‘अध्ययन बिना पत्रकारिता असम्भव’

Mar 16, 2019

प्रविर ददेल
काठमाडाै, चैत ३ 

अध्ययन बिना पत्रकारिता असम्भव हुने नेपालका बरिष्ठ पत्रकारहरुले जनाएका छन् । इक्वल एक्सेसले आयोजना गरेको खोज पत्रकारिता अवलोकन अध्ययन भ्रमणको क्रममा नेपालका बरिष्ठ पत्रकार तथा नेपालका ठुला सञ्चार गृहका प्रकाशक तथा सम्पादकहरुले यस्तो धारणा राखेका हुन् ।

खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेका अनुसार नपढेर गरिने पेशा व्यवसाय पनि छन, तर दक्ष पत्रकार बन्न पढ्नै पर्ने बताए ।’ उनले भने, ‘कि त पत्रकारिता त्यागौ, हैन भने पढ्नुको बिकल्प छैन् ।’

अन्नपूर्ण दैनिकका प्रधान सम्पादक हरिबहादुर थापाले ‘सञ्चार गृहमा दक्ष पत्रकारको आवश्यकता रहेको भन्दै पेशामा निखार ल्याउन आग्रह गरेका छन् ।’ पछिल्लो समयमा कपीपेष्ट पत्रकारिता बढेको भन्दै खोज तथा अनुसन्धानमूलका लागि तयार हुन पत्रकारलाई आग्रह गरेका छन् । पत्रकारितामा सूचना संकलन तथा भण्डारणको उतिकै महत्व हुने भएका कारण सूचनाको सुरक्षा गनुपर्ने धारणा प्रधान सम्पादक थापाको रहेको छ ।

पत्रकार पेशा आफैमा खोजको विषय भएपनि कुनै पनि घटनाको गहन रुपमा खोज तथा अनुसन्धान हुन नसकेको कान्तिपुर दैनिकका समाचार सम्पादक श्रीश भण्डारीले जानकारी दिएका छन् । उनले भने, ‘पत्रकारहरुले काम र तलब नपाएको गुनासो सुनिन्छ, तर सञ्चार गृहहरु काम गर्ने दक्ष पत्रकार नभएर हैरानी भएका छन् ।’ उनले थपे ‘दक्ष पत्रकारलाई सञ्चार गहृमा तानातन भएको छ।’

हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले खोज पत्रकारिताले पत्रकारको ओझलाई बढाउनुको साथै पेशामा निखारता ल्याउने भन्दै खोज अनुसन्धानमा लाग्न आग्रह गरेका छन् । खोज तथा अनुसन्धानको पहिलो शर्त अध्ययन नै भएको भन्दै अध्ययनविना खोज अनुसन्धान सम्भव नहुने सम्पादक नेपालले बताए ।

बाह्रखरी डिजिटल पत्रिकाका प्रधान सम्पादक प्रतिक प्रधानले ‘पछिल्लो समय अध्ययन बीनाको पत्रकार मौलाउँदै गएका कारण पत्रकार जानकार हुनुपर्ने बताएका छन् ।’ उनले भने, ‘शिक्षकले शिक्षक सेवाको बारेमा र स्वास्थ्यकर्मीले स्वास्थ्यको बारेमा बुझे पुग्ला, तर पत्रकारले नेपालका सबै नीति नियम र कानूनको बारेमा अपडेट हुनुपर्दछ ।’

‘पत्रकार–शिक्षकलाई थाहा हुनैपर्दछ’
पत्रकार र शिक्षकलाई थाहा छैनन भन्ने छुट नभएको नागरिक दैनिकका विचार पेज संयोजक रघुनाथ लामिछाने बताएका छन् । खोज पत्रकारिता अध्ययन भ्रमणको क्रममा नागरिक दैनिकको कार्यालय काठमाडाैस्थित सुन्धारा पुगेका पत्रकारहरुसँगको छलफलमा यस्तो धारणा राखेका हुन् । ‘विश्वमा अन्य पेशा व्यवसायमा रहेका मान्छेहरुलाई थाहा नपाउन पनि सक्छन, तर पत्रकार र शिक्षकले थाहा छैनन भन्न छुट नहुँने भन्दै अध्ययनलाई वढाउन सुझाव दिएका छन् ।

अध्ययन विना नै गरिने पत्रकारिताले पेशाको ओझ घटेको भन्दै पेशामा निखारता ल्याउन पढ्नुको विकल्प नभएको संयोजक लामिछानेले प्रष्ट पारे । ‘पत्रकरलाई सबै किसिमको ज्ञानको आवश्यकता पर्दछ, त्यसैले सबै कुरामा जानकार हुनुपर्दछ संयोजक लामिछानेले बताए ।’ उनका अनुसार–‘पत्रिकाको कार्यालयमा विभिन्न (विधा) आर्थिक, राजनीतिक, सामाजिक, कला, खेलकुद, मनोरञ्जन जस्ता विषय विज्ञको छुट्टा–छुटै व्यवस्था भएपनि जिल्ला संवाददाताले सबै क्षेत्रको रिर्पोटिङ गर्ने भएका कारण आधारभुत ज्ञानको आवश्यकता रहेको बताएका छन् ।’ उनले थपे, ‘समाचारलाई मिठो र ओझपूर्ण बनाउन समाचार लेखन र सम्पादनमा भाषा, प्ररस्तुतीकरण र विषयवस्तुको समायोजन हुनुपर्दछ ।’

व्यवस्थित कान्तिपुर
कान्तिपुर दैनिक व्यवस्थित रहेको छ । निजी क्षेत्रको लगानीमा सञ्चालन रहेको नेपालको पहिलो दैनिक कान्तिपुर दैनिकले आफ्नो कार्यालय व्यवस्थापन चुस्तदुरुस्त बनाएको अध्ययन भ्रमनको क्रममा देखिएको हो । गत मंगलवार कान्तिपुर दैनिकको अध्ययन भ्रमण गरिएको थियो । भ्रमणका क्रममा कान्तिपुर मिडियाको समाचार कक्ष, सम्पादन कक्षका साथै आर्थिक, कला, खेलकुद, शिक्षा, प्रदेश र मिटिङ कक्षको छुट्टा छुट्टै व्यवस्था गरेको कान्तिपुर दैनिकका समाचार सम्पादक श्रीश भण्डारीले जानकारी दिए । उनले भने, पत्रिकामा प्रकाशन हुने सामग्रीलाई प्रभावकारी बनाउन कान्तिपुर दैनिकले हरेक दिन बिहान ११ बजे अघिल्लो दिनको पत्रिकाको समिक्षा र पछिल्लो दिनको एजेण्डा सेटिङको बारेमा छलफल गर्ने गरेको छ ।

खोज पत्रकारिताको अभ्यास
खोज पत्रकारिता केन्द्रले खोज पत्रकारिताको अभ्यास सुरु गरेको छ । विश्वमा खोज पत्रकारिताको विकास भैरहेको बेला नेपालमा पनि खोजी पत्रकारिताको अभ्यास गरिएको खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाँउलेले बताए । उनले भने, ‘मिडियासँगको सहकार्यमा खोज पत्रकारितालाई अगाडि बढाएका छौं । ’ खोज पत्रकारिता केन्द्रले प्रकाशनमा ल्याएका सामग्रीले राज्य र सरकारलाई जिम्मेवार बनाउन पहल गरेको सम्पादक गाउँलेले बताए । खोज पत्रकारिता गर्न पत्रकारहरुलाई समेत उत्प्रेरणा जगाउने काम गरेको सम्पादक गाउँलेले जनाए ।

ओझिलो हिमाल
नेपाली मिडियामा ओझिलो पत्रिकाको रुपमा हिमाल खबर पत्रिका प्रकाशनमा रहेको छ । म्यागजिन पत्रिकामार्फत खोज पत्रकारिताको सुरुवात गरेको हिमाल खबर पत्रिकाले आफ्नो प्रकाशनलाई ओझिलो बनाउन हरदम प्रयास गरेको सम्पादक किरण नेपालले बताए । हिमाल पत्रिकामा काम गर्ने पत्रकारले पत्रिकाको उचाई निर्धारण गरेको भन्दै पत्रकारहरुलाई धन्यवाद समेत दिएका छन् । २० वर्ष अगाडि बार्षिक प्रकाशनको रुपमा रहेको हिमाल खबर पत्रिका अहिले साप्ताहिक रुपमा प्रकाशन भएको छ । हिमाल खबर पत्रिकाले खोज रिर्पोटिङलाई प्राथमिकता दिएको जनाएको छ ।

अन्नपूर्ण अनुसन्धानमा
अन्नपूर्ण पोष्ट दैनिकले खोज पत्रकारितालाई प्राथमिकता दिएको जनाएको छ । पत्रिकाका प्रधान सम्पादक हरिबहादुर थापाले पत्रिकालाई ओझिलो बनाउन खोज पत्रकारितालाई प्राथमिकता दिएको जनाएका छन् । उनले भने, ‘अन्नपूर्णले खोजी पत्रकारिता गर्न पत्रकारहरुलाई उत्प्रेरणा गरेको छ ।’

प्रभावकारी तालिम
६ दिने खोज पत्रकारिता तालिम प्रभावकारी भएको छ । युएसएआईडीको आर्थिक सहयोगमा इक्वल एक्सेसले आयोजना गरेको साे ६ दिने तालिम प्रभावकारी रहेको सहभागीहरुले बताएका छन् । तालिममा खोज पत्रकारिताको तयारी, खोज समाचार: उत्पादन र सम्पादन, नेपाली मिडियामा खोज पत्रकारिताको सम्भावना र चुनौतिका साथै खोज पत्रकारिताको प्रभाव र फलोअपको बारेमा प्रशिक्षण गरिएको थियो ।

६ दिने खोज पत्रकारिताको अध्ययन भ्रमणमा कान्तिपुर दैनिक, नागरिक दैनिक, हिमाल खबर पत्रिका, अन्नपूर्ण पोष्ट दैनिक र खोज पत्रकारिकता केन्द्रको अध्ययन गरिएको इक्वल एक्सेसका सिनियर मिडिया म्यानेजर वेदप्रसाद ढकालले जानकारी दिएका छन् । उनले खोज पत्रकारिता अध्ययन तथा अवलोकन भ्रमण प्रभावकारी भएको बताए । 

खोज पत्रकारिता अध्ययन भ्रमणमा रुकुम (पश्चिम), रोल्पा, रामेछाप, सुर्खेत, सिल्धुली, रामेछाप, सिन्धुपाल्चोक, रसुवा लगायतका ११ जिल्लाका पत्रकारहरुकाे सहभागिता रहेको छ ।