अपांगमैत्री विद्यालय संरचना नहुँदा अपांगता भएका बालबालिकाहरुलाई पठनपाठनमा असहज

Jan 4, 2021


जयराज अवस्थी 

बैतडी,  पुष २०

बैतडीमा अपांगमैत्री विद्यालय संरचना नहुँदा अपांगता भएका बालबालिकाहरुलाई पठनपाठनमा असहज भएको छ । जिल्लामा अपांगमैत्री विद्यालय संरचना नहुँदा अपांगता भएका बालबालिकाहरु विद्यालय बाहिरै रहेको अनुमान गरिएको छ । जिल्लामा अपांगता भएका विद्यार्थीहरु कति छन् भन्ने यकिन तथ्यांक समेत नभएको शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो ।

जिल्लामा ५६२ सामुदायिक विद्यालय रहेका भएपनि अपांगमैत्री संरचना भने नभएका उहाँले बताउनुभयो । अपांगता भएका विद्यार्थीहरुका लागि अपांगमैत्री संरचना नहुँदा उनीहरुले शिक्षा ग्रहण गर्न नपाएको जिल्ला अपांग संघ बैतडीका उपाध्यक्ष लक्ष्मी बिष्टले बताउनुभयो । अपांगता भएका विद्यार्थीहरुका लागि स्थानीय सरकारहरुले पनि खासै कार्यक्रम ल्याउन नसकेका उहाँले गुनासो गर्नुभयो । अपांगता भएका विद्यार्थीहरुलाई छात्रवृति दिने गरिएको भएपनि एकीन तथ्यांक भने नरहेको स्थानीय तहहरुले जनाएका छन् । विद्यालयबाट प्राप्त तथ्यांकका आधारमा छात्रवृति प्रदान गरिने गरिएको मेलौली नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश भट्टले जानकारी दिनुभयो ।

'क' वर्गका अपांगता भएका विद्यार्थीहरुका लागि अलगै संरचनामा पढाई हुनुपर्ने भएपनि त्यस्ता संरचनाहरुको अभाव रहेको उहाँले बताउनुभयो । अपांगता भएका बालबालिकाहरुका शिक्षामा पहुँच पुर्याउन अलगै कार्यक्रम ल्याउनुपर्ने यो क्षेत्रमा काम गर्नेहरुको भनाई छ । संविधानमै सबैलाई शिक्षामा पहुँच हुनुपर्ने कुरा उल्लेख भएको भएपनि अपांगता भएका बालबालिकाहरु कुनै न कुनै रुपमा विद्यालय बाहिर रहेको अपांगता भएका नागरिकको पुनर्स्थापना केन्द्रका अध्यक्ष अम्बादत्त भट्टले जानकारी दिनुभयो ।