समान काम तर महिला भएकै कारणले असमान ज्याला

Mar 8, 2021

रजनी याेगी, दैलेख

१११ औ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा दैलेख बजारमा आयोजित अवसर र चुनौती विषयक बृहत् अन्र्तक्रिया कार्यक्रममा महिलाहरुले आफुले भाेगेकाे बेदना पोखेका छन् । महिला भएकै कारणाले समान काम तर असमान ज्याला पाउने गरेको एक कार्यक्रममा दैलेखका सहभागी महिलाहरुले बताएका छन् । काम समान हुने तर ज्यालामा बिभेद यो कस्तो नियम हो भन्दै उनीहरु आक्रोशित समेत बनेका थिए ।


१११ औ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा दैलेख बजारमा आयोजित अवसर र चुनौती विषयक बृहत् अन्र्तक्रिया कार्यक्रममा महिलाहरुले आफ्नो बेदना पोखेका हुन् । अन्तराष्ट्रिय महिला दिवसको अबसरमा सुन्दर नेपाल संस्थाको सहयोग तथा समन्वयमा नारायण नगरपालिकाद्धारा आयोजित श्रमिक महिलाका सवालमा अबसर र चुनौती विषयक एक अन्तरक्रियामा महिलाहरुले आफूले धेरै स्थानमा मजदुरी गर्दा समान ज्यालाको कुरा उठाए पनि कसैले मतलब नगरेको गुनासो गरेका छन् ।


बालकुमारी सुनार नारायण नगरपालिका–१ स्थित नमुना बस्तीमा बसोबास गर्नु हुन्छ । उहाँले सदरमुकाममा मालवाहक सवारी साधनमा सामान लोड अनलोड गर्ने काम गर्दै आफ्नो दिनचर्या बिताउनु भएको छ । दिनभरि दुःख गरेर कमाएको धेरथोर पैसा बालकुमारीले छोराछोरी पढाउन, घरखर्च चलाउन खर्च गर्नु हुन्छ । ‘बिहान ६ बजेदेखि मध्यरातीसम्म सामान लोड अनलोड गर्ने काम गर्नुपर्छ, कामको पछि दोडिँदा पेटभरी खान र छोरा छोरीको हेरचाहा गर्ने समय पनि मिल्दैन् तर पुरुष सरह ज्याला कहिल्यै पाइन्,’ उहाँले दुखेसो पोख्नु भयो । आफुले एक बोरो सिमेन्ट बोकेको १० रुपैयाँ पाउने गरेको उहाँले बताउँनु भयो ।

उहाँजस्तै पवित्रा बादीको दैनिकी ज्यालादारीमा काम गरेरै बित्छ । मजदुरी देखि विकास निर्माणका काममा समेत महिलाहरुले पुरुष भन्दा कम ज्याला पाउने उहाँको भनाई छ । ‘घर ढलानको काममा पुरुषहरु र हामीले गर्ने काम एउटै हो तर पुरुषहरुले एक हजार रुपैयाँ पाउनुहुन्छ, हामीले पाँच सय रुपैयाँ पाउँछौ, काम बराबरी भएपनि ज्याला कम पाउँदा महिलाहरु विभेदमा परिरहेका छन्,’ पवित्रा भन्नुहुन्छ ‘काम एउटै भएपनि ज्याला फरक हुँदा हाम्रो श्रमको सम्मान भएन् ।’ पुरुषहरुसँगै काम गर्न जाँदा आफुहरुलाई होच्याउने गरिएको समेत उहाँको अनुभव छ । काम गर्ने क्रममा पुरुषले भन्दा महिलाले बढी दुःख पाउने उहाँको दाबी छ । कतिपय महिलाहरु सुत्केरी भएको १० दिन नबित्दै मजदुरी गर्न बाध्य भएपनि समान ज्याला नपाउँदा मर्कामा परेको स्थानीय सिता विक बताउँनु हुन्छ ।


उनिहरुजस्तै यहाँका महिलाहरुले समान काम गरेपनि आफुहरुमाथी ज्यालामा विभेद भईरहेको गुनासो गरेका छन् । महिला र पुरुषहरुले गर्ने काम एउटै भए पनि ज्यालामा फरक रहेको, सरकारले समेत श्रम शोषण गरिरहेको स्थानीय कमला बादीको भनाई छ । कमला बाल शिक्षा सहयोगी कार्यकर्ता हुनुहुन्छ । कमलाले साना बालबालिकालाई पढाए बापत मासिक ६ हजार रुपैयाँ पाउँनु हुन्छ । ‘अहिले पाईरहेको पारिश्रमिकले घर खर्च समेत चलाउने पुग्दैन्,’ उहाँले भन्नु भयो ् ‘हामी गरेको श्रमको न्यूनतम ज्याला कहिले पाउने ?’


समान ज्याला नहुँदा महिलाहरु मर्कामा परिरहेको अधिकारकर्मी रमा श्रेष्ठले बताउनु हुन्छ । ‘महिलाहरुको घरमा गरेको कामको मुल्यांकन हुँदैन्, महिला र पुरुष कामदारबीच समान ज्याला छैन्,’ उहाँ भन्नु हुन्छ । राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी राजमार्ग निर्माणमा मजदुरी गर्ने महिला कामदार र पुरुष कामदारबीच समान ज्याला नभएको उहाँको भनाई छ । समान ज्याला, रोजगारी सृजना र श्रमिक महिलाहरुको अधिकार सुनिश्चित गर्न स्थानीय तहले पहल गर्नुपर्ने उहाँको भनाई छ । दैलेखका महिलाहरु दैनिक १७ घण्टा काम गर्दै आएका छन् । कार्यक्रममा नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, सामाजिक विकास कार्यालयका प्रमुख झलक प्रसाद कोइराला, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनीधि,पत्रकार तथा श्रमिक महिलाहरुको उपस्थिती रहेको थियो ।