अपागंता भएकालाई घरमै नागरिकता र शिक्षाको व्यवस्था

Jan 12, 2019

जयराज अवस्थी

बैतडी, पुस २८

बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ देहीकाण्डौ की २२ बर्षीय हिरा बोहरालाई शुत्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ । अपांगता भएका बोहरालाई प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको हो ।

अपांगता भएकी हिरा हिडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी गैरले बताउनुभयो । अपांगता भएकी छोरीलाई घरमै प्रमुख जिल्ला अधिकारी पुगेर नागरिकता प्रदान गरेकोमा निकै खुसी लागेको हीराका बुवा पूर्ण बोहराले बताउनुभयो ।

जेठी छोरीलाई घरमै पुगेर नागरिकता प्रदान गर्दा केही सहयोग पुग्ने आशा गरेको उहाँले बताउनुभयो । नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि आफू निकै खुसी भएको हिरा बोहराले बताउनुभयो ।

पठनपाठनका लागि घरमै शिक्षकको व्यवस्था
यसैबीच पूर्णबहादुर बोहराका अपांगता भएका दुईछोरीको पठनपाठनका लागि घरमै शिक्षकको व्यवस्था पनि गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ बैतडी, दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालय र निङ्गलाशैनी विद्यालय व्यवस्थापन समितिको समन्वयमा घरमै शिक्षकको व्यवस्था गरिएको वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताउनुभयो ।

हिरा र करिश्मालाई दैनिक दुई घण्टा घरमै पढाउने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । करीश्मालाई कक्षा १० को र हिरालाई कक्षा ५ को कोर्स घरमै पढाउने व्यवस्था गरिएको बताइएको छ । आफुहरुलाइ पढ्ने ठुलो धोको रहेकोले आज आएर घरमै पढ्न पाउदा निकै खुसी भएको करीश्मा बोहराले बताउनुभयो ।

संविधानमै शिक्षाबाट कोही पनि वञ्चित नहुनुपर्ने उल्लेख भएकाले उनीहरुका लागि घरमै शिक्षाको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो ।

पुर्णबहादुर बोहराका ४ छोराछोरीमध्ये ३ छोराछोरीहरु अपांगता भएका छन् । जसमा १० बर्षिय जयन्त बोहरा, १५ बर्षिया करीश्मा बोहरा र २२ बर्षिया हीरा बोहरा रहेका छन् ।