त्रिवेणिमा मानव अधिकार सुदृढिकरण परियोजना सुरु

Nov 15, 2019

रुकुम पश्चिम २९, कार्तिक ।

संविधान प्रदत्त अधिकारको कार्यान्वयनका लागि स्थानीय सरकारलाई नीतिगत र संरचनागत रुपले सक्षम बनाउन सहयोग गर्ने उद्देश्यले रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकामा मानवअधिकार सुदृढीकरण परियोजना लागु गरिएको छ । युएसएआइडी र एफएचआई ३६० को सहयोगमा मानवअधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र (हरप्लेस) ले स्थानीय सरोकारवालाहरुलाई परियोजनाबारे जानकारी गराएर त्यसको सुरुवात गरेको हो ।

हरप्लेसका अध्यक्ष सुनिता बुढामगर र त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीमगरले विहीबार एक औपचारिक कार्यक्रमका बीच पत्र आदान प्रदान गरेर परियोजनाको शुभारम्भ गरिएको हो । करिब एकवर्षसम्म सञ्चालन हुने यस परियोजना मार्फत स्थानीय सरकार र नागरिक समाजको क्षमता विकास गरी मौलिक हक र मानवअधिकार कानुन कार्यान्वयनका लागि सहजिकरण गर्ने हरप्लेसले जनाएको छ । यस परियोजना कार्यान्वयन मार्फत गाउँपालिकालाई मानवअधिकारका दृष्टिले सक्षम बनाउन जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज लगायत सबै सरोकारवालाहरुको सहयोग आवश्यक रहेको हरप्लेस नेपालका अध्यक्ष सुनिता बुढामगरले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख इन्दिरा बुढामगरले परियोजना सफल बनाउनका लागि योजना महत्वपूर्ण भएको र हरप्लेसको योजना राम्रो रहेको प्रतिक्रिया दिनुभयो । यस परियोजनाबाट हिंसामा परेका महिला, बालबालिकाहरुले न्याय पाउने प्रक्रियामा सहयोग हुने र गाउँपालिकाको अवस्था समेत सुधार हुने आशा व्यक्त गर्नुभयो । त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीमगरले संविधानको मर्म अनुसार आफूहरुले नीति कानुन बनाएर कार्यान्वयन गरिरहेको र केही थप सुधार गर्नुपर्ने भएमा यस परियोजनाबाट सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो । गैरसरकारी संघ संस्थाहरु सरकारका सहयोगी भएकोले गाउँपालिकाका नीतिगत, संरचनागत र कार्यक्रमगत रुपले सुधार गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

परियोजनाको सहयोगी निकाय एफएचआई ३६० का मानवअधिकार सुदृढिकरण अधिकृत देचेन लामाले परियोजना अवधि सकिँदा त्रिवेणी गाउँपालिका मानवअधिकारमैत्री हुने अपेक्षा गर्नुभयो । परियोजनाको लक्ष्य हासिल गर्न गाउँपालिका र हरप्लेसको नियमित समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावलले मानवअधिकारको विषय जनताको अपेक्षासँग पनि जोडिएकोले सेवा लिँदा र दिँदा सबैको समन्वय आवश्यक हुने बताउनुभयो । अन्य सरोकारवालाहरुले पनि मानवअधिकारको सुदृढिकरणका लागि यो परियोजना महत्वपूर्ण भएकोले सफल बनाउन सहयोग गर्ने बताएका थिए ।

हरप्लेस नेपालका अध्यक्ष सुनिता बुढामगरको अध्यक्षता र जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख इन्दिरा बुढामगरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावल, इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसी, पत्रकार महासंघ रुकुमका सचिव हरि गौतम, अन्य जनप्रतिनिधिहरु, सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि लगायतका सरोकारवालाहरुको आतिथ्यता रहेको थियो । हरप्लेस नेपालका कार्यक्रम संयोजक सुरेन्द्र खत्रीको स्वागत मन्तव्य र कार्यक्रम अधिकृत महेश केसीको सञ्चालन रहेको कार्यक्रममा हरप्लेस नेपालका कार्यक्रम व्यवस्थापक टेकबहादुर रानाले परियोजना मार्फत सञ्चालन हुने क्रियाकलापहरुको बारेमा जानकारी गराउनुभएको थियो ।