अछाममा बाली बीमा शून्य

Oct 9, 2018


गीता कुवँर

अछाम, असाेज २३
अछाम जिल्लामा बाली बीमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । सरकारले २०६९ साल माघमा किसानहरुलाई लक्षित गरेर बाली बीमा कार्यक्रम ल्याएको भएपनि यसको बारेमा किसानहरुले नबुझ्दा जिल्लामा अहिले सम्म एकजना किसानले पनि बाली बीमा गरेको छैनन् ।


जिल्लाको करिब ९० प्रतिशत जनसंख्या कृषिमा आधारित भएपनि अहिलेसम्म बाली बीमा गर्नेको कृषकको सख्या भने शुन्य रहेको छ । व्यवसायिक रुपमा कृषिमा लागेका किसानहरुलाई ७५ प्रतिशत अनुदानमा बाली बीमा गर्ने सरकारको नीति भएपनि जिल्लामा अहिले सम्म कुनै किसानले बालीबिमा नगरेको कृषि ज्ञान केन्द्र अछामले जनाएको छ । कृषकको क्षति जोखिम कम गर्न कृषि बिमांक रकमको ७५ प्रतिशत सरकारले र २५ प्रतिशत रकम कृषकले व्यहार्ने गरी ७ वर्ष अघिबाट जिल्लामा कृषिबिमा कार्यक्रम सुरु भएको हो । हरेक बर्ष तरकारीबालीमा मात्रै नभएर गहुँबाली पनि असीनाले नष्ट गरेपछि किसानहरुले ठुलो क्षति ब्यहोर्नु परिरहेको छ ।

जिल्ला कृषि ज्ञानकेन्द्रले संकलन गरेको तथ्यांक अनुसार यो बर्ष असिनापानीका कारण तरकारी र गहुबालीमा करीब १२ करोड रुपैयाँ बराबरको क्षति भएको छ । तंथ्याक अनुसार जिल्लाका दश स्थानीयतहहरु मध्ये असिनापानीले सबै भन्दा बढी मंगलसेन नगरपालिकामा १ करोड २० लाख ६४ हजार ५ सय ५० बराबरको क्षति गरेको छ भने सबै भन्दा कम तुर्माखाद गाउँपालिकामा ३९ लाख ९७ हजार १ सय बराबरको तरकारी र गहुबालीमा क्षति पु्याएको छ ।

किसानहरुले लगाएको बालीमा बर्षेनी ठुलो मात्रामा क्षति पुगेपनी राहत पाउन सकेका छैनन् । असिनापानीले बर्षेनी गहुँ र तरकारीबाली नोक्सान गर्दे आएको र बाली बीमाका बारेमा आफूहरुलाई खासै जानकारी नभएको साफेँबगर नगरपालिका–३का कृषक मंगलादेबि कुँवरले बताउनु भयो । उहाँले भन्नु भयो ‘यो बर्ष असिनापानीले गहु र तरकारीबालीमा ठुलै क्षति गर्यो , त्यसको हिसाब किताब नै छैन , बाली बीमा गर्दा अपनाउनुपर्ने प्रक्रिया, बीमा कम्पनी लगायतका बिषयमा हामीलाई केही पनि थाहा छैन । त्यसैले हामीले बाली बीमा गर्न सकिरहेका छैनौं । प्राकृतिक प्रकोप, रोगकीराको प्रकोपले बालीनाली क्षति पु¥याउँदा क्षतिपूर्ती पाइने भए त हामी बालीबीमा गथ्र्यौ नि । बर्षेनी असिनापानीले बाली नोक्सान गर्ने गरेको छ ।

’यहाँका कृषकहरुलाई बाली बीमाको भनेको के हो भनेर थाहाँ नै नभएको साँफेबगर नगरपालिकाका–७ रिडिकोटका अध्यक्ष मिठ्ठु भाटले बताउनु भयो । उहाँले भन्नु भयो ‘सरकारले अघि सारेको बिमा कार्यक्रम राम्रो भएर पनि प्रचार–प्रसारमा कमी, कृषकमा बिमाबारे जानकारी नभएर,क्षतिपछिको बीमा रकम पाउँन झन्झटिलो प्रक्रिया, बिमा कम्पनीका कर्मचारी र कृषिका प्राबिधिकहरु भौगोलिक विकटता देखाएर कृषक समक्ष नपुगेका कारण बिमा कार्यक्रम प्रभावकारी हुन नसकेको छैन ।’ आफ्नो वडाको सबै कृषकको बाली बीमाका लागी पहल गर्दा कृषिबाट प्राबिधिकहरु नआईदिदा बाली बीमा हुन नसकेको बताउनु भयो ।

जिल्लाभर कृषि तथा पशुपंक्षी बिमा गर्ने–गराउने स्वीकृत प्राप्त युनाइटेड इन्स्योरेन्स कम्पनीको तथ्याङ्क अनुसार बाली बीमा गर्नेको सख्या शुन्य छ भने ६ लाख ५६ हजार १ सय ७५ रकम बराबरको पशु बीमा गरिएको छ । ईन्स्योरेन्स कम्पनीका प्रेमराज रेग्मीले भने ‘बाली बीमा शुन्य छ , पशु बीमामा केहिको आकर्षण देखिएको छ , ९ सय वटा बाख्रा र ५० वटा भैसीको बीमा गरिएको छ ,ठाउँठाउँमा एजेन्ट राखेका छौ तर बाली बीमा गर्न कोहि पनी आउदैनन् ,बीमा गर्नुदिनु प¥यो भनेर आउने कृषकका घरमा भौगोलिक बिकटताको कारण देखाउँदै लागत उठाउन कृषिका प्राबिधिकहरु जान मान्दैनन् ,यसमा चासो चिन्ताको बिषय कसैको पनी देखिएन ।’


बाली बीमा अन्र्तगत सरकारले असीना, खडेरी, सुख्खा, रोगकीराको प्रकोप भएर बालीनालीमा क्षति पुगेमा किसानलाई बढीमा ९० प्रतिशत सम्म क्षतिपूर्ती दिने व्यवस्था गरेको साँफेबगर नगरपालिका कृषि सेवा केन्द्रका नायब प्राबिधिक सहायक सुरेन्द्र कँुवरले जानकारी दिनु भयो । उहाँले भन्नु भयो ‘नेपाल कृषिप्रधान देश भएकाले अछाम पनि कृषिको उर्वर क्षेत्रका रुपमा पहिचान बनाउदै आएकोले हरेक बर्ष विभिन्न कारणले किसानको बाली क्षति हुने गरको छ , बालीबिमा नगरेकै कारण किसानहरुले बर्षेनी हजारौं रुपैंयाको क्षति बेर्होदा समेत क्षतिपूर्ती पाउन सकेका छैनन् । यसले गर्दा व्यवसायिक रुपमा कृषि गरिरहेका किसानहरुलाई समस्या समेत भएको छ ।’

व्यवसायीक रुपमा कृषि पेशामा आवद्ध किसानहरुलाई बाली बीमाका बारेमा बुझाउन सकिए बालीनालीबाट हुने क्षतिको न्यूनीकरण गर्न सकिने कृषि ज्ञान केन्द्रका अछामका प्रमुख बिष्णुहरी देवकोटाले बताउनु भयो ।‘कृषिकहरुमा बीमा सम्बन्धी सचेतना अभिवृद्धि गरी इच्छाशक्ति बढाउनु पर्ने क्षतिपूर्ति दाबी गर्ने प्रक्रिया सजिलो बनाउनु पर्ने र प्रचार प्रसारमा अभियान सञ्चालन गर्नुपर्छ उहाँले भन्नु भयो बाली बीमाका बारेमा किसानहरुलाई थाहा नै छैन् । थाहा भएकाहरुले पनि नजिक बिमा कम्पनी नहुँदा बाली बिमा गर्न सकिरहेका छैनन् ।’ सबै भन्दा बीमाको बारेमा प्रचारप्रसारको नै कमी छ ।’ कृषि बालीको अवधि छोटो हुने भएकाले बीमा लागतको आधारमा नभई उत्पादनको आधारमा बीमा गर्नु पर्ने र हरेक नगर र गाउँपालिका स्तरमा बिमा यूनिट राख्ने व्यवस्था मिलाए मात्र बीमा कार्यक्रम प्रभावकारी बनाउन सकिने देवकोटाको भनाई छ । जिल्लामा बाली बीमाको बारेमा कृषकहरुलाई सचेतना जगाउने र बिमा गर्ने प्रकृयाका बारेमा जानकारी गराउने कुनै पनी कृयाकलापहरु सम्बन्धीत निकायबाट हुन सकेको छैन ।