अन्तर्राष्ट्रिय महिला दिवस : महिला विरुद्धको विभेद, हिंसा तथा दुर्ब्यवहार विरुद्ध 'म बोल्छु' अभियान (फोटो फिचर)

Mar 8, 2018

सन् १९११ देखि विश्वभर हरेक बर्ष मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आईएको छ । अन्तर्राष्ट्रिय महिला दिवस, आजका दिनमा महिलाहरुले हालसम्म हाँसिल गरेको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक उपलब्धीहरुको उत्सव मनाउने विश्वब्यापी अवसर हो भने लैंगिक समानताको सुनिश्चितताका निम्ति कार्य गर्ने आव्हान पनि हो । हालसालै ग्लोवल जेण्डर ग्याप रिपोर्टले विश्व आर्थिक मञ्च २०१७ मा प्रस्तुत गरेको प्रतिवेदनका अनुसार यदि हामी अहिलेकै गतिमा चलिरह्यौँ भने विश्वबाट लैंगिक असमानता हट्न अर्को २०० बर्ष लाग्ने देखिएको छ । तसर्थ विश्वभर लैंगिक समानताको गतिशिल कार्यान्वयन एवं यससम्बन्धि उपलब्धि हाँसिल गर्न सकारात्मक दवावको खाँचो छ । यसकै निम्ति अहिले विश्वभर लैंगिक समानतातर्फ प्रगति हाँसिल गर्न विभिन्न अभियानहरु समेत संचालन गरिएको छ । उदाहरणका लागि #MeToo, #TimesUp र #OneBillionRising जस्ता अभियानहरुलाई हामी हेर्न सक्दछौँ, जुन आफैमा तारिफयोग्य छन् । यसैक्रममा सन् २०१८ का लागि अन्तर्राष्ट्रिय महिला दिवसको नारा रहेको छ #PressForProgress अर्थात प्रगतिका लागि दवाव ।

नेपालको सन्दर्भमा हेर्ने हो भने पनि राष्ट्रिय जनसांख्यिकीय र स्वास्थ्य सर्वेक्षण (National Demographic and Health Survey-NDHS), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को मानव अधिकार बर्ष पुस्तक वा नेपाल प्रहरीको घटना रिपोर्टको तथ्याङ्कले नेपालमा महिलामाथिको विभेद, असमानता, दुर्ब्यवहार र हिंसाको यस्तो गंभीर वास्तविकतालाई संकेत गर्दछ कि नेपालमा लैंगिक समानता कामय गर्ने सपना अँझै एकदमै टाढा नै छ । हरेक दिन अखबारका पानाहरुमा महिलामाथि भएका हिंसा र दुर्व्यवहारका समाचारहरु प्रसस्तै भेटिन्छन् । यद्यपि पछिल्ला दिनहरुमा भइरहेको कानुनी सुधारको सकारात्मक पक्षलाई पनि भुल्नुहुँदैन तरपनि नेपालमा महिला माथि भएका हिंसा तथा दुर्व्यवहारका घटनाहरु हेर्दा फराकिलो खाडल र भेदभावपुर्ण अभ्यासहरुले लैंगिक समानता प्राप्त गर्न त्यति सजिलो भने छैन । 

कानुनी सुधार र सामाजिक चेतनाका यी सबै प्रयासहरु यो देशलाई महिला र बालबालिकाको लागि सुरक्षित स्थान बनाउनका लागि नै हो र यसलाई निरन्तरता दिनुपर्छ । नेपालले नीति, समुदाय र पारिवारिक स्तरमा प्रगतिका लागि दवाव दिन महत्वपुर्ण प्रयासको अँझै आवश्यकता छ ।

यसै क्रममा पारस्परिक जवाफदेहिता कार्यक्रमले पनि अन्तर्राष्ट्रिय महिला दिवसलाई उत्सवका रुपमा लिंदै यसलाई अभियानका रुपमा मनाएर समुदायलाई लैंगिक समानताको दृष्टिकोणबाट सोच्न तथा सोही अनुसारको ब्यक्तिगत एवं सामुहिक ब्यवहार प्रदर्शन गर्न आव्हान गर्ने योजना बनाई सोही अनुसार काम गरेको छ । त्यसका लागि सामाजिक संजाल तथा अन्य संचारमाध्यमको समेत उपयोग गर्दै ब्यक्तिगत तथा समुहगत रुपमा महिला माथि हुने कुनैपनि प्रकारका विभेद, हिंसा, दुर्व्यवहार तथा विभेदकारी सामाजिक कार्यविरुद्धको नागरिक ऐक्यवद्धता एवं प्रतिवद्धता स्वरुप एउटा शशक्त अभियान ‘म बोल्छु’ #MaBolchhu सुरु गरिएको छ ।

पारस्परिक जवाफदेहिता कार्यक्रमले यस अघि गत सेप्टेम्बर महिनामा निकै सफलताका साथ सम्पन्न गरेको ‘भ्रष्ट्राचार विरुद्धको नागरिक एकता: म खाँदिन’ अभियानकै स्वरुप र संरचनामा रहेर त्यसकै निम्ति संचालन गरिएको फेसबुक पेजलाई यो अभियानप्रतिको ऐक्यवद्धता स्वरुप दुई हप्ता (फेब्रुअरी-२६ देखि मार्च ११)सम्म ‘म बोल्छु #MaBolchhu’ अभियानका रुपमा रुपान्तरण गरिएको छ । सामाजिक संजाल फेसबुकमा यो अभियानका बारेमा निकै राम्रोसंग बहस तथा छलफल समेत भईरहेको छ ।

अभियानकै शिलशिलामा मार्च ७ अर्थात फागुन २३ गते बुधबार संघिय राजधानी काठमाण्डौँमा आयोजित ‘नेतृत्वमा महिला: अवसर र चुनौतीहरु विषयमा केही प्रेरणादायी महिलाहरुका ब्यक्तिगत संघर्षका कथाहरु सुन्ने कार्यक्रम सम्पन्न भयो । राजनितिकर्मी सिता गिरी, सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झा, अभिनेत्री रेखा थापा, तेश्रोलिंगी अधिकारकर्मी पिंकी गुरुङ एवं सामाजिक अभियानकर्मी तथा एचआईभी नियन्त्रण अभियन्ता मथुरा कुँवरले सो अवसरमा आआफ्ना संघर्षका कथाहरु सुनाउनुभयो । सोही कार्यक्रमका केही तस्विरहरु यहाँ राखिएको छ।

तस्विरहरु :