अमरगढी नगरपालिकाको वडा नम्बर १० राइद्वारा बर्थिङ सेन्टरका सामाग्री हस्तान्तरण

डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १० को वडा कार्यालयले सहस्त्रलिङ्ग स्वास्थ्य चौकी, राइलाई बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख विश्वेश्वरप्रसाद ओझा र वडाध्यक्ष बिष्णु भट्टले संयुक्त रुपमा सो सामग्री स्वास्थ्य चौकी प्रमुख हेल्थ असिस्टेन्ट नविन नेपालीलाई हस्तान्तरण गरेका हुन ।
बर्थिङ सेन्टरमा आवश्यक पर्ने डेलिभरी बेड, पेरिलाईट, फ्रिज, इलेक्ट्रिकल डप्लर र स्टेचर लगायत करिब डेढ लाख रकम बराबरका विभिन्न सामाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष भट्टले बताएका छन । बर्थिङ सेन्टरका लागि वडा कार्यालयबाट छुट्टयाएको रकमबाट सो सामाग्रीहरु खरिद गरि हस्तान्तरण गरिएको बताइएको छ ।
बिगत ५–६ बर्षदेखि सञ्चालित बर्थिङ सेन्टरमा आवश्यक पर्ने सामग्री लगायत स्वास्थ्यकर्मीहरुको अब कुनै पनि अभाव नरहेको स्वास्थ्यचौकी प्रमुख नेपालीको भनाई छ ।
यसैबीच सोही कार्यक्रममा १०, ११ र १ नम्बर वडाका सुनौला हजार दिनका ३० जना आमाहरुलाई च्याउको बिउ समेत बितरण गरिएको छ । अमरगढी नगर कार्यपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत कृषि शाखाका कृषि प्रसार अधिकृत टेक बहादुर बिष्टका अनुसार उनीहरुलाई २ सय प्याकेट च्याउको बिउ सहित ब्याड (च्याउ उत्पादन गर्नका लागि आवश्यक पर्ने प्लास्टिक थैली) बितरण गरिएको हो ।
बढी च्याउ उत्पादन गर्न चाहने आमाहरुको मागका आधारमा न्यनतम २ देखि अधिकतम १५ प्याकेट सम्म च्याउको बिउ बितरण गरिएको कृषि प्रसार अधिकृत बिष्टको भनाई छ । साथै सुनौला हजार दिनका ३० जना आमाहरुलाई १ दिने तालिम समेत दिइएको छ ।