तालाइ दिने मूल्य दोब्बर वा त्यो भन्दा बढी छ। ‘तरकारीको मूल्य निर्धारण छैन जुन व्यापारीले जतिमा मन लाग्यो त्यतीमा बिक्री गरेका छन्। यसको अनुगमन र मूल्य निर्धारण कसले गर्ने’, अर्का अगुवा कृषक जानका बन्जाडेले गुनासो गर्नुभयाे ।