सामाजिक जवाफदेहिताको एक नमुना: खिजीदेम्बाका वडाध्यक्षको ६ महिनाको गतिविधी सार्वजनिक

ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाँउपालिकाका एकजना वडाध्यक्षले आफुले १८० दिन अर्थात छ महिनामा गरेको गतिविधी सार्वजनिक गरेका छन् । जिल्लाको खिजिदेम्बा गाँउपालिका वडा नं. ४ का वडाध्यक्ष कमल प्रसाद न्यौपानेले यसरी आफूले छ महिनामा गरेको गतिविधीहरु सार्वजनिक गर्नुभएको हो ।

न्यौपाने ओखलढुङ्गामा भएको स्थानीय तहको दोश्रो चरणको निवार्चन २०७४ मा निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । न्यौपानेले सार्वजनिक गरेका २९ वुँदे गतिविधीहरुमा वडाध्यक्षको हैसियतले बैठकमा सहभागी हुनेदेखी वडा कार्यालयमा ईमेल र ईन्टरनेटको पहुँच विस्तार गरेको कुराहरु समेत उल्लेख छन् ।

न्यौपानेले आफ्नै वडा कार्यालयमा गत शुक्रवार एक कार्यक्रमको आयोजना गरि गतिविधी सार्वजनिक गर्नुभएको हो । आफु पारदर्शी हुने र अरुलाई पनि पारदर्शी बनाउन अभिप्रेरित गर्ने उद्देश्ले गतिविधीलाई सार्वजनिक गरिएको न्यौपानेले बताउनुभयो । “अरुलाई के गर्‍यौ त भनेर सोध्नुभन्दा पहिला आफुले के गरेँ भनेर देखाउनु राम्रो हो ।” वडाध्यक्ष न्यौपाने भन्नुहुन्छ-“आफ्नो कुरा देखाएपछि अरुको कुराहरुलाई पनि खुलेर सोध्न सकिन्छ । त्यसैले जवाफदेही बन्ने र बनाउने अभ्यासको थालनी गरेको मात्रै हुँ ।”

पछिल्ला दिनहरुमा ओखलढुङ्गामा निर्वाचित भएका जनप्रतिनिधीहरु मध्ये युवा जनप्रतिनिधीहरुले आफ्नो काम कार्बाहीलाई समेटेर गतिबिधी सार्वजनिक गर्न थालेका छन् । यसभन्दा अगाडी सुनकोशी गाँउपालिका वडा नं. ९ का वडाध्यक्ष झनक कुमार कार्कीले पनि आफु निर्वाचित भएपछिको १३१ दिनको गतिविधीलाई सार्वजनिक गर्नुभएको थियो ।

पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत ओखलढुङ्गामा कार्यरत सोच नेपालका जिल्ला प्रतिनिधी शिब ढुङ्गानाले जिल्लामा जवाफदेहिताको नमूना पेश गर्ने जनप्रतिधिहरुलाई बधाई दिँदै यस कार्यका लागि निरन्तरता दिन अनुरोध गर्नुभएको छ । यसबाट जिल्लाका अन्य जनप्रतिनिधीहरुले पनि पाठ सिकेर गतिबिधी सार्वजनिक गर्ने विश्वास समेत उहाँले ब्यक्त गर्नुभएको छ ।

सामुदायिक संचारकर्मी विएन श्रेष्ठ, ओखलढुङ्गाबाट

Member Comment