अति विपन्न परिवारको नि:शुल्क स्वास्थ्य बिमा


रामेछाप, माघ २७

गरीबीको सुचीमा परेको घरपरिवारको नि:शुल्क स्वास्थ्य विमा हुने भएको छ ।

नेपाल सरकारमार्फत पहिचान गरिएका गरिब परिवारलाई अति, मध्यम र सीमान्तकृत गरी तीन समूहमा वर्गीकरण गरिएको छ । अति गरीब घरपरिवार अर्थात रातो कार्ड पाउने घरपरिवारलाई नि:शुल्क स्वास्थ्य विमा गरिने नेपाल सरकार स्वास्थ्य विमा बोर्ड रामेछापको दर्ता अधिकारी यज्ञराज ढुङगेलले बताउनुभएको छ।

गरिब घरपरिवार परिचयपत्र समन्वय बोर्डले विभिन्न २५ जिल्लाको जनसांख्यिक तथा मानवीय अवस्था, घरको अवस्था, घरको सुविधा, घरको सम्पत्ति, भौगोलिक स्थिति र जातजातिगत गरिबीको अवस्थालगायत विभिन्न १८ सूचक र उपसूचकहरूका आधारमा १२ लाख २४ हजार ४ सय १७ परिवारमध्ये ३ लाख ९१ हजार ९ सय ३१ घरपरिवारलाई गरिब पहिचान गरेको थियो ।

अहिले रामेछाप जिल्लाको ६ गाउँपालिका र २ नगरपालिकाको वडामार्फत गरिब घरपरिचयपत्र वितरण भइरहेकोे छ भने कतिपय वडाले वितरण गरिसकेको छ ।

सरकारले रातो, पहेलो र निलो गरी क्रमश अति गरिव, मध्यम र सामन्य गरीब गरी तीन भागमा बर्गीकरण गरेको छ । सोही मध्ये गुणस्तरीय स्वास्थ्य सेवाको लागि नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रममा सामान्य नागरिकले ५ जनाको परिवार सङख्या बराबर २५ सय रुपैयाँ तिरेर पाउने स्वास्थ्य सुविधा अति गरिव घरपरिवारको सुचीमा परेको परिवारले भने नि:शुल्क स्वास्थ्य विमा गरी वार्षिक ५० हजार रुपैयाँको स्वास्थ्य सेवा लिन सक्नेछन् ।

नेपाल सरकारले हाल नेपालको ३८ जिल्लामा यो कार्यक्रम लागु गरेको छ । रामेछापमा १ वर्षको अवधिमा २५ सय भन्दा बढी घरपरिवारले स्वास्थ्य विमा गरिसकेको स्वास्थ्य विमा बोर्ड रामेछापले जानकारी दिएको छ ।