सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध

May 20, 2020

विनोद सिंह विष्ट–बैतडी,७ जेठ

जिल्ला अस्पताल बैतडीले नेपालमा कोरोना भाइरसको संक्रमण बढीरहेकोले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । धेरै भिडभाड हुने क्षेत्रमा संक्रमणको जोखिम हुनसक्ने भन्दै अस्पतालले आउनुपरे सावधानी अपनाएर र सतर्क रहन अनुरोध गरेको हो ।

जिल्ला अस्पतालले  एक विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेको हो । जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुरपरिटेनडेन्ट डाक्टर बशन्तराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तीमा सबैखाले बिरामी आउने भएकोले अस्पतालमा जोखिम बढी रहेको र संक्रमण भइहाले पनि गाउँगाउँसम्म पनि फैलने भएकोले अत्यावश्यक बाहेक सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध गरिएको छ ।
इमरजेन्सी सेवा २४ सैं घण्टा र कोरोना क्लिनिक १० देखि ३ बजेसम्म उपलब्ध रहेको जानकारी गराउदैं अस्पताल आउनुपूर्व ०९५–५२००६५मा फोन गरेर आउन अनुरोध गरेको छ ।


कोभिड १९ संग मिल्दाजुल्दा लक्षण देखिएमा नजिकको स्वास्थ्यकर्मीलाई खबर गर्न आग्रह गरिएको छ ।सरकारले घोषणा गरेको लकडाउनको पूर्णपालना गरौं र सतर्क रहन र त्रसित नबन्न पनि अस्पतालले भनेको छ ।कोरोनाको संक्रमण फैलिहाले पनि कुनै औषधि नभएकोले आत्मबल बढाउन समेत जोड दिईएको छ ।