काभ्रेमा विकास निमार्णको काम अन्तिम चरणमा

Jul 14, 2020

काभ्रे जिल्लाका स्थानीय तहहरुमा अहिले चालु आर्थिक वर्षका विकास निर्माणको काम अन्तिम अन्तिम चरणमा पुगेको छ । कोरोना महामारीका कारण लक्ष्य अनुसार सबै स्थानीय तहले निर्धारण गरेका काम भने सक्ने अवस्था देखिदैँन ।

 

नमोबुद्ध नगरपालिका
जिल्लाको नमोबुद्ध नगरपालिकमा ८० प्रतिशत योजना सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७६÷७७ मा पुजिँगत तर्फ २ सय ५० वटा योजना बनाएको नगरपालिकाले ८० प्रतिशत काम सकाइसकेको प्रमुख प्रसाशकिय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिनुभयो । नगरपालिकाले ९५ प्रतिशत योजना सकाउने लक्ष्य लिएको छ । पूर्वाधारका योजनासँगै कृषि, शिक्षा र स्वास्थ्यका कार्यक्रम पनि उत्साहजनक रुपमा सम्पन्न भएको छ । लक्षित वर्ग तर्फकामहिला, बालबालिका र जेष्ठ नागरिकको कार्यक्रम पनि भएका छन् भने जनजाति तर्फका कार्यक्रम आधा मात्रै सकिएको छ । बाँकी रहेका काम आगामी आर्थिक बर्षमा पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रमुख प्रसाशकिय अधिकृत चापागाईले बताउनुभयो ।

 

बनेपा नगरपालिका
बनेपा नगरपालिकामा ५५ प्रतिशत मात्रै काम सकिएको छ । चालु आर्थिक बर्षको लागि ३ सय ५० वटा योजना मध्ये५५ प्रतिशत योजनाको भुक्तानीभइसकेको छ । योजना सम्झौता भने ९० प्रतिशत भएका छन् । कार्यन्वयनकै चरणमा रहेकाले निर्माण सम्पन्न हुने प्रतिशत बढ्ने प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले बताउनुभयो ।

 

मण्डनदेउपुर नगरपालिका
मण्डनदेउपुर नगरपालिकामा पनि चालु आर्थिक बर्ष २०७६÷७७ को योजनाको काम अन्तिम चरणमा पुगेको छ । नगपालिकामा ७५ प्रतिशत योजना सकिएको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिनुभयो । कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रका योजनाहरु प्राय सकिएका छन् । चालु आर्थिक वर्ष २०७६÷७७ मा नगरसभाले ३ सय ९० वटा योजनाका लागि ८२ करोड ७७ लाख ४० हजार ७ सय ४८ रुपैँयाको बजेट विनियोजन गरेको थियो । लक्षित वर्ग तर्फका अधिकांश कार्यक्रम भने गर्न नसकिएको प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताउनुभयो । ५० वटा योजनाको भने रकमान्तरण गरिएको छ ।

 

पनौती नगरपालिका
पनौती नगरपालिकाले ७५ प्रतिशत योजना सम्पन्न गरिसकेको छ । यसमा पुर्वाधारका कामहरु धेरै भएका छन् । चालु आर्थिक बर्षका लागि छुट्याइएको बजेट र योजना सतप्रतिशत सक्काउने योजना रहेको बरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारिले बताउनुभयो ।

 

धुलिखेल नगरपालिका
धुलिखेल नगरपालिकामा ७२ प्रतिशत योजनाको भुक्तानी भैसकेकोे छ । पालिकाले ८५ प्रतिशत योजना सम्पन्न गर्ने लक्ष्य लिएको थियो । लक्षित वर्गका कार्यक्रम भने सीमित मात्रमा भएको पालिकाका प्रशासकिय अधिकृत तारानाथ लुइटेलले बताउनुभयोे । उहाँका अनुसार पुर्वाधारको काम भने उत्साहजन रुपमा सम्पन्न भएका छन् ।


रोशी गाउँपालिका
रोशी गाउँपालिकामा चालु आर्थिक वर्ष २०७६÷७७ का लागि निर्धारण गरिएका मध्य८० प्रतिशत योजना सम्पन्न भइसकेका छन् । २० प्रतिशत योजना भने सम्पन्न हुने प्रक्रियामा नै रहेको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिनुभयो ।


बेथान्चोकको गाउँपालिका
बेथान्चोक गाउँपालिले चालु आर्थिक वर्ष २०७६÷७७को यो अवधिसम्म ७० प्रतिशत योजना सकिएको बताएको छ । पालिकाले ४ सय वटा योजना चालु आर्थिक बर्षको लागि बनाएको थियो । ९० प्रतिशत काम सक्किने अनुमान पालिकाले गरेको छ ।लक्षित बर्ग अन्र्तगतको सिप विकासका तालिम भने चालु आर्थिक बर्षमा नगरिने भएको छ । यी कार्यक्रमलाई आगामी आर्थिक बर्षमा निरन्तरता दिइने अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले जानकारी दिनुभयो ।

 

भुम्लुमा गाउँपालिका
काभ्रेको दुर्गम कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाले ९५ प्रतिशत योजनाको भुक्तानी भैसकेको बताएको छ । चालु आर्थिक बर्ष २०७६÷७७ मा अब ५ प्रतिशत मात्र योजना सम्पन्न हुन बाँकी रहेको उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।लक्षित बर्गको काम पनि आधा भन्दाबढी सक्किएको छ । यो वर्ष नसकिएका कतिपय योजनाले आगामी आर्थिक वर्ष पनि निरन्तरता पाउनेछन् । उपाध्यक्ष श्रेष्ठका अनुसार योजनाको अनुगमनको काम पनि निरन्तर भइरहेको छ ।

 

महाभारतमा गाउँपालिका
काभ्रेको महाभारत गाउँपालिकामा चालु आर्थिक बर्ष २०७६÷७७ को योजनाको काम अन्तिम चरणमा पुगेको छ । १ सय ४० वटा योजना बनाएको पालिकाले ८० प्रतिशत योजना सम्पन्न गरेको छ । यसमा सबै भन्दा धेरै खानेपानी तर्फका योजना छन् । कामहरु सम्पन्न हुने प्रक्रियामा रहेकाले ९५ प्रतिशत सम्म काम हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशेक विष्टले जानकारी दिनुभयो । पालिकामा लक्षित वर्गकालागि बनाइएको योजना भनेसम्पन्न हुन सकेका छैन ।

 

चौरीदेउराली गाउँपालिका
चोरीदेराली गाउँपालिकाले ६५ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक बर्षकालागि पालिकाले ३२ करोड रुपैँया विनियोज गरेको थियो । यो बजेटबाट पालिकामा खानेपानीको काम धेरै भएका छन् । ८० प्रतिशत योजना सक्काउने योजना बनाएको पालिकाले लक्षित वर्गको लागि बनाएको योजना पनि सबै सम्पन्न गरेको पालिकाका अध्यक्ष दिननाथ गौतमले बताउनुभयो ।

 

तेमाल गाउँपालिका
तेमाल गाउँपालिले चालु आर्थिक बर्ष २०७६÷७७ मा ९९ प्रतिशत योजना सम्पन्न गर्ने बताएको छ । चालु आर्थिक वर्ष २०७६÷७७ मा वडा स्तरका १४२ वटा योजना मध्ये ११९ वटा योजनासकिएको छ । बाँकीरहेको २१ वटा योजनाको काम पनि धमाधम भइरहेको छ । पालिका स्तरिय ५७ वटा योजना मध्ये ५ वटाको मात्र भुक्तानि हुन बाँकी रहेको पालिकाले जनाएको छ । चालु आर्थिक बर्षको लागि ४८ करोड ९९ लाख ४ हजार ६ सय ८८ रुपैँया बजेट विनियोजन गरिएको थियो । यो बजेटबाट सम्पन्न गरिएका योजनाहरु पूर्वाधारमा केन्द्रित रहेको पालिकाका प्रमुख प्रसाशकिय अधिकृतले लक्षमण कुइकेलले जानकारी दिनुभयो ।

 

खानिखोला गाउँपालिका
काभ्रेको खानिखोला गाउँपालिकामा चालु आर्थिक बर्ष २०७६÷७७ को योजनाको काम अन्तिम चरणमा पुगेको छ ।३ सयवटा योजना बनाएको पालिकाले ८५ प्रतिशत योजना सम्पन्न गरेको छ ।यसमा सबै भन्दा धेरै पुर्वाधार तर्फका योजना छन् । ३० प्रतिशत योजनाको भने भुक्तानी हुन बाँकी रहेको छ ।बहुबर्षिय योजनाको कामहरुलाई निरन्तरता दिइरहेको पालिकाले जनाएको छ । पालिकामा लक्षित वर्गकालागि बनाइएको योजना सबै सम्पन्न हुन सकेका छैन । बाँकी रहेका योजना आगामी आर्थिक बर्षमा निरन्तर सञ्चालन हुनेछ ।