जनप्रतिनिधि र जनसमुदायबीच अन्तरक्रिया

Mar 9, 2019

भक्तपुर, फागुन २५

मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल र गुण्डू रेडियो श्रोता क्लबले शनिवार सूर्यविनायक नगरपालिका वडा नं. ७ ( गुण्डू) मा लैङ्गिक समनताका लागि ‘समान सोच र व्यवहार समृद्धिको आधार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा १०९ औं अन्तर्रा्ष्ट्रिय महिला दिवस र सूर्यविनायक नगरपालिकाको समग्र विकास निर्माणको सम्बन्धमा स्थानीय र जनप्रतिनिधि लगायतका सरोकारवालासँग प्रत्यक्ष सूर्यविनायक गरिएको थियो ।

गुण्डु रेडियो श्रोता क्लबका संयोजक गणेश वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरको प्रमुख आतिथ्यता, सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा विशेष आतिथ्यता, वडा सदस्य लक्ष्मी परियार, मानविय आस्था नेपालका कार्यक्रम संयोजक जयराम वाग्ले, भैरबी आधारभूत सामुदायिक विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेत करिब ६ दर्जन भन्दा बढी स्थानीय सर्वसाधारण, बुद्धिजिवी, नागरिक समाजका अगुवा, सञ्चारकर्मीलगायत प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो ।

करिब दुई घण्टा भन्दा बढी स्थानीय जनसमुदायले पारस्पारिक जवाफदेहिता, विधिको शासन, मानव अधिकार, स्थानीय सरकारले प्रदान गर्ने सेवा, योजना, सुशासन, पारदर्शिता र जवाफदेहिताका सवालमा सञ्चार माध्यमको भूमिकाका विषयमा जनप्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तुपरका उपप्रमुख सरीता कुँवरले समुदायले महिलाप्रति गरिने व्यवहारमा जत्ति मात्रामा परिवर्तन आउनुपर्ने हो साे अनुपातमा आउन नसकेकाले समाज गुणात्मक रुपमा परिवर्तन हुन नसकेकोमा चिन्ता प्रकट गर्नुभयो ।

उहाँले विकास निर्माणमा महिलाको प्रत्यक्ष संलग्नता हुँदा कामले तिब्रता पाउने भएकाले विकास निर्माण र सामाजिक जवाफदेयिताका विषयमा स्थानीय सरकारसँग पहुँच राख्न सहभागीलाई आग्रह गर्नुभयो । सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले सूर्यविनायक नगरपालिकाले विकास निर्माणको काममा गुणत्मक प्रगति गर्दै आएको बताउनुभयो । विकास निर्माणको काममा यसैगरी नै खबरदारी गर्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

मानवीय आस्था नेपालका कार्यक्रम संयोजक जयराम वाग्ले, भैरबी आधारभूत विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेत, गुण्डू रेडियो श्रोता क्बलका संयोजक गणेश वाग्ले, सामाजिक अनुसन्धान कर्ता अप्सरा भुर्तेल लगायतले महिला जागरुक हुँदा मात्र विकास निर्माणको कामले गति लिने धारणा राख्नुभयो ।