सडकमा मनपरी डोजर : सुर्खेतको ‘अछामी डाँडो’ बस्ती पहिरोको जोखिममा


जगतदल जनाला विक

सुर्खेत,२७ असार । वीरेन्द्रनगर–११, ‘अछामी डाँडो’ बस्तीकी रूपा सुनार दुई वर्षयता वर्षायाममा राम्ररी सुत्न पाएकी छैनन्। कारण हो– पहिरोको त्रास।

पानी पर्यो कि घर पहिरोले लैजान्छ भन्ने चिन्ताले सताउँछ उनलाई। आकाश गड्याङगुडुङ भयो कि छिमेकी घरमा गएर बस्ने गरेको उनी बताउँछिन्।

दुई वर्षअघि सुब्बाकुना–धुलियाबिट सडक विस्तारका क्रममा जथाभावी डोजर चलाएपछि अहिले उनको घर पहिरोको जोखिममा छ।

‘दुई वर्षपहिले सडक विस्तार गर्दा बस्ती मुनिबाट डाउन गरेर सडक खनियो। त्यही कारण अहिले माटो खस्दै गएको छ,’ उनले भनिन्, ‘माटो खस्दै गएपछि घर पहिरोको जोखिममा परेको छ।’

दैनिक ज्याला मजदुरी गरेर परिवार खर्च चलाउँदै आएकी उनी पहिरोले घर भत्कियो भने सडकमा आउनुपर्ने स्थिति रहेको बताउँछिन्। उनले १० वर्षपहिले मजदुरी गरेरै घर बनाएकी हुन्।

सोही बस्तीकी मनसरा सुनारको पनि उस्तै पीडा छ। चार वर्षअघि २० लाख रूपैयाँ ऋण गरेरै बनाएको उनको घर पनि पहिरोको जोखिममा छ। मनसराले घर बनाउँदा लागेको ऋण अझै पनि तिर्न सकेकी छैनन्।

उनी भन्छिन्, ‘ऋण गरेरै बनाएको घर पनि भत्किएर जाने स्थितिमा छ, सम्पत्ति भनेकै यो घर हो। यही पनि भत्किए कहाँ जाने होलारु’

उनीहरू मात्र होइनन्, उक्त बस्तीमा ८० परिवारको घर र जग्गा पहिरोको जोखिममा छ।

अर्का स्थानीय चन्द्र विक सडकमा जथाभावी डोजर चलाउँदा बस्तीमा पहिरोको जोखिम बढेको बताउँछन्। ‘पहिला–पहिला ग्राहक जमिन खोज्न आउँथे। तर, बस्तीमा पहिरोको जोखिम बढेपछि व्यापारी जग्गा किन्न आउनै छाडेका छन्,’ उनले भने।

स्थानीय डल्लो विक जथाभावी रूपमा सडक फराकिलो बनाउँदा बस्ती जोखिममा परेको बताउँछन्। ‘बस्तीलाई ध्यानै नदिई सडक डेढ सय मिटर गहिरो र ५० मिटर फराकिलो बनाइएको छ, यसले पहिरोको जोखिम बढाएको हो,’ उनले भने।

उनले थपे, ‘सडक विस्तार गर्दा हामीले बस्ती नै धरापमा राखेर डोजर नचलाऔं भनेका थियौं। तर, तारजाली लगाइदिने भन्दै हामीलाई चुप लगाए,’ विकले भने, ‘अहिले हाम्रा घरबारी नै जोखिममा हुँदा पनि कसैले फर्किएर हेरेका छैनन्।’

बस्ती जोगाइदिन भन्दै यहाँका स्थानीय वडा कार्यालयदेखि नगरपालिकासम्म नगएका होइनन्। तर, त्यहाँबाट आश्वासनबाहेक अरु केही नपाएको स्थानीयको गुनासो छ।

यसरी बसेको थियो बस्ती

२०२८ सालमा अछामको जैगढबाट बस्ती सरेर २२ घरधुरी वीरेन्द्रनगरको साविक वडा नम्बर १३ स्थित अग्लो डाँडा भएको ठाउँमा आएर बसे। त्यति बेला कटानी गरेर बस्ती बसाएको ७४ वर्षीय झुप्री सुनारले बताइन्।

‘२०२८ सालमा रमाइलो डाँडा गाउँको जस्तै देखेर यहाँ बस्यौं,’ उनले भनिन्, ‘हामीहरू आएको केही वर्षपछि अछामका अरु मान्छे पनि आएर बसे।’

उक्त डाँडाभरी अछामका मानिस बसोबास गर्ने भएपछि स्थानीयले त्यो बस्तीलाई ‘अछामी डाँडा’ नामाकरण गरिदिएको उनी बताउँछिन्।
अहिले त्यो डाँडा र वरिपरि गरी तीन सयभन्दा बढी अछामबाट आएका दलित बस्ती छन्।
प्रदेश राजधानीभित्रको उक्त बस्तीका स्थानीय आफूहरूको रक्षाका लागि सरोकारवालासँग हारगुहार गरिरहेका छन्।